ब्लगबिहीबार, चैत्र २७, २०७०

उदाहरणीय आईजी– डीबी लामा

anantram bhattarai

लामो समय मातहतमा रहँदा डीबी लामाको क्षमता, व्यक्तित्व र योगदान देख्ने र महसूस गर्ने मौका पाएँ।

१२ चैत २०७० मा प्रहरी प्रधान कार्यालय सञ्चार शाखाबाट मेरो मोबाइलमा आएको सञ्चार यस्तो थियो– “दुःखद् खबर! पूर्व प्रहरी महानिरीक्षक डीबी लामाज्यूको असामयिक निधन भयो, पार्थिव शरीर निजी निवास धापासीमा राखिएको छ, अन्त्येष्टिको जानकारी पछि गरिनेछ।” यो खबरले मलाई ज्यादै दुःखी बनायो।

नेपाल प्रहरीमा म प्रवेश गरेपछि डीबी लामासँगको सम्बन्ध, उहाँको मातहतमा रहँदाका घटना र उहाँको क्षमता, सिर्जनशीलता र ऊर्जाशील व्यक्तित्व लगायत विभिन्न कुरा मेरो मनमा आए। त्यसपछि तत्कालै उहाँको निवास धापासी, बसुन्धरा गएर पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी परिवारजनप्रति सहानुभूति प्रकट गरें।

मातहतको अवसर

म प्रहरी निरीक्षकमा प्रवेश गर्दा उहाँ प्रहरी उपरीक्षक हुनुहुन्थ्यो। त्यही वेलादेखि चिनजान भए पनि उहाँ मध्यक्षेत्रको प्रहरी नायव महानिरीक्षक भई राजधानी आएपछि मात्र मातहत रही काम गर्ने अवसर पाएँ।

२०४३ तिर कालीमाटीडोल (हाल त्रिभुवन विमानस्थल प्रवेश गर्ने सिनामंगलस्थित मुख्यद्वार) मा एक सामान्य घरका बाबु, आमा तथा नाबालक छोरीको धारिलो हतियारबाट निर्मम हत्या भयो। त्यो संवेदनशील र बीभत्स अपराधको अनुसन्धान गर्नु अत्यावश्यक र चुनौतीपूर्ण थियो।

उहाँको नेतृत्वमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाबाट म खटिएको थिएँ। संदिग्ध अपराधीसँगको केरकार र सोधपुछमा शारीरिक बल प्रयोग, यातना वा दबाब दिंदा निरपराध व्यक्ति फस्ने र अपराधी उम्कने उहाँ हामीलाई सम्झाइरहनुहुन्थ्यो।

अनुसन्धानमा आवश्यक साधन जुटाउन आफैं लाग्ने, अनुसन्धानको प्रक्रिया र प्रगतिको निरन्तर अनुगमन गर्ने, प्राप्त प्रमाण वा संदिग्ध अभियुक्तको भनाइलाई अन्य प्रमाणद्वारा प्रमाणीकरण गर्न जोड दिने उहाँ व्यावसायिक र सक्षम प्रहरी अधिकृत भएको छाप मलाई परेको थियो।

प्रहरी सेवाप्रतिको उत्तरदायित्व र जिम्मेवारी, प्रचलित ऐन कानूनको पालना र कर्तव्यप्रति इमानदारिता लामाबाट सिक्नुपर्ने अर्को गुण थियो। २०३४ तिर मेरा भाइ मनमोहन भट्टराई तत्कालीन पञ्चायत व्यवस्था विरोधी नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी राजनीतिमा संलग्न थिए।

त्रिभुवन विश्वविद्यालय सिनेटमा उम्मेदवारी दिनुअघि लैनचौरको भेलामा बोलेको विषय र त्यहाँ बाँडिएको पर्चाको आधारमा उनलाई राजकाज अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरियो। तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन। त्यसपछि डीबी लामाले मलाई बोलाउनुभयो र आफ्नो पिताजी (पूर्व सांसद् स्व. ललितमान घले) लाई आफूले पक्राउ गरेको सुनाउँदै भाइलाई अञ्चलाधीशकहाँ उपस्थित गराउन भन्नुभयो।

