टिप्पणीआइतबार, चैत्र २३, २०७०

दिल्लीमा ओली

विष्णु रिजाल

यसै पनि मानिसहरूको बाक्लो उपस्थिति रहने दक्षिण दिल्लीस्थित इम्पायर अपार्टमेन्टमा १५ चैतदेखि यसको तेस्रो तलामा मानिसहरूको आवतजावत अझ् बाक्लिएको छ । त्यसैले गेटमा पुग्नासाथ रिसेप्सेनिस्टले सोध्ने गर्छन्, “तपाईं ३०२ नम्बर कोठामा जान खोज्नुभएको हो ?”

त्यहाँ अहिले नेपाली राजनीतिका एक निर्णायक नेता केपी ओली चिकित्सकसँग नियमित परामर्शका लागि पर्खिरहेका छन्, साकेतस्थित म्याक्स अस्पतालका चिकित्सक प्रा.डा. अनन्तकुमार र डा. दिनेश खुल्लरले उनलाई करीब दुई साता ‘फलोअप’ जाँचका लागि दिल्लीमै रहन गरेको लिखित अनुरोधलाई मान्दै ।

सात वर्षअघि दिल्लीकै अपोलो अस्पतालमा गरिएको मिर्गौला प्रत्यारोपणको अवस्था ठीकै रहे पनि त्यही कारण उनको शरीरको प्रतिरोधात्मक क्षमता घटेको र रुघाखोकी जस्तो सामान्य रोगसँग पनि मुकाविला गर्न गाह्रो परेको छ । सुन्निएको दायाँ हात घटेको छैन भने स्लाइन दिन ठाउँ–ठाउँमा सुई लगाउँदा बायाँ हात पनि बिरामी छ ।

ओलीका लागि अहिलेको सबभन्दा ठूलो चुनौती संक्रमणबाट बच्नु हो । त्यसका लागि चिकित्सकले सुत्ने–बस्ने अलग्गै कोठा बनाउन, भेटघाट कम गर्न, हात नमिलाउन, पर्याप्त मात्रामा आराम गर्न र समयमा औषधि खान सल्लाह दिएका छन् ।

१७ चैतमा आफ्नै ओपीडीमा शल्यक्रियाको पोशाकमा भेटिएका डा. अनन्तकुमारले यो पंक्तिकारलाई बताए अनुसार, उनले दैनिक हेर्ने मिर्गौलाका ३० बिरामीमध्ये ओलीलाई मात्र पटक–पटक आराम गर्न भनिरहनुपरेको छ । उनले भने, “नेपाल फर्केपछि आराम गर्नुहुन्न भनेर मैले उहाँलाई यतै बस्न भनेको हुँ ।”

१४ चैत साँझ् माधवकुमार नेपाल आफूलाई भेट्न आउने खबर ओलीले अघिल्लै दिन पाएका थिए । बिहानैदेखि आगन्तुक भेटिरहेका उनले भने, “आज माधव कमरेड पनि आउँदै हुनुहुन्छ ।” संसदीय दलको निर्वाचनपछि एकपटक ग्रान्डी अस्पतालमा बाहेक यी दुई नेताबीच छुट्टै भेट भएको थिएन ।

आसन्न महाधिवेशनका अध्यक्षका दुवै आकांक्षी बीचमा दुरी बढेकै थियो । इम्पायर अपार्टमेन्टमा आधा घन्टा कुराकानी गर्दा पनि उनीहरूबीच सरकार, संविधान निर्माण, कांग्रेससँग भएको सहमति, स्थानीय निर्वाचन, एमाओवादीको भूमिका, माओवादीको भविष्यदेखि सुशील कोइरालाको निर्णयहीन ‘निर्णय–क्षमता’ जस्ता विषयमा मात्र कुराकानी भए, आफ्नो पार्टी राजनीतिले प्रवेश पाएन ।

माधवकुमार नेपाल र केपी ओलीबीचको घनिष्टतालाई संसदीय दलको निर्वाचनको सेरोफेरोमा मात्र सीमित गरेर बुझदा अपूर्ण हुन्छ । ३ जेठ २०५० मा मदन भण्डारीको मृत्यु हुँदाको संकटदेखि २०६४ को निर्वाचनमा पराजित भएर पार्टीको भविष्यमाथि प्रश्न उब्जिंदा समेत यी दुई नेता मूलभूत रूपमा एकैठाउँमा उभिएका छन् ।

२०५४ मा कथित राष्ट्रवादको जलपमा पार्टी विभाजन हुँदा त्यसको सामना यी दुईले मिलेरै गरे भने २०६४ को निर्वाचनमा असफलता बेहोरेपछि कार्यकर्ताको मनोबल खस्किने गरी पार्टीका ठूला नेताहरूले एमाओवादीको पक्षपोषण गर्दा पार्टीलाई जोगाउन पनि दुवै नेता एकैठाउँ रहे ।

नेपाललाई २०५३ मा वामदेव गौतमले र ज्ञानेन्द्रले थुनामा राखेको वेला २०६१ मा झ्लनाथ खनालले महासचिवबाट हटाउन खोज्दा ओलीले मानेनन् भने २०६३ पछि स्थायी समितिमा अरूले नमान्दा नेपालले ओलीलाई उपप्रधानमन्त्री बनाए । त्यतिवेला जनआन्दोलनमा कम भूमिका निभाएको भन्दै पार्टी पंक्तिमा ओली आलोचित थिए ।

