व्यक्तित्वबुधबार, भाद्र १३, २०६९
‘जहाँ पुगे पनि जन्मेको गाउँठाउँको माया नमार्नू’
पहाड–मधेश, दुर्गम–सुगम जताततै गाउँदेखि राजधानीसम्म अवसर र करिअर खोज्दै धेरै नेपाली तन्नेरी विदेशिन आतुर छन् । अमेरिका, अष्ट्रेलिया वा अरू कुनै समृद्ध देशमा पढ्न गएकाहरू गाउँ–ठाउँ फर्किएको समाचार कमै सुनिन्छन्, फर्केकाहरू पनि फेरि खुट्टा उचालेर बसेका देखिन्छन् । तर, २४ वर्षीय टासी बिष्ट आफ्नो माटोसँग पराया हुने फेसनमा बग्न चाहेनन् । आठ वर्षको उमेरदेखि राजधानीमा पढे, हुर्के अनि चार वर्षअघि मात्रै जन्मथलोकै न्यानोको खोजीमा उपल्लो मुस्ताङ फर्किए ।
मुस्ताङी राजखलकसँग टाढाको साइनो जोडिएका नामगेल गाउँका टासीले १४ वर्षको राजधानी बसाइँमा आधुनिक शहरी जीवनको स्वाद चाखिसकेका थिए । अङ्ग्रेजी गीत सुन्न, पप मन पराउन र मोबाइल–वेबबाट संसार चियाउन थालिसकेका उनमा ललितपुरको साइन स्टार बोर्डिङ स्कूलबाट एसएलसी र क्याम्पियन कलेजबाट १२ कक्षा सकेपछि देहरादुनमा वन तथा वातावरण विज्ञान पढेर संसार जित्न निस्कने विचार पनि आएको थियो । ठमेलको एउटा होटल र कल सेण्टर अनि बौद्धको महाकरुणा साकेपा विद्यालयमा काम गर्दा धेरै साथीले अमेरिका उड्न हौस्याएपछि भिसाका लागि अमेरिकी दूतावासको ढोकामा पुगे, र ‘रिजेक्ट’ भए । यही रनाहामा टासीको कदम केही गर्ने अठोटका साथ मुस्ताङतिर सोझ्यिो ।
अमेरिका जाने राहदानी बनाउन यसअघि मुस्ताङ पुग्दा ‘कहिल्यै फर्केर आउन नपरोस्’ भन्ने लागेको थियो, अब त अन्तरात्मादेखि नै कुनै पढैया अडिन छाडेको आफ्नो क्षेत्रमा तिनको खाँचो देख्न र केही गर्नुपर्ने ठान्न थालेका छन् । उपल्लो मुस्ताङका गाउँले उनको राजधानीको रमझ्म र विदेशको सपनालाई नै बिर्साइदिए !
सदरमुकाम जोमसोमबाट चार दिनको बाटो उपल्लो मुस्ताङमा सन् १९९१ देखि पर्यटनका लागि खुल्ला भएका सात गाविस सुकसाङ, घमी, चटाङ, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको बेग्लै संसार छ । ६ हजार मानिस बस्ने यी गाविसका ३१ गाउँमा वर्षमा दुई हजार पर्यटक पुग्छन् । दुई वर्षअघिसम्म उपल्लो मुस्ताङ जाने प्रत्येक पर्यटकबाट दैनिक ७० अमेरिकी डलरको दरले १० दिनको ७०० अमेरिकी डलर उठाउँदै आएको सरकारले अहिले ५० को दरले ५०० डलर उठाइरहेको छ । सरकारले यो रकमको ६० प्रतिशत स्थानीय विकासमा खर्च गर्ने भनिए पनि बितेका २० वर्षमा केही भएन । टासीलाई यही कुरो बिझएको छ ।
