अर्थ/बजारआइतबार, चैत्र २३, २०७०
सुपारीको आयात दोब्बर बढ्यो
मुलुकको पूर्वी नाका काकडभिट्टा भएर तेस्रो मुलुकबाट हुने सुपारीको आयातमा दोब्बर वृद्धि भएको छ ।
तेस्रो मुलुकबाट सुपारी आयात गरी नेपालमा उत्पादित भन्दै भारतर्फ अवैध निकासी गरिने सुपारी प्रहरीले निरन्तर बरामद गरिरहेकाले पनि सुपारीको ठूलो आयात तस्करीकै लागि भएको पुष्टि हुन्छ ।
काकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार, गत आवमा सात हजार ९३१ मेट्रिक टनमात्र सुपारी आयात भएकामा चालु आर्थिक वर्षको ८ महिनामा रु एक अर्ब ४५ करोड मूल्य बराबरको १६ हजार ६१४ मेट्रिक टन सुपारी आयात भएको छ ।
चालु आवमा रु ६ करोड ५८ लाख मूल्य बराबरका सुपारी, विभिन्न प्रकारका सामान र गाडी भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि प्रहरीद्वारा दर्ता गरिएको छ ।
भन्सारले यस्ताखाले सामानको लिलामीबाट उठेको रकमको ३५ प्रतिशत रकम पुरस्कारस्वरूप सामान पक्रने र सुराकीलाई प्रदान गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा झापा भन्सार कार्यालयले सुपारीको आयातबाट रु ६८ करोड राजश्व प्राप्त गरेको कार्यालय प्रमुख मुक्ति पाण्डेले जानकारी दिए ।
काकडभिट्टामा ९८ प्रतिशतभन्दा बढी इन्डोनेसियाबाट र दुई प्रतिशतको हाराहारीमा थाइल्यान्डबाट सुपारी भित्रिने गरेको कार्यालय प्रमुख पाण्डेले बताए ।
झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश डालमिया भन्छन, “सरकारले सुपारी आयातको परिमाण निर्धारण गर्नुपर्ने र सुराकी र सामान पक्रनेलाई वितरण गर्ने कमिसन घटाउनुपर्ने देखिन्छ ।”
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार साउनदेखि हालसम्ममा तीन लाख ५० हजार किलो सुक्खा सुपारी भारततर्फ लाने क्रममा दसगजा क्षेत्रबाट बरामद गरिएको छ ।
“तेस्रो मुलुकबाट नेपालमा खपतका लागि भित्र्याइएको सुपारी सरकारले अन्य मुलुकमा निकासीका लागि प्रतिबन्ध गरेकाले त्यस्ता सुपारीलगायतका सामान नियन्त्रणमा लिइएको हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
