Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मार्क्सवाद र नेपालका कम्युनिष्ट - Himalkhabar.com

टिप्पणीबुधबार, चैत्र २६, २०७०

मार्क्सवाद र नेपालका कम्युनिष्ट

रघु पन्त

मार्क्स अत्यन्त सिर्जनशील, रचनात्मक र बौद्धिक क्षमता प्रचुर भएका दार्शनिक र सिद्धान्तकार थिए। उनको विश्लेषणात्मक क्षमता र दार्शनिकता निकै गहिरो थियो। तर उनको ज्ञान र अध्ययनको स्रोत पश्चिमी दार्शनिक परम्परा, युरोपेली समाज, त्यहाँको अर्थ–राजनीति र इतिहास थियो।

पूर्वीय सभ्यता, संस्कृति, इतिहास र भारत, चीन, जापान, कोरिया, थाइल्याण्ड, म्यानमार जस्ता लामो इतिहास, सभ्यता र संस्कृति भएका देशबारे र एशियाको दार्शनिक चिन्तन एवं विविधताको स्रोतसम्म मार्क्सको पहुँच पुगेको भए मार्क्सवाद अझ् बढी समृद्ध र शक्तिशाली हुनेथियो।

तथापि मार्क्सका विचार नपुगेको ठाउँ संसारमा कहीं छैन। आज पनि मार्क्सवाद बौद्धिक जमातसँगै आम मानिसलाई प्रभावित पार्ने सिद्धान्त हो। मार्क्सका विचारबारे हजारौं पुस्तक संसारका विभिन्न भाषामा निस्कन्छन्।

सन् १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित भएको थियो। रूसमा सन् १९१७ को अक्टुबर क्रान्ति हुनुअघि नै मार्क्स र एंगेल्सले लेखेको यो घोषणापत्र युरोपका ३५ भाषामा छापिइसकेको थियो।

भनिन्छ, ‘बाइबल र कुरान बाहेक संसारमा सबैभन्दा बढी छापिएको पुस्तक कम्युनिष्ट घोषणापत्र नै हो।’ मार्क्सका अरू रचना पनि संसारमा अत्यधिक बढी छापिएका सैद्धान्तिक–राजनीतिक कृतिमा पर्छन्। उनका विचारहरूको समीक्षा, आलोचना वा समर्थनमा वर्षैपिच्छे संसारभर हजारौं कृति प्रकाशित हुन्छन्।

यति बढी छापिने, पढिने र चर्चा–परिचर्चा हुने दार्शनिक, सिद्धान्तकार र विचारकका विचारबाट प्रभावित भएर राजनीतिमा करोडौं मानिस लाग्नु स्वाभाविकै हो। आज पनि मार्क्सका विचारहरूको व्याख्या आ–आफ्नो देश, काल र परिस्थिति अनुसार गर्ने प्रयत्न संसारका विभिन्न ठाउँमा भइरहेको छ।

नेपालमा कम्युनिष्ट
नेपालमा कम्युनिष्ट आन्दोलन बलियो छ। नेपालमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले गठबन्धन सरकारको दोस्रो हिस्सेदार छ भने दोस्रो ठूलो कम्युनिष्ट पार्टी एनेकपा माओवादी प्रमुख प्रतिपक्षी छ तथा तेस्रो ठूलो कम्युनिष्ट पार्टी नेकपा–माओवादी संसद्मा गएर केही हुँदैन भन्दै चुनाव बहिष्कार गरेर सके फेरि हतियार बोक्ने नसके ‘जनयुद्धको नाममा जनविद्रोह गर्ने’ भनिरहेको छ।

तर, यिनीहरू सबै आफ्नो सैद्धान्तिक/वैचारिक आधार मार्क्सवादलाई नै मान्छन्। यिनीहरू मात्र होइन, संसद्भित्र वा बाहिर रहेका अन्य दश–बाह्र कम्युनिष्ट पार्टी पनि मार्क्सवादलाई नै आफ्नो सिद्धान्त मान्छन्। तर सबैको मार्क्सवादको व्याख्या र बुझाइ भिन्नै छ।

मरेको मान्छे ब्यूँतिएर नआए पनि मृत्युबाट बिउँझेर नेपालका कम्युनिष्टहरूसँग सैद्धान्तिक छलफल गर्न र तिनको चालामाला हेर्न मार्क्स नेपाल आइपुगे के हुन्थ्यो होला?

