रिपोर्टबिहीबार, चैत्र २७, २०७०

आगलागी– पछुताउ मात्र

हिमालखबर

– आनन्द पी राई

१५ चैतमा काठमाडौं महानगरपालिका–१४ स्थित ज्ञानमणि नेपालको घरमा आगलागी भयो। शनिबार बिहान आठ बजे सडक खुल्ला भएकोले १०१ नम्बरमा सूचना पाएको १५ मिनेटमा जुद्ध वारुणयन्त्रको टोली घटनास्थलमा पुगेर डेढ घन्टामा आगो नियन्त्रण गरी घर र छरछिमेक जोगाए पनि इतिहासकार नेपालसँग रहेका अभिलेख खरानी भए।

१५ चैत २०७० मा जलेको इतिहासकार ज्ञानमणि नेपालको घर ।

आगलागीमा थुप्रै अप्राप्य पुस्तक, कागजात, अभिलेख र वर्षौंमा तयार भएका महत्वपूर्ण पाण्डुलिपि जले। प्रेसमा पठाएको एउटा पाण्डुलिपि र माथिल्लो तलाका दराजमा रहेका केही किताब बाहेक सबै जलेको नेपाल बताउँछन्।

“जंगबहादुरदेखि चन्द्रशमशेरसम्मका राणा शासकले विदेशीहरूलाई दिएको अन्तर्वार्ताको ठेली, पुराना सन्धि–सम्झौता, रामायणको हस्तलिखित भौतिक काण्ड लगायतका जीवनभरका अप्राप्य संकलन र पाण्डुलिपि गए”, नेपालले भने।

आगलागीबाट करीब रु.२३ लाख बराबरको भौतिक सम्पत्तिको क्षति भएको अनुमान छ, तर बौद्धिक सम्पत्तिको कुनै हिसाब छैन।

लामो समय राष्ट्रिय अभिलेखालय, परराष्ट्र मन्त्रालय, जैसी कोठा, कौसी तोसाखाना, माल अड्डा, गुठी संस्थान आदि ठाउँमा रहेका सय वर्षअघिका कागजपत्र अध्ययन गरेर तयार पारेका पाण्डुलिपिमध्ये त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशिया अध्ययन केन्द्र (सिनास) लाई दिएको नौ वटा बाहेक अरू जलेको इतिहासकार नेपालले बताए।

त्यो दिउँसो नुवाकोटको ककनीमा रहेका अर्का इतिहासकार दिनेशराज पन्तले ज्ञानमणि गुरुको घरमा आगलागी भएको सुनेपछि आफ्नै घर, राष्ट्रिय अभिलेखालय, गुठी संस्थान, राष्ट्रिय पुस्तकालय आदि अनेक सम्पदा केन्द्र र अग्नि विपत्बारे गरिने लापरबाही सम्झेर आफू आत्तिएको बताए।

पन्तको भनाइमा, ज्ञानमणि गुरुले घरको भुईंतलामा भारतीय नागरिक महादिप घोषलाई डेन्ड्राइट नामको रासायनजन्य पदार्थको गोदाम राख्न दिएर त्यहाँ के–के गरिन्छ भनी ख्याल नगर्ने लापरबाही गरेका थिए।

स–साना लाग्ने यस्तै लापरबाहीबाट आगलागीको विनाश अवश्यंभावी हुने गरेको छ। त्यहाँ आगो लागेपछि हतपती ननिभ्ने डेन्ड्राइटको मात्रा यति धेरै थियो कि वेलैमा दमकल नआइपुगेको भए त्यसले पूरै टोल सखाप पार्न सक्थ्यो।

आगोमा सम्पदा

इतिहासकार पन्त आगलागीमा परेर त्यस्तो बौद्धिक सम्पदा खरानी भइरहेको बताउँछन्, जसको सदुपयोगबाट राष्ट्र आल्हादित हुनसक्थ्यो। हुन पनि, नेपालमा बौद्धिक सम्पदाको जतन र पुनः प्रकाशनमा सीमित व्यक्ति मात्र लागेको देखिन्छ।

सम्पदाको विनाश भने १९०६ सालदेखि नै शुरू भएको स्वयम् इतिहासकार नेपाल बताउँछन्। त्यो वेला बंगालबाट आएका आक्रमणकारी समसुद्दिनले काठमाडौंमा धार्मिक तथा बौद्धिक स्थलहरूमा आगजनी गर्दा प्राचीन नेपालको अध्ययन सामग्रीहरू ध्वस्त भएको थियो।

त्यसयता स्वयम् नेपालको घरको घटनासम्म आइपुग्दा राष्ट्रिय सम्पदा स्वाहा भएका अनेकौं अग्नि काण्डहरू पछुताउ मात्र गर्न सकिने विषय बनेका छन्। यसबीचमा व्यक्तिको घर जल्दा ऐतिहासिक कागजातहरू नासिएको कैयौं घटना विस्मृतिको गर्तमा गइसकेका छन्।

वि.सं. १९७७ मा भोजपुरको ऐतिहासिक टक्सार (किरात भाषामा खिकामाछा) बजार नै जल्दा पछुताउमा लेखिएको सवाई पुस्तकालयहरूमा अझै पाइन्छ। त्यसपछि २०३० असारमा सिंहदरबार र २०६२ माघमा भएको पाल्पा दरबार आगजनीलाई बौद्धिक सम्पत्ति नासिएको ठूला घटना मानिन्छ।

