टिप्पणीशुक्रबार, चैत्र २१, २०७०

लेखनकला र पाककला

केदार शर्मा

भान्सामा केही पाक्दैछ र मेरो ध्यान त्यसैले तानिरहेको छ। गुणी पाठकले पढ्न योग्य केही लेख्छु भनेका वेलामा खानेकुराबाट तानिनु ठीक हो त? मलाई यो बेठीक हो जस्तो लाग्दैन, किनभने पाककला सबभन्दा पुरानो र लोकप्रिय कला हो। आदिमानवलाई गुफाका भित्ताहरूमा कोर्ने वा नाचगान गर्ने जाँगर पनि पेट भरिएपछि नै चलेको हो भन्ने कुरामा विश्वास गर्ने व्यक्तिले भान्साबाट त ऊर्जा पाउँछ नि!

आगोमाथिको नियन्त्रण अर्थात् पकाउने कामको थालनी सभ्यताको प्रारम्भबिन्दु हो। काँचै खाइरहेका खानेकुरा आगोमा पकाउन थालेपछि स्वाद र मिठास थपियो। नयाँ नयाँ खानेकुरा चिन्ने र खोज्ने क्रममा पकाउने–बनाउने काममा पनि परिमार्जन आउन थाल्यो। त्यसमा विविधता, सीप, अनुकरण, आविष्कार, गौरव र पहिचानका कुरा थपिंदै गए। सभ्यताको विस्तारसँगै भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय र अन्य धेरै भेद उपभेदका परिकार र पाकप्रणाली (कुजिन) हरू विकसित भए।

भान्सा पाठशाला

अहिले संसारभरमा खानपानका अनेक परम्परा, संस्कृति र उद्योग–व्यापार छन्। सुखमा होस् वा दुःखमा, मान्छेको ध्याउन्न खानपानमै छ। संसारमा खाने–पिउने कुरा नै प्रतिदिन सबभन्दा ठूलो परिमाणमा उब्जिने, बनिने र किनबेच हुने कुरा भएका छन्। राम्रो सामग्री जुटाउने, त्यसलाई सरसफाइ गरेर अनि राम्रोसँग केलाएर, काटेर, पिसेर, मिसाएर पकाउने, भाँती पुर्‍याएर पस्किनु र स्वाद लिएर खानु पाककलाको मूल विशेषता हो।

खाँदा स्वादिलो होस्, खाएपछि शरीरलाई फाइदा गरोस्। तर जति ठूला कुरा गरे पनि खानेकुराको मूल आकर्षण भोकबाट मुक्ति र जिब्राको सन्तुष्टि हो। त्यसैले ज्यानलाई बेफाइदा गर्छ भन्ने जान्दाजान्दै पनि मान्छेहरू केही खानेकुराको लोभ त्याग्न सक्दैनन्; लुकेर–चोरेर भए पनि खाएरै छाड्छन्।

लेखन पनि ठ्याक्कै पाककला जस्तै हो। सिद्धान्ततः लेखकहरूले बडो मिहिनेत गरेर सामग्री जुटाउँछन्, त्यसलाई एकदमै राम्रोसँग केलाउँछन् र समय लगाएर पकाउँछन्। कुन माध्यमबाट प्रस्तुत गर्दा पारखीहरूकहाँ पुग्छ भन्नेबारे ध्यान दिन्छन् र अन्त्यमा सज्जाविद्हरूको समेत सहयोग लिएर पस्किन्छन्। पाठकले स्वाद मानेर पढ्छन्र मानसिक पोषण लिन्छन्। मान्छेको मनको र बुद्धिको भोक शान्त पार्ने लेखनका विधा/उपविधामा पनि खानेकुराका जत्तिकै विविधता छन्।

लेखनका परम्परा, इतिहास, विधि, प्रविधिहरू खानेकुराकै जस्तो फराकिलो छ। लेखनले सभ्यतालाई पाककलाले जस्तै, अझ् गहिरो गरी र लामो समयसम्म रहने गरी प्रतिबिम्बित र अभिलिखित गर्न सक्छ। एउटै फरक छ– मानव सभ्यताले लेखन विना दशौं हजार वर्ष वितायो, खानेकुरा विना दश घण्टा पनि विताउन सक्दैन।

तर के हामी लेखकहरू ‘भान्से’ हरूलाई यथोचित सम्मान दिन र उनीहरूबाट सिक्न राजी छौं? हामीलाई त नित्य नौलो परिकार मन पर्छ, पाठकलाई पनि नौलोपन दिने कोशिश गर्छौं? हामी हजारौं, लाखौं पाठकमा पुग्न चाहन्छौं, तर उनीहरूका लागि विशिष्ट सामग्रीको खोजी र सङ्कलनमा मिहिनेत गर्छौं? हामीलाई बाँच्नका लागि नभई नहुने खानेकुरा फलाउने, जुटाउने, केलाउने, पकाउने, बनाउनेहरू जति विनम्र र विनित छन्, हामी उनीहरूका तुलनामा कहाँ छौं? खानेकुरा बनाई–तुल्याई गर्नेले सानो हेलचेक्र्याइँ गरेर एउटा ढुङ्गो छाडिदियो भने हाम्रो ब्रह्माण्ड तातेर आउँछ, तर हामीले भाषा र वर्ण विन्यासलाई ढुङ्गा नलाग्ने गरी केलाउने गरेका छौं?

त्यसैले देवकोटाले ‘उद्यानमा बस गई सब तत्व खुल्छन्’ भने झै, म पनि लेखनबारे सरसल्लाह माग्नेहरूलाई भान्सामा गएर बस्नुहोस् र आमा वा श्रीमतीले पकाएको हेर्नुहोस् भन्न थालेको छु। सामग्री सङ्कलन, केलाउन–तुल्याउनमा गरिएको मिहिनेत, मरमसलाको प्रयोग, समयको व्यवस्थापन, भुटुन र पानीको सन्तुलन, आँच–रापको खेल, सहनशीलता, प्रत्येक पटक खानेकुरा पाकेपछि पहिलो पटक पकाए जस्तो विनम्रताबाट सिक्ने कोशिश गर्नुहोस्।

सल्लाह सजिलै दिन्छु, तर मैले चाहिं त्यस्तो गरेको छु त? छैन! त्यस हिसाबले यो आत्मस्वीकृति पनि हो। मेरो कमजोरीबाट जन्मेको आत्मस्वीकृति अरूलाई पनि काम लाग्न सक्छ। मलाई लाग्छ, आफूले सिक्दै गरेका वेला यस्तो सल्लाह पाएको भए म कि लेखनका क्षेत्रबाटै भाग्ने रहेछु कि त निकै राम्रो लेखक हुने रहेछु। समय छँदै भान्साबाट सिक्नेले धेरै राम्रो लेख्न सक्छन्, यति चाहिं निर्धक्क भन्न सक्ने भएको छु।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>