अर्थ/बजारबुधबार, चैत्र २६, २०७०

महासंघको अस्वस्थ राजनीति

हिमालखबर

– रमेश कुमार

उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग वाणिज्य महासंघको २९ चैतमा हुने ४८औं साधारणसभामा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र अर्का उपाध्यक्ष प्रदीपजंग पाण्डेले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्। आगामी तीन वर्षका लागि हुने कार्यसमितिका लागि उनीहरूले प्यानल सहित घोषणा गरेका छन्।

प्रदीपजंग पाण्डेको समूह।

राजकर्णिकार समूहबाट वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका, उपाध्यक्षहरूमा शेखर गोल्छा (एसोसिएट), उदयराज पाण्डे (वस्तुगत) र डीबी बस्नेत (जिल्लानगर) उम्मेदवार छन् भने पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणा, उपाध्यक्षहरूमा बीके श्रेष्ठ (एसोसिएट), दिनेश श्रेष्ठ (वस्तुगत) र किशोरकुमार प्रधान (जिल्लानगर)। दुवै पक्षले सदस्य पदका उम्मेदवार पनि घोषणा गरिसकेका छन्।

निजी क्षेत्रको समस्या समाधान, आर्थिक वृद्धिमा योगदान, रोजगार वृद्धि, समृद्धि विस्तार लगायतका अजेन्डा दुवै पक्षले अघिसारेका छन्। पाण्डेले व्यावसायिक एकतामा जोड दिंदै आर्थिक रूपान्तरण र समृद्धिलाई प्राथमिकतामा राखेका छन् भने राजकर्णिकारले न्यूनतम आर्थिक अजेन्डामा दलहरूको विश्वास जितेर अर्थतन्त्रलाई महासंघ मार्फत गति दिने बताएका छन्।

स्वार्थ हावी
दृश्यमा महासंघको निर्वाचनमा दुई पक्षबीच प्रतिस्पर्धा देखिए पनि यसमा निजी स्वार्थ र अस्वस्थ प्रतिस्पर्धा बढी देखिन्छ। राजनीतिक दलहरूको ‘भोट राजनीति’ लाई आलोचना गर्ने निजी क्षेत्रको निर्वाचनमा त्यस्तै दृश्य देखिनु अनौठो हो। महासंघ अध्यक्षको निर्वाचनमा ५० प्रतिशत भार जिल्लानगरको हुने भएकाले राजनीति हावी भएको केहीको भनाइ छ।

महासंघका उपाध्यक्ष पदका एक उम्मेदवार यस्तै हुने हो भने केही वर्षमा महासंघ राजनीतिक दलको भ्रातृ संस्था बन्ने आशंका गर्छन्। उनका अनुसार एसोसिएट र वस्तुगततर्फका मतदाता पनि राजनीतिक रूपमा बाँडिन थालेका छन्। जिल्लानगरका ९२ मतदातामध्ये अहिले कांग्रेसका ४८ र एमालेका २८ रहेको खुलेको छ।

महासंघका जिल्लास्तरीय निर्णय र निर्वाचनमा अञ्चल प्रतिनिधि छनोट गर्दा राजनीतिक आधारमा हुने गरेको महाधिवेशनमा छानिएका एक प्रतिनिधिले बताए। अघिल्लो चुनावमा विजयी सुरज वैद्यले एमालेको साथ पाएका थिए भने आजाद श्रेष्ठले कांग्रेसको। यसपालि पनि राजकर्णिकार समूहलाई एमाले र पाण्डे समूहलाई कांग्रेसको अघोषित समर्थन छ।

दुवै पक्षले राजनीतिक आशीर्वादलाई महत्व नदिने बताए पनि उनीहरूका निम्ति त्यो आवश्यक देखिन्छ। महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ पनि महासंघ निर्वाचनमा राजनीतिक स्वार्थलाई बेवास्ता गर्न नमिल्ने अवस्था आएको स्वीकार्छन्। उद्योगी व्यवसायीको निर्वाचनमा व्यावसायिक मुद्दा प्रधान हुनुपर्नेमा राजनीतिक स्वार्थ हावी हुनु गलत भएको उनको भनाइ छ।