यहाँका पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, अन्य कतिपय वामपन्थी नेताको मार्क्सवाद र क्रान्ति सम्बन्धी व्याख्या सुन्न नसकेर मार्क्स धरहराबाट हामफालेर आत्महत्या गर्ने मनस्थितिमा पुग्थे या सत्ता र सरकारमा बसेर अवैध सम्पत्ति आर्जन गरी मोजमस्तीको जीवन बिताइरहेका कम्युनिष्ट नेताहरूको चालामाला देखेर लाज मान्दै भागेर लन्डनको आफ्नै सालिकमुनि रहेको चिहानमा लुक्न पुग्थे।

नेपालमा मार्क्सवाद अत्यन्त लोकप्रिय भए पनि त्यसको गलत व्याख्या भइरहेको छ। तर आज कम्युनिष्ट पार्टीहरूमा त्यस्ता नेताहरू प्रभावशाली बन्दै गइरहेका छन् जो धनशाली र बलशाली छन्। सिद्धान्त, विचार, नीति र पारदर्शी तथा नैतिक जीवन मूल्यको माग गर्ने नेता–कार्यकर्तालाई पार्टीमा कमजोर बनाउने र विचारको बहसलाई गुटबन्दीको शिकार बनाउने प्रयत्नहरू भइरहेका छन्।

सत्ता प्रयोगको विकृति
राज्य सत्तामा पुगेर त्यसलाई अग्रगामी परिवर्तनको माध्यम बनाउने इच्छाशक्तिको अभाव आजका कम्युनिष्ट पार्टीका नेताहरूमा आम रूपमा देखा परेको छ। राज्यसत्तालाई सम्पत्ति, शक्ति र शान आर्जन गर्ने छोटो छरितो बाटोको रूपमा प्रयोग गर्न पार्टीको सत्ता कब्जा गर्ने प्रवृत्ति कम्युनिष्ट दलहरूमा टड्कारो रूपमा देखा पर्न थालेको छ।

पार्टीभित्रै असैद्धान्तिक गठबन्धन गर्ने, सत्तास्वार्थका लागि रातारात विचार परिवर्तन गर्ने, आफूसँग असहमतहरू जतिसुकै योग्य भए पनि देखिनसहने, स्वार्थ पूरा गर्न दबाबमूलक गुटहरू बनाउने र गुटको स्वार्थमा पार्टीलाई प्रयोग गर्न खोज्ने प्रवृत्ति नेपालमा रोगकै रूपमा देखा पर्दैछ।

वामपन्थी दलहरू परिवर्तनको लागि भन्दा सत्ताको लागि बढी चिन्तित हुन थाले भने तिनीहरू राज्यसत्तालाई जनताको पक्षमा रूपान्तरण गर्ने शक्ति नभएर अरूलाई दबाएर राख्ने प्रभुत्वशाली वर्गको सहयोगीमा रूपान्तरित हुन्छन्।

यस्तो प्रक्रियामा वामपन्थी दलहरूभित्रकै कतिपय नेता कार्यकर्ताको चरित्र परिवर्तन भएर सत्ताका स्वार्थी खेलाडीमा रूपान्तरित हुन्छन् र पार्टीले आफ्नो परिवर्तनकारी र जनपक्षधर चरित्र गुमाउँदै जान्छ। यस्ताहरूको लागि मार्क्सवाद माला जपाइको माध्यम मात्र बन्छ, रूपान्तरणको सिद्धान्त बन्दैन।

आज संसारमा कम्युनिष्ट आन्दोलन आ–आफ्नो देश, काल र परिस्थिति अनुसार आफ्नै दृष्टिकोणमा आधारित भएर अघि बढ्न खोज्दैछ। आफ्नै आन्दोलनलाई नयाँ ढंगले पुनर्गठित र लोकतान्त्रिक बनाउने प्रयत्न गर्दैछ। मार्क्सवादको अध्ययन, बुझाइ र विश्लेषणलाई पनि नयाँ आयाम दिने प्रवृत्ति र प्रयत्नहरू विश्वव्यापी रूपमा भइरहेको छ।
मार्क्सवाद एउटा लोकतान्त्रिक, मानवीय र श्रमजीवी पक्षीय सिद्धान्त हो।

यो अलोकतान्त्रिक र अमानवीय थिएन र छैन तथा हुन पनि सक्दैन। जुन विचारले शोषण विरुद्ध आम मानिसलाई विद्रोह गर्न प्रेरित गर्छ, संगठित र मुक्त हुन प्रेरित गर्छ त्यो विचार आफैंमा अमानवीय हुन सक्दैन। त्यसैले मार्क्सवादको नाममा भएका अधिनायकवादी र हिंसात्मक दोषहरूको जिम्मेवारी मार्क्सवादको थाप्लोमा थोपर्न खोज्नुहुँदैन।

