खेलकुदमंगलबार, चैत्र २५, २०७०
गोलकिपर थापालाई अपार्टमेन्ट
राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबलमा लामो समयदेखि योगदान गरेको भन्दै एन्फाले राष्ट्रिय टोलीका गोलकिपर रितेश थापालाई हात्तीवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा २४ चैतमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले थापालाई एन्फाका तर्फबाट अपार्टमेन्टको डमी प्रदान गरे ।
यसअघि २०६८ सालमा राकेश श्रेष्ठ र ०६९ सालमा सागर थापाले अपार्टमेन्ट पाएका थिए ।
सन् २००३ मा ओमान बिरुद्धको खेलमा डेब्यू गरेका थापाले थ्री स्टार, ग्यालेक्सी लगायतका क्लबबाट पmुटबल खेलिसकेका छन् भने राष्ट्रिय टिमबाट १५ क्याप जितिसकेका छन् ।
हाल नेपाल पुलिस क्लबका समेत गोलकिपर रहेका थापाले लामो समयदेखिको समर्पण र निरन्तरताले गर्दा नै पुरस्कार पाएको र खुशी लागेको बताए । उनले भने, “अब नेपालमा पनि फुटबल खेलेर बाच्न सकिन्छ भन्ने लागेको छ ।”
खेलकुदको कार्यक्रम भएपनि एमाओवादी अध्यक्ष दाहाल, खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राखेप सदस्य सचिव सचिव युवराज लामा र एन्फा अध्यक्ष गणेश थापाबीच राजनीतिक घोचपेच चलेको थियो ।
दीपेन्द्र सापकोटा, काठमाण्डौं