महासंघ निर्वाचनमा पैसाको अस्वस्थ खेल पनि स्वीकार्य बनेको देखिंदैछ। जिल्लानगरका प्रतिनिधिहरूले मतका लागि खुलेआम रकम माग्ने गरेको उम्मेदवारहरू बताउँछन्। निर्वाचनको अन्तिम समयमा मतको किनबेच हुने गरेको बताउँदै महासंघको राजनीतिलाई नजिकबाट हेरेका एक व्यवसायी भन्छन्, “जिल्लानगरको भोट तान्न रकम अचूक अस्त्र बन्ने गरेको छ।” त्यो रकम जुटाउन उम्मेदवारहरूले झ्न्डै रु.५ करोडको फन्ड बनाउने गरेको पनि उनको भनाइ छ।

भाष्करराज राजकर्णिकारको समूह।

समीकरण महत्वपूर्ण
पहिले जस्तै अहिले पनि चौधरी, ज्योति, गोल्छा, खेतान जस्ता ठूला घरानाकै समर्थन महासंघको निर्वाचनमा महत्वपूर्ण मानिन्छ। महासंघबाट छुट्टिएर नेपाल उद्योग परिसंघ स्थापना गरेका विनोद चौधरी तथा महासंघमा सक्रिय नदेखिएका राजेन्द्र खेतान दुवैले आफू अनुकूलका व्यवसायीको जितका लागि पहल गर्छन्। यो पटक गोल्छा समूहका सदस्य शेखर गोल्छा एसोसिएटबाट उपाध्यक्ष र ज्योति समूहका सौरभ ज्योति सदस्य उठेकाले उनीहरूको समर्थन राजकर्णिकार समूहलाई हुनेछ।

नेवार र मारवाडी व्यवसायीहरूको सामुदायिक प्रभाव भने यो निर्वाचनमा कति हावी हुन्छ भन्न निर्वाचन परिणाम पर्खनुपर्नेछ। नेवार समुदायका राजकर्णिकारले उपाध्यक्षमा मारवाडी समुदायका पशुपति मुरारका र एसोसिएट सदस्यमा शेखर गोल्छा उठाएका छन् भने पाण्डे प्यानलले पनि केडिया अर्गनाइजेसनका अनिल केडिया र अशोक तोदीलाई सदस्यमा उठाएको छ।

यो निर्वाचनमा पूर्व अध्यक्षहरू कुशकुमार जोशी, चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, महेशलाल प्रधान पाण्डेको पक्षमा छन्। राजकर्णिकारको पक्षमा चाहिं वर्तमान अध्यक्ष सुरज वैद्य र पूर्व अध्यक्ष आनन्दराज मुल्मी खुलेका छन्, पदम ज्योतिको समर्थन पनि उनैलाई छ। पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ भने एउटा प्यानललाई जिताउन भन्दा क्षमता भएका र राम्राहरू छानिनुपर्ने पक्षमा रहेको बताउँछन्।

अघिल्लो पटक राजकर्णिकार उपाध्यक्ष रहेको सुरज वैद्य पक्षलाई समर्थन गरेका पूर्व अध्यक्ष चण्डीराज ढकाल यो पटक विपक्षमा छन्। महासंघमा दोस्रो कार्यकालका लागि कुशकुमार जोशीसँग हारेका ढकाल अहिले जोशीले समर्थन गरेका पाण्डेको समर्थनमा छन्।

यो साधारणसभाले जिल्लानगरतर्फबाट २८ (अञ्चल प्रतिनिधि १४ समेत), वस्तुगतमा १२, एसोसिएटमा १६, द्विराष्ट्रिय चेम्बर अफ कमर्सबाट एक, एक वरिष्ठ सहित चार उपाध्यक्ष सहित ६२ जनाको कार्यसमिति पनि निर्वाचित गर्नेछ।

निवर्तमान अध्यक्ष पनि रहने कार्यसमितिले वरिष्ठ उपाध्यक्ष छान्नेछ। उपत्यकाबाट उम्मेदवारी घोषणा गरेका राजकर्णिकारको वाग्मती र नारायणीमा राम्रो पकड छ भने मध्यपश्चिम र पूर्वमा पाण्डेको राम्रो रहेको बताइन्छ। महासंघ निर्वाचनमा ९२ सदस्य रहेको जिल्लानगर समूहको भार ५० प्रतिशत छ।