पाल्पामा माओवादीहरूले आगो लगाएका थिए भने सिंहदरबार आगलागीको कारण खुलेको छैन। “सकिएका त सकिइगए”, राष्ट्रको यस्तो बौद्धिक क्षति रोक्न सरकारसँगै व्यक्तिहरू अग्रसर हुनुपर्ने बताउने इतिहासकार पन्त भन्छन्, “बाँकी रहेकालाई धमाधम पुनः प्रकाशन गर्ने र आधुनिक सुरक्षा विधिभित्र ल्याउने काम थालिनुपर्छ।”

२०६२ माघमा माओवादीले जलाएको पाल्पा दरबार ।

जोखिममाथि जोखिम
अहिले काठमाडौं महानगरपालिका मातहत रहेको जुद्ध वारुणयन्त्रका प्रमुख किशोरकुमार भट्टराई जिल्लामा फागुन–चैत–वैशाखमा बढी आगलागी भए पनि राजधानी उपत्यकामा के हिउँद के वर्षा, आगलागी भइरहने बताउँछन् (हे.बक्स)। उनका अनुसार, उपत्यकामा वर्षमा आगलागीका साना–ठूला ४५० घटना हुन्छन्। “यो सब प्राकृतिक विपत् नभई लापरबाहीका परिणाम हुन्”, भट्टराई भन्छन्।

उपत्यकामा १५ चैतमा एकै दिन चार ठाउँमा आगो लागेको थियो भने १७ चैतको बिहान सप्तरीको बिसहरिया र तिलाठी गाविसमा १०० भन्दा बढी घर जले। त्यही साँझ् रौतहटको कनकपुर–५ मा २० वटा घर खरानी भए।

आगो निभाउने क्रममा आधा दर्जन मानिस घाइते भए। शहरमा बिजुली र ग्याँस आगलागीको मुख्य कारण हुन्छ भने गाउँघरमा आगोप्रति गरिने लापरबाही पीडाको कारण बन्छ। कतिपय आगलागीमा जिल्ला सदरमुकामबाट दमकल आइपुग्दा गाउँ खरानी भइसकेको हुन्छ।

पर्याप्त दमकल, तालिमप्राप्त जनशक्ति र पानी समेत नभएको काठमाडौं उपत्यकामा बढेको अग्नि विपत्को जोखिम वर्षेनि थपिंदो घर र ग्याँस सिलिण्डरको संख्याले देखाउँछ। करीब एक दर्जन दमकल र ४७ जना अग्नि नियन्त्रक रहेको उपत्यकामा वार्षिक सरदर ४५०० घर थपिइरहेका छन्।

गत १० वर्षमा काठमाडौं महानगरपालिकाभित्र मात्र वार्षिक सरदर ४१२५ घर थपिएका छन्। उपत्यकामा कलकारखाना, ठूल्ठूला मल र व्यावसायिक तथा आवासीय भवन पनि धमाधम थपिंदैछन्। नेपालभर प्रयोग भइरहेको करीब ४० लाख ग्याँस सिलिन्डरमध्ये अधिकांश काठमाडौंमा नै खपत हुन्छ। ग्याँस सिलिन्डरको खपत दर वार्षिक १६ प्रतिशत रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे बताउँछन्।
________________________________________
‘सगर थाम्ने हुट्टिट्याउँ जस्तो दमकल’
५० लाख जनसंख्या पुगेको काठमाडौं उपत्यकामा पानीको हाहाकार कस्तो छ भने कुलेश्वरको आगो निभाउने दमकलले पानी भर्न जोरपाटी पुग्नुपर्छ। राजधानीको सडक जाम पनि सर्वविदितै छ। जोखिमको कुरा गर्ने हो भने घनावस्तीका बीचबीचमा पेट्रोल पम्पहरू खोलिएका छन्।

ती पम्पहरू कुनै पनि वेला कुनै पनि खालको लापरबाहीले आमविनाशकारी बम झै विस्फोट हुनसक्छन्। २५/३० हजारसम्म दर्शक भेला हुने दशरथ रंगशाला वरिपरि चार वटा पेट्रोलपम्प छन्। यसले निम्त्याउन सक्ने विपत्तिको कल्पना मात्र गर्न सकिन्छ।

अग्नि सुरक्षाको व्यवस्था चाहिं कस्तो छ भने, भएका १६ वटा दमकलमध्ये केही मर्मत नभएर थन्किएका छन्। विपत्मा दमकल संचालन गर्ने बाहेक अरू अधिकार नभएकोले मर्मत त के डिजल–मोबिलको लागि समेत धाउनुपर्छ।

उपत्यकाका तीन वटै दमकल कार्यालयमा अग्नि नियन्त्रक, चालक र क्लिनर गरी कुल ४७ कर्मचारी छन्। तीमध्ये १५ जना करारमा छन् भने २० जना ४५ वर्ष माथिका छन्। सबैले आधारभूत तालिम पनि पाएका छैनन्। उपत्यकाको दमकल आकाश थाम्ने हुट्टिट्याउँ जस्तो भएको छ। र पनि, यसले उच्च मनोबलका साथ मानवीय काम गरिरहेको छ।

स्रोतसाधन सम्पन्न भनिने जुद्ध वारुण यन्त्रसँग ६ वटा दमकल, १६ जना अग्नि नियन्त्रक, चार चालक र चार जना क्लिनर छन्। एउटा दमकल नौ फिट चौडा सडकमा चल्ने छ। अरूलाई कम्तीमा १२ फिटको सडक चाहिन्छ।

ललितपुरमा ६ वटा दमकल, चार अग्नि नियन्त्रक, तीन क्लिनर र दुई जना चालक छन, तर दुई वटा मात्र दमकल चालु अवस्थामा छन्। यसैगरी, भक्तपुर दमकलमा आठ अग्नि नियन्त्रक, दुई क्लिनर र चार जना चालक छन्। पाँच दमकल भए पनि एउटा मात्र चालु अवस्थामा छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>