रमझमबुधबार, भाद्र १३, २०६९

मनको उज्यालोले संगीत

Rishiram Kattel

मोहनी लायौ की जन्तर गरेर, कपाल कोरेर
अन्त माया नलाउ साली मलाई छोडेर…

आफ्नै शब्द, संगीतमा गायक/संगीतकार मधुबाबु थापाले चन्द्रकला शाहसँग गाएको कुनै जमानाको चर्चित गीत हो, यो । यो गीतसँगै अरू थुपै्र गीत लोकप्रिय बने पनि आफ्नो जीवनलाई संगीतमै समर्पित गराएका दृष्टिविहीन संगीतकर्मी मधुबाबु थापा भने अझै पनि ओझेलमै छन् ।

दैवले उनलाई एउटा मानेमा ठगेका छन् । कतै हिंड्नु परेमा छामेर वा अरूको सहारा लिनुपर्ने बाध्यता छ । बाहिरी संसार उनका लगि अँध्यारो भए पनि भित्री संसार भने उनका लागि उज्यालो छ । आँखाले देख्न नसके पनि उनी सङ्गीतका शिल्पी हुन् । दृष्टिविहीन गायक/संगीतकार मधुबाबुले झण्डै अढाई दशक समय संगीतमै लगाए पनि सरकारले अपांग कलाकारप्रति बेवास्ता गरेकोमा भने उनको निकै चित्तदुखाइ छ । साढे चार सय गीतमा स्वर दिएका उनले त्योभन्दा केही कम संख्यामा संगीत भरेका छन् । “यो क्षेत्रमा यहाँ क्षमता भएर मात्र नहुने रहेछ । नातावाद र कृपावादले नराम्ररी जरा गाडेको छ । राम्रा प्रतिभाहरूको राज्यस्तरबाट समेत खोजी हुनसकेको छैन”, उनी तितो यथार्थ बताउँछन् ।

चौतारी दोहोरी, काठमाडौं दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरी, मायालु, पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योति लगायतका ३२ अल्बम बजारमा ल्याइसकेका छन्, उनले । २०४२ मा उनले पहिलो पटक बजारमा ल्याएको चौतारी अल्बम त त्यो समयमा सबैभन्दा बढी बिक्री भएको अल्बम थियो । भन्छन्, “रोयल्टी ३ मोहोर आउँथ्यो, एउटा चक्काबाट दुई लाख कमाएका थियौं गायिका चन्द्रकला शाह दिदी र मैले ।” आफ्नै संगीतमा भैगो हजुर माया जाल नबुन… बोलको गीत गाएर रत्न रेकर्डिङले २०३९ मा आयोजना गरेको लोकगीत प्रतियोगितामा पुरस्कृत बनेपछि सोही गीत रेडियो नेपालमा रेकर्ड गराएर यस क्षेत्रमा आएका थिए । “शुरूमा त हावा हावा तालमै गीत गाइन्थ्यो” उनले संगीतका आरम्भका दिन संझिए, “गायिका चन्द्रकला शाह दिदीसँगको भेटपछि उहाँले सिकेर अगाडि बढ्नुपर्छ भनेपछि संगीत प्रवीण नरराज ढकालसँग सिकेर यस क्षेत्रमा सक्रिय भएको हुँ ।” उनले नरराजसँग बिम्युजसम्मको अध्ययन गरे । बिम्युज गरेपछि गायन÷संगीत सिर्जना अनि संगीत संयोजनसम्मका काम गर्दै आएका छन् । भन्छन्, “मेरो जीवन सहारा भनेकै संगीत बन्यो ।” त्यसो त संगीत सिकाउँदै पनि आएका छन्, मधुबाबु ।

दुई वर्षकै उमेरमा दृष्टिविहीन बनेका राजपुर सौडियार दाङका थापाले त्यसपछि संसार कहिल्यै देखेनन् । दुई वर्षको उमरेमा पाकेको आँखा उपचार गर्न गाउँकै जान्ने भनिएकी महिलालाई लगाइयो तर उपचार हुनुको साटो झनै बाहिरी संसार उनका लागि सधैंका लागि अँध्यारो बन्यो । “ती महिलाले कुकुर झिङ्गाको नङ्ग्राले आँखामा जमेको रगत कोतरेर फाल्दा एउटा आँखा फुट्यो भने अर्को फुलो प¥यो अनि दृष्टिविहीन भइयो” उनले दुःखित मुद्रामा आफू दृष्टिविहीन बन्नुको कारण सुनाए, “त्यतिबेला अहिलेको जस्तो हस्पिटल भएको भए यस्तो हुने थिएन होला ।” २०५० देखि करारमा सुब्बासरह काम गर्दै आएका छन् उनी रेडियो नेपालमा । कहिले हार्माेनियम बजाउने त कहिले तानपुरा अनि रेडियोमा रेकर्डिङको बेला सहयोग गर्नुपर्छ उनले । १८ वर्षसम्म काम गरे पनि स्थायी भएका छैनन् उनी । “२०५७ सालमा त हटाइदिएका थिए तर अपाङ्ग कल्याण संघका साथीहरु तत्कालीन प्रधानमन्त्री गिरिजाकहाँ गएर भेटेपछि पहिलेकै ठाउँमा राखिएको छ” उनले भने, “तर पैसा चैं पहिला स्थायी सुब्बासरह पाइन्थ्यो भने पछि घटाएर अहिले त करारमा छु ।” “काठमाडौंमा खान पनि धौ–धौ छ, महँगी झन्झन् बढ्दो छ, घरमा श्रीमती छोराछोरीलाई पनि पैसा पठाउनुपर्छ” २८ वर्षदेखि सानेपाको शुभतारा स्कूल छेवैको सानो भाडा कोठामा बस्दै आएका उनले भने “चन्द्रकला दिदीको सहयोगबाट जीवन धान्दै आएको छु ।” अहिले पनि एउटा लट्ठीको भरमा आफू बस्ने सानेपाबाट रेडियो नेपाल एक्लै ओहोरदोहोर गर्ने गर्छन् । आफू जस्तो कलाकारलाई सरकारले केही राम्रो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् मधुबाबु । “म आँखा पनि देख्दिनँ, मैले अरू के नै गरेर खान सक्छु र !” उनले भने “कमसेकम मेरो जागिर स्थायी भैदिए बुढेसकालमा मेरो बिजोग हुने थिएन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>