दर्शनको काम संसारको व्याख्या गर्नु मात्र होइन, संसारलाई फेर्नु पनि हो भन्ने मान्यता स्थापित गर्ने मार्क्सले दर्शन र अर्थ–राजनीतिलाई केही मुट्ठीभर बुद्धिजीवीहरूको बौद्धिक घेराबाट आम श्रमजीवी जनताको बीचमा पुर्या ए र छोटो समयभित्रै यो मान्यता विश्वव्यापी बन्यो।

आज नेपालमा मार्क्सवादलाई स्वीकार गर्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्छु भन्ने दलहरू किन मिल्न सकिरहेका छैनन्? किन मार्क्सवादको व्याख्या आ–आफ्नो ढंगले गर्छन्? यी प्रश्नहरूको उत्तर सहज छैन र एकै खालको जवाफ पनि पाइँदैन।

मार्क्सको अध्ययन र विश्लेषण विधिलाई राम्ररी अध्ययन गर्ने हो, त्यसलाई ठीक ढंगले ठम्याउने र व्यवहारमा इमानदार भएर कार्यान्वयन गर्ने हो भने निष्कर्षमा पुग्न नसकिने पनि होइन। तर यसका लागि नेपालका अहिलेका वामपन्थी पार्टीका नेताहरू सम्भवतः तयार छैनन्। किनभने नेताहरूको आ–आफ्नै महत्वाकांक्षा र सत्ताभोगका सपना छन्।

नेपालको कम्युनिष्ट आन्दोलनका लाखौं कार्यकर्ताहरूले आज आ–आफ्नै पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था र आवश्यकता छ। नेताहरूका महत्वाकांक्षा पूरा गर्ने साधन र माध्यम बन्न उनीहरूले आफ्नो जीवन आन्दोलन र पार्टीमा लगाएका होइनन्।

उनीहरूले समाजको अग्रगामी परिवर्तन र आम जनताको समृद्ध जीवनका लागि आफ्नो जीवन कम्युनिष्ट आन्दोलनमा अर्पेका हुन्। देशको स्वाधीनता र स्वाभिमानका लागि, मुलुकको आत्मसम्मान उँचो बनाउनका लागि, समग्र मानव समाजको अग्रगतिका लागि कम्युनिष्ट आन्दोलनमा लागेका हुन्।

यी लक्ष्यहरू प्राप्त गर्ने साधन, माध्यम र संगठनका रूपमा कम्युनिष्ट पार्टी चाहिएको हो। त्यसैले आज अरूसँग पारदर्शिताको माग गर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सबैभन्दा पहिले आफैंले पारदर्शी र इमानदार जीवन जिउन सक्नुपर्छ र आफ्ना नेताहरूसँग पनि यस्तो माग गर्नुपर्छ।

विभिन्न कम्युनिष्ट पार्टीका केही नेताहरू समृद्ध हुँदै जाने तर पार्टी र कार्यकर्ताचाहिं गरीब हुँदै जाने, गरीब जनता झ्न् गरीब हुँदै जाने स्थिति स्वीकार्न सकिंदैन। आदर्श जीवनका सामान्य कुरा पनि आफूले पालना गर्न नसक्ने नेताले अरूलाई आदर्शका पाठ पढाउन खोज्नु अशिष्ट ठट्यौली गर्न खोज्नु हो।

मार्क्सवाद जीवनसँग जोडिंदैन भने त्यसलाई मान्नु र नमान्नुमा खासै भिन्नता हुँदैन। त्यसैले मार्क्सवादको अध्ययन गराइ, बुझाइ र प्रयोग गराइ जीवनका लागि हुनुपर्छ। आफ्नो ‘शक्तिशाली दलको नेता हुने’ महत्वाकांक्षा पूरा गर्न विद्रोह, हिंसा, त्रास र दबाब प्रयोग गर्नेहरू हुन् या सम्पन्नताको लागि सत्ताको दुरुपयोग गर्नेहरू हुन्– दुवैथरी मार्क्सवादी होइनन्।

मार्क्सवादको अध्ययन र प्रयोग आज नेपालमा रचनात्मक र सिर्जनात्मक रूपले गर्न लोकतन्त्र, अहिंसा, नैतिकता र इमानदारिताप्रतिको प्रतिबद्धता आवश्यक छ। हिंसा आफैंमा कुनै सिद्धान्त, अनिवार्य आवश्यकता र मार्क्सवादको अङ्ग होइन। तर लोकतन्त्र, इमानदारिता र जनताप्रतिको प्रतिबद्धता भने मार्क्सवाद र मार्क्सवादीका लागि आजको युगमा अनिवार्य तत्व हुन्।
साप्ताहिक खबरपत्रिका हिमालखबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>