राजकाज मुद्दामा जेल चलान गर्दा भाइको स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा बिग्रने कुरा मैले राखेपछि उहाँले तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठकोमा मलाई लगेर ‘परीक्षा दिन नरोक्ने शर्तमा अनन्तले मनमोहनलाई उपस्थित गराइदिन्छन्’ भन्नुभयो। त्यसपछि मैले त्यही साँझ् मनमोहनलाई अञ्चलाधीश कार्यालयमा उपस्थित गराएँ। तर, चार महीनापछि परीक्षाको १५ दिन अगाडि पनि तारेखमा नछोडेपछि उहाँकहाँ गएँ।

मेरो कुरा सुनेपछि मलाई अञ्चलाधीशकोमा लगेर सोही कुरा राख्नुभयो। त्यसरी, भाइ तारेखमा छुटे र परीक्षा दिए। फौजी स्वरुपको संगठन भएको प्रहरीमा म प्रहरी निरीक्षक र उहाँ प्रहरी नायव महानिरीक्षक रहेकोमा मलाई दिएको वचनलाई त्यसरी गम्भीरतापूर्वक लिनु र पालन गर्नुले उहाँको संवेदनशीलता देखाउँछ।

मातहतका प्रहरीको सुरक्षा तथा मनोबलप्रति उहाँ ज्यादै संवेदनशील रहेको दुई घटनाले देखाउँछन्। पहिलो घटना– २०३६ मा जनमतसंग्रह घोषणा हुँदा म ताप्लेजुङमा प्रहरी प्रमुख थिएँ। स्थानीय प्रशासन (प्रमुख जिल्ला अधिकारी) बाट सुधारिएको निर्दलीय पञ्चायती व्यवस्थावादीलाई सहयोग गर्न र बहुदलवादीलाई हतोत्साही गर्न निर्देशन र दबाब आउँथ्यो।

तर तत्कालीन प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाबाट भने प्रहरी संगठनले दुवै पक्षलाई समान व्यवहार गर्नुपर्ने निर्देशन आएको थियो। यसैबीच, ताप्लेजुङमा बहुदलवादी नेताहरूको कार्यक्रम बिथोल्ने, कुटपिट गर्ने हुनथालेपछि प्रहरीले हस्तक्षेप गरी जिल्ला सदरमुकाममा बहुदलवादीहरूको आमसभा गर्ने वातावरण बनायो।

त्यसपछि मलाई बहुदलतर्फ लागेको आरोप लगाउँदै तत्काल जिल्लाबाट हटाउनुपर्ने दबाब पर्‍यो। र, त्यही कारण मलाई ताप्लेजुङबाट पूर्व क्षेत्र प्रहरी कार्यालय काजमा झिकाइयो। तर, मैले राजनीतिक उद्देश्यको झुकाव कतैतर्फ नरहेको स्पष्ट पारेपछि डीआईजी डीबी लामाले मेरैअघि प्रहरी महानिरीक्षक दुर्लभकुमार थापालाई फोन गरेर दबाबमा प्रहरी अधिकृतको मनोबल गिराउन नहुने बताउनुभयो। त्यसरी मलाई ताप्लेजुङ फिर्ता पठाइयो।

तर, त्यसलाई पञ्च नेताहरूले प्रतिष्ठा बनाएर मलाई सरुवा गर्न दबाब दिएपछि छानबिन गर्न गृह मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा एक टोली जाँचबुझ् गर्न ताप्लेजुङ आयो। सो टोलीले मेरो पक्षमा प्रतिवेदन बुझाएपछि मेरै सुरक्षामा त्यहाँ जनमतसंग्रह भयो।