गाउँका सरकारी विद्यालयमा शिक्षक, कक्षाकोठा र शैक्षिक सामग्रीको अभाव छ । स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी र औषधि छैनन् । बिरामीहरू हिउँदमा एकपटक आउने स्वास्थ्य शिविर कुर्छन् । खोला–नाला सुक्दैछन् । खानेपानीको अभावले छोसेराको सामजुङ भन्ने गाउँ नै सार्नुपर्ने भएको छ । बाली–बिरुवालाई सिंचाई छैन । पशुपालन र फलफूल खेती हुने उपल्लो मुस्ताङमा फल्ने गहँु, फापर, आलु, सिमी, केराउले वर्षभरि खान पुग्दैन; चीनको सीमावर्ती बजार र सदरमुकाम जोमसोमबाट बेसाउनुपर्छ । टासीलाई बिझएका थप समस्या हुन् यी ।
हिउँ पर्ने ६ महिनामा आधाभन्दा बढी बासिन्दा जोमसोम, पोखरा, बाग्लुङ, काठमाडौंतिर झ्र्ने र कामका लागि भारत जाने उपल्लो मुस्ताङमा लगातार दुई हिउँद बिताएका टासी भने समस्याहरूको चाङमा समाधानको बाटो खोजिरहेका छन् । उनी भन्छन्, “अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) को वार्षिक रु.८० लाखदेखि १ करोडको कार्यक्रमले ठूलो सहयोग पुरयाए पनि समस्या अनगिन्ती छन् । २० वर्षसम्म सरकारले रोकेको उपल्लो मुस्ताङको पर्यटक कर उपलब्ध भए धेरै काम गर्न सकिन्छ ।” सातै गाविसका अगुवा भेला गरेर विकासको योजना बनाउन थालेका टासीको तन्नेरी काँधमा सन् २००६ सम्म युएनडीपीको सहयोगमा सामुदायिक, लैङ्गिक, ऊर्जा विकास र प्राकृतिक स्रोत संरक्षणको काम गर्दै आएको सामुदायिक स्रोत परिचालन उप–समितिको प्रबन्धकको जिम्मेवारी आएको छ ।
चैत २०६६ अन्तिम साता उपल्लो मुस्ताङको दुःख बिसाउन सिंहदरबार आएका टासीसहित गाउँको टोलीले तीन वटा माग राखेको छ— सन् १९९१ यता पर्यटकले बुझएको करको ६० प्रतिशत रकम निकासा गर्ने, लोमान्थाङ उत्तरका अन्तिम दुई गाउँ छोसेर र छेन्हुप पर्यटनका लागि खुला गर्ने र उपल्लो मुस्ताङमा पर्यटकलाई १५ दिनको एकमुष्ट भिसा व्यवस्था गर्ने । टासी भन्छन्, “सबै सरकारी निकायबाट सकारात्मक जवाफ पाए पनि तुरुन्तै केही होला भन्ने आश छैन, तर हामी पनि गल्नेवाला छैनौं ।” त्यसबेला उनी ढि, मराङ र ताङवेका किसानका लागि गहुँ चुट्ने थ्रेसर मेसिन चितवनको एक उत्पादकलाई तयार गर्न लगाएर फर्केका थिए । अब फेरि कहिले हिमाल नाघेर राजधानी आउनुपर्ने हो, थाहा छैन । उनले भने, “चाँडै नै आउनुपर्ला, किनभने मुस्ताङबाट काठमाडौंले लिएको फाइदाको हिस्सा फर्काउन त बाँकी नै छ ।”
लामो समयपछि राजधानी आएका टासीलाई यहाँको भीडभाड र कोलाहलभन्दा उपल्लो मुस्ताङ नै रमाइलो लाग्न थालिसकेको रहेछ । मुस्ताङमै बसेर पनि उनी इन्टरनेट, मोबाइल र ल्यापटपबाट बाँकी संसारसँग जोडिएकै छन् । उनको पहलबारे थाहा पाएर जिल्ल परेका साथीहरूको फेसबुक र इमेल सन्देश गाउँमै बसी–बसी पढ्छन् । ती सबैलाई उनको एउटै सन्देश हुन्छ— जहाँ पुगे पनि जन्मेको गाउँठाउँको माया नमार्नू ।
-डम्बरकृष्ण श्रेष्ठ