त्यही कारण नेपालले पार्टीभित्रका परम्परागत सहयोगीहरू अमृतकुमार बोहरा, भरतमोहन अधिकारी, ईश्वर पोखरेल, युवराज ज्ञवाली गुमाए, जसको फाइदा झ्लनाथ खनाललाई भयो । यी सबै पृष्ठभूमिमा यी दुई नेताबीच अन्तिम वेलामा समेत केही न केही ‘भद्र सहमति’ होला भनेर अपेक्षा गर्ने पंक्ति एमालेभित्र छ ।

ओलीलाई राखिएको ग्रान्डी अस्पतालमा आयोजित स्थायी समितिको बैठकमा नगएका नेपाल दिल्लीमा भेट्न जानुका केही कारण होलान् भन्ने अनुमान गर्नु अन्यथा हुँदैन । तर, विगतदेखि यिनीहरूबीच रहेको मित्रता र प्रतिस्पर्धाको राजनीतिलाई आकलन गर्ने हो भने चाहिं यसलाई त्यसको निरन्तरता मात्र मान्न सकिन्छ ।

२०५९ को सातौं महाधिवेशनका वेला ओली कमजोर अवस्थामा थिए र नेपाललाई अध्यक्ष बनाएर आफू महासचिव हुन चाहन्थे । त्यस अनुसार जिफन्ट भवनमा अध्यक्षात्मक प्रणालीमा जाने एकसरो सहमति पनि भएको थियो । तर, पछि नेपालका नाममा पार्टी सत्ताको प्रयोग गरिरहेको र ओलीलाई मन नपराउने तप्काले त्यो सहमति लागू हुन दिएन ।

उता, ओलीलाई पनि जनकपुरमा आफूले सोचे जस्तो हुँदैन भन्ने थाहा नै थियो । साँझ उनी जनकपुर जानुपर्ने थियो, जुन दिन नेपाल पनि जाँदैथिए । त्यतिवेला ओलीकै घरमा रहेका एक केन्द्रीय सदस्यलाई अहिले पनि सम्झ्ना छ– उनले आफ्ना सहयोगीलाई नेपालको उडान कति बजे र कुन विमानमा छ भनेर सोध्न लगाए ।

नेपालसँगै आफ्नो पनि उडान रहेको थाहा पाएपछि उनी त्यस विमानमा गएनन् । कारण के भने मदन भण्डारी र जीवराज आश्रितको अकल्पनीय दुर्घटनापछि यी दुई नेताले एउटै साधनमा नहिंड्ने÷नउड्ने भद्र सहमति गरेका रहेछन् । ओलीलाई उपप्रधानमन्त्री बनाउँदा नेपाल र नेपाललाई प्रधानमन्त्री बनाउँदा ओलीले गरेको सहयोगलाई यसै सन्दर्भमा बुझनु उपयुक्त हुन्छ ।

नेतालाई लडाएर फाइदा लिन चाहने बीचको समूह एमालेमा अहिले पनि सक्रिय छ । आठौं महाधिवेशनमा सहमति हुन नदिन जुन समूह लागेको थियो, अहिले पनि प्रमुख नेताबीच सहमति हुन नदिन त्यही समूह लागेको छ ।

मुखमा सहमतिको राम नाम जपेर गोजीमा नेता मिल्न नदिने छुरी बोक्ने त्यही समूहले एकातिर नेपाललाई एक्ल्याएर एउटा छेउमा पुग्न बाध्य पार्ने र अर्कातिर आफ्नो भविष्यको असुरक्षाका कारण सहमतिको रटान दोहोर्‍याइरहने रणनीति अख्तियार गरेको छ । ओलीको मायाले होइन, आफ्नो बेडा पार लगाउन उनको सहयोग चाहिएकाले त्यस समूहले उनलाई घेरेको छ ।

यताका कुरा उता, उताका कुरा यता गर्न खप्पिस त्यही समूहको अभिनयका कारण एमालेमा यी दुई नेताबीच दुरी बढेको छ भने सहमतिको सम्भावना न्यून हुँदै गएको छ । तर, जुन दिन यी दुई नेताले आफू मिल्दाको महत्व बुझछन्, त्यही दिन सबैभन्दा बढी कन्तविजोग यही विचौलिया समूहको हुनेछ ।

यता राष्ट्रिय राजनीतिमा ओलीको पद र भूमिका दुवै बढेको छ । तर, पार्टी अध्यक्ष झ्लनाथ खनाललाई हराएर संसदीय दलको नेता बनेयता स्वास्थ्यकै कारण उनले काम गर्न पाएका छैनन् । यतिसम्म कि संसदीय दलको बैठकको एक पटक पनि अध्यक्षता नगरी उनी अस्पताल भर्ना हुनुपर्‍यो ।

एक दिन अलि लामो र अर्को दिन छोटो गरी जम्मा दुई दिन संसद्मा आधा घन्टा बोल्नुबाहेक दलको नेताको हैसियतले ओलीले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न सकेका छैनन् । महाधिवेशन आउन दुई महीना मात्र बाँकी छ, जहाँबाट अध्यक्ष बन्ने उनको पुरानै धोको छ । यी सबै घटनाक्रमले पिरोले पनि चिकित्सकको सुझव बेवास्ता गर्न सक्ने अवस्थामा उनी छैनन् ।

साना–साना विषयमा पनि जानकारी राख्ने र त्यसलाई सप्रसंग भन्न सक्ने ओलीको ‘अर्काइभिङ’ मा यतिवेला सूचना कम छन् । तर पनि, उनलाई त्यसले त्यति फरक पारेको छैन । “चुनावका कारण धपेडी भयो, अब त्यस्तो हुँदैन”, आफूलाई भेट्न पुग्नेलाई उनी आश्वस्त पार्छन्, “अलि बढी सतर्क रहनुपर्ने भयो । तर, काम गर्न खास फरक पर्दैन ।”

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...