दोस्रो घटना– जनमतसंग्रहको दुई महीनापछि प्रहरी प्रमुखका रूपमा मेरो सरुवा धनुषामा भयो। म गएको केही समयपछि बहेडावेला गाउँमा दिउँसै डकैती भयो। जनमतसंग्रहमा जितेको पंचायत पक्षधरले बहुदल पक्षधरहरूमाथि सांघातिक हमला गर्न थालेका थिए। सो डकैती पनि त्यसै क्रममा तत्कालीन प्रधानपञ्चले गराएका थिए।

मुद्दा दर्ता नगर्न दबाब भए पनि प्रहरीले डकैतीको मुद्दा दर्ता गर्‍यो। तर, ताप्लेजुङको घटनासँग जोड्दै मलाई पञ्चायती व्यवस्था विरोधी र कांग्रेसको नजिक भन्ने आरोप लगाएर धनुषाबाट तत्कालीन राज्यमन्त्री बनेकाको नेतृत्वमा काठमाडौं डेलिगेशन गयो। त्यसपछि मलाई काठमाडौं बोलाइयो। मैले प्रहरी महानिरीक्षक दुर्लभकुमार थापासमक्ष घटनाको यथार्थ राखें।

प्रमाणसहित विवरण पेश गरेपछि महानिरीक्षक आश्वस्त हुनुभयो र म जनकपुर फर्किएँ। त्यसपछि परेको दबाबका कारण सरकारले आयोग समेत गठन गर्‍यो। गृह मन्त्रालयले मलाई हटाउन दबाब दिए पनि प्रतिवेदन नआई नहटाउने महानिरीक्षकको अडानका कारण म हटिनँ। कमिशनको प्रतिवेदन पनि मेरै पक्षमा आयो। त्यसको केही महीनापछि दुर्लभकुमार थापा सेवा निवृत्त भएर डीबी लामा महानिरीक्षक हुनुभयो।

विदा लिई काठमाडौं आएको वेला बधाई दिन उहाँको निवास ठमेल पुग्दा धनुषाका उनै राज्यमन्त्री भोलानाथ झासहित चार/पाँच जना राष्ट्रिय पञ्चायत सदस्य बाहिर निस्किंदै थिए। मलाई देख्नासाथ डीबी लामाले “ताप्लेजुङ हुँदा पनि टाउको दुखायौ, अहिले मन्त्री, राष्ट्रिय पञ्चायतका सदस्य तिमीलाई हटाउनुपर्‍यो भनेर आएका छन्” भन्नुभयो।

मैले सबै विवरण सुनाएपछि राम्रो काम गर भन्नुभयो। पञ्चहरूले ठूलो प्रतिष्ठाको विषय बनाएर मलाई नोकरीबाट हटाउन खोजे पनि केही समयपछि म प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भई प्रहरी प्रधान कार्यालय सरुवा भएँ।

सघन संगत

डीबी लामा प्रहरी महानिरीक्षकबाट सेवा निवृत्त हुनुभन्दा तीन महीनाअघिसम्म म प्रहरी प्रधान कार्यालयमा उहाँको सहयोगीको रूपमा रहें। राजासँगको साप्ताहिक भेटमा प्रहरी महानिरीक्षकले गर्ने जाहेरीको रिपोर्ट तयार गर्ने, प्रहरी महानिरीक्षकले गर्ने ब्रिफिङ नोट तयार गर्ने, विभिन्न पत्रहरू ड्राफ्ट गर्ने साथै ठूला घटना (उपत्यकामा भएका) अनुसन्धान गर्ने मेरो जिम्मेवारीमा थिए।

आफूलाई ठीक लागेको काम तुरुन्तै गरिहाल्ने उहाँको स्वभाव थियो। त्यो वेला प्रहरी प्रधान कार्यालयमा एक जना डाक्टर र केही नर्सिङ अर्दली रहने एउटा स्वास्थ्य केन्द्र थियो। जबकि, प्रहरीको आफ्नै अस्पताल हुनुपर्ने सबैलाई महसूस भइरहेको थियो। अस्पताल बनाउने अठोट लिएको एक हप्तापछि उहाँले अस्पताल भवनको शिलान्यास र त्यसको ९ महीनापछि तत्कालीन राजा वीरेन्द्रबाट उद्घाटन नै गराउनुभयो।