९१ सदस्य रहेको वस्तुगतको उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। गार्मेन्ट एसोसिएसनका उदयराज पाण्डेको एक्सपोजर र यसअघिको चुनावमा अन्य सबै विपक्षी पदाधिकारीले जिते पनि वस्तुगतको प्रतिनिधित्व गर्दै उपाध्यक्ष जितेका पाण्डे समूहका दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा तीव्र हुने देखिन्छ। महासंघ निर्वाचनमा वस्तुगत समूहको भार २० प्रतिशत छ।

एसोसिएट्सतर्फ भने राजकर्णिकार प्यानलका उम्मेदवार शेखर गोल्छा अगाडि छन्। एसोसिएट्सका ६०७ सदस्यमध्ये मारवाडी समुदायका २०० रहेको र लोकप्रिय युवा भएकाले उनी अघि देखिएका हुन्। एसोसिएट्सको भार ३० प्रतिशत छ।

जिल्लानगरतर्फ पनि राजकर्णिकार प्यानलबाट उठेका डीबी बस्नेत बलियो देखिन्छन्। जिल्लानगरमा भवानी राणा बलियो भए पनि एसोसिएट र वस्तुगतमा बलियो पकड भएका कारण वरिष्ठ उपाध्यक्षमा मुरारका अगाडि छन्।

नयाँ नेतृत्वको उदय
अध्यक्षका दुवै प्रत्यासी ‘एक्सपोजर’ र नेतृत्व क्षमताका आधारमा वजनदार नरहेको टिप्पणी व्यवसायीहरूको छ। राजकर्णिकारलाई ‘व्यापार उद्योग नभएका व्यवसायी नेता’ भनिन्छ भने पाण्डेलाई नेतृत्व क्षमता नभएको र गुटलाई प्रश्रय दिने मानिन्छ। विपक्षी प्यानलका वैद्य अध्यक्ष बनेपछि असहयोग गरेको र पद अनुसार प्रस्तुति दिन नसकेको पाण्डेमाथि आरोप छ। यद्यपि, उपाध्यक्ष र सदस्यका आकांक्षीहरूले महासंघमा नयाँ नेतृत्वको उदयलाई संकेत गरेको छ।

वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका र भवानी राणा जो विजयी भए पनि उनीहरू दुवै अर्को कार्यकालका लागि अध्यक्षका प्रत्यासी बन्ने देखिन्छ। इमानदार र काममा खट्न सक्ने र सहमतिमा काम गर्ने क्षमताका मुरारका र महिला व्यवसायी राणा दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। राणा उपाध्यक्षमा निर्वाचित भइन् भने उनलाई अर्को कार्यकालमा पहिलो महिला अध्यक्ष बन्ने बाटो खुल्नेछ।

लामो द्वन्द्व र संक्रमणकालको व्यवस्थापनपछि देश आर्थिक समृद्धितिर लम्किन लागेका वेला निजी क्षेत्रको ठूलो संस्थाको नेतृत्वको जिम्मेवारी पनि ठूलो छ। तर, महासंघको निर्वाचनमा भइरहेको अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएको महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ बताउँछन्। यसो हुनुमा उम्मेदवारभन्दा उनीहरूको पछाडि रहेको स्वार्थ समूहको खेल जिम्मेवार रहेको उनको भनाइ छ।

महासंघले त्यस्तै स्वार्थका कारण गम्भीर विषयमा अडान लिन र निजी क्षेत्रको गरिमा राख्न चुकेको देखिन्छ। नक्कली भ्याट बिल प्रकरण र राजस्व चुहावटमा व्यापारीको पक्षमा बोल्नु, कार्टेलिङ र सिन्डिकेट विरुद्ध प्रभावकारी निर्णय गर्न नसक्नु, सरकारलाई मात्रै दोष दिएर आफ्नो भूमिका अनुसार काम नगर्नु महासंघमाथि लाग्ने आरोप हुन्। ती आरोपलाई चिर्न सक्दा मात्र महासंघप्रति मुलुकको भरोसा सही सावित हुन सक्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>