रमझमशनिबार, चैत्र २२, २०७०

फिल्ममा फर्किन व्यग्र छुः मनिषा कोइराला

हिमालखबर

हेल्थ म्याग्जीन लञ्चिङ कार्यक्रममा अभिनेत्री सोनाक्षी सिन्हासँगै मनिषा कोइराला । तस्वीर: एएफपी

‘सौदागर’ बाट बलिउडमा फिल्ममा प्रवेश गरेकी अभिनेत्री मनिषा कोइराला अचेल फुर्सदमा छिन् । ‘बम्बे,’ ‘खामोशी,’ ‘मन,’ ‘अकेले हम अकेले तुम,’ ‘१९४२ अ लभ स्टोरी’ ‘सौदागर’ ‘दिल से,’ ‘कम्पनी’ जस्ता हिट फिल्ममा अभिनय गरेकी मनिषासँग फिल्मका राम्रा प्रस्ताव छैनन् । योग, ध्यान, पेन्टिंग र स्वास्थ्य सचेतनाका काममा आफूलाई व्यस्त राखेको उनी बताउँछिन् ।

महिला स्वास्थ्यसम्बन्धी पत्रिकाकालागि मनिषाले मुम्बईमा २१ चैतमा फोटो खिचाइन् । पत्रिकाको लञ्चिङ कार्यक्रममा बलिउडको चमकदमकपूर्ण शृंगार र पहिरनमा आएका अन्य अभिनेत्री भन्दा फरक उनी बिना मेकअप,  खुकुलो कालो सेतो धर्के लुगामा देखा परिन् । किमो बाट थलिएको अनुहारमा पीडाका अवशेष र बढ्दो उमेर प्रष्टै देखिन्थ्यो ।

कार्यक्रममा उनले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै भनिन्, “म ठूलो पर्दामा फेरि देखिन व्यग्र छु, तर उपयुक्त भूमिका पाइरहेकी छैन ।” आफूलाई अभिनयका लागि प्रस्ताव आइरहेको भए पनि महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव नआएको उनले सहजै भनिन् । “दुई चार मिनेटका लागि कुनै फिल्ममा काम गर्न चाहन्न म,” उनको भनाई थियो ।

आफूलाई क्यान्सर भएपछि जीवनलाई वास्तविक रुपमा बुझेको बताउने मनिषाले अहिले जीवनको भरपूर आनन्द लिइरहेको बताइन् । कसरत, योग र पेन्टिंग गरेर दिन विताइरहेको भन्दै मनिषाले पुस्तक पनि लेखिरहेको खुलासा गरिन् ।

दुई वर्षअघि मनिषालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि अमेरिकामा उपचार गराएकी उनी अहिले पूर्ण स्वस्थ्य भइसकेकी छन् ।

क्यान्सरका कारण आफूले शरीरको स्याहार गर्न सिकेको, खानपानमा अनुशासित भएको तथा मन र शरीर दुवैको महत्व बुझेको उनले बताइन् ।

“म पहिले खानपिनमा अनुशासित थिइन तर, यो रोगले मलाई अनुशासित बनाउनुका साथै शरीर र मनको महत्व बुझाइदिएको छ,” कुनै बेला मदिरा र चुरोटको सौखिन भनिएकी मनिषाले भनिन् ।

आफू विरामी भएका बेला परीवार र साथीहरुको न्यानो स्नेह र हेरचाह पाएको बताउने मनिषाले बलिउड अभिनेत्री तब्बु, अभिनेताहरु गुलशन ग्रोबर, शत्रुघ्न सिन्हाले आफूलाई हौसला र स्नेहको दिएको बताइन् ।

उनी आफूलाई क्यान्सर रोगलाई जितेकी ‘हिरो’ भनाउन चाहन्नन् । तर क्यान्सरविरुद्ध जागरुकता विस्तारका लागि प्रयास भने गर्दैछन् ।

“मलाई मानिसहरु चिन्छन, त्यसैले पनि मनिसहरु स्वास्थ्यका प्रति सचेत होउन, जीवन शैली अनुशासित बनाउन र सुखी रहुन भन्ने मेरा चाहना हो, यसका लागि मैले सम्भावित सबै प्रयास गर्नेछु,” उपस्थित सञ्चारकर्मीहरुलाई उनले भनिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>