प्रहरी कर्मचारीका छोराछोरीका लागि विद्यालय आवश्यक रहेको सबैले महसूस गरे पनि बन्न सकेको थिएन। दुर्लभकुमार थापाले त्यस सम्बन्धी योजना तर्जुमा र केही रकम व्यवस्था गरेकोमा डीबी लामाले छोटो समयमै साँगामा प्रहरी विद्यालय र क्षेत्रीयस्तरमा क्षेत्रीय विद्यालय स्थापना गराउनुभयो। सरकारी अनुदान नलिई, विभिन्न स्रोत र चन्दाबाट ती काम भएका थिए।

त्यो वेलासम्म नेपाल प्रहरीमा महिला सहभागिता नगण्य थियो। महिलासँगको प्रहरी कार्य (अनुसन्धानको क्रममा पक्राउ, सोधपुछ, महिलाहरूको अत्यधिक भेला हुने चाडपर्व) मा पुरुष प्रहरी मात्र प्रयोग हुन्थ्यो। त्यस्तो अवस्थामा महिला प्रहरीको संख्या बढाउन उहाँले महिला प्रहरी भर्नामा जोड दिनुभयो।

धार्मिक आस्थाले मानिसलाई सही काम गर्न उत्प्रेरित गर्ने बुझेर उहाँले अधिराज्यभरिका प्रहरी कार्यालयमा मन्दिर बनाउने अभियान चलाउनुभयो। प्रहरीमा तल्लो दर्जा र प्रमुखबीचको दुरी ठूलो रहेकाले पीरमर्का माथिल्लोस्तरसम्म पुर्‍याउने वातावरण नरहेकोमा उहाँले उपत्यकामा प्रत्येक हप्ता प्रहरी दरबार शुरू गर्नुभयो। त्यसले तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउन सहयोग पुर्‍यायो। प्रहरी परिवार महिला संघको स्थापना उहाँकै पहलमा भयो। सामुदायिक प्रहरीको अवधारणा उहाँ प्रहरी महानिरीक्षक भएपछि आयो।

प्रहरी संगठनलाई त्यत्रो योगदान दिएर पनि दुर्भाग्यवश सेवा निवृत्त भएपछि उहाँ ठूलो शक्तिको प्रतिशोधको शिकार हुनुभयो। नगरेका झूटा लान्छना लगाइए। पाशविक यातना दिइयो। जबरजस्ती अपराध प्रमाणित गराई जेल हालियो। उहाँका नजिक रहेकाहरूलाई पनि झ्ूटा लान्छना लगाएर दुःख दिइयो। यस षडयन्त्रका रचनाकारहरू अहिले पश्चात्ताप गरिरहेका होलान्।

सर्वोच्च अदालतको आदेशबाट सफाइ पाएपछि डीबी लामा नयाँ रूपमा सक्रिय हुनुभयो। २००७ को क्रान्तिमा मुक्ति सेना भई लडेको पृष्ठभूमिका कारण नेपाली कांग्रेस प्रवेश गरेर रसुवाबाट सांसद् निर्वाचित भई सहायक मन्त्री समेत हुनुभयो। २०५३ मा नेपाल भूतपूर्व प्रहरी संघको अध्यक्ष भएपछि उहाँ मृृत्युपर्यन्त अध्यक्ष नै रहनुभयो। धापासीमा नेपाल भूतपूर्व प्रहरी संघको विशाल भवन निर्माण गर्नुभयो। भूतपूर्व प्रहरीहरूको पेन्सन लगायत हकहितका लागि लड्नुभयो, घाइते प्रहरी कर्मचारी, शहीद प्रहरी परिवारका हक, सुविधाका निमित्त क्रियाशील रहँदारहँदै उहाँ स्वर्गीय हुनुभयो। हार्दिक श्रद्धाञ्जली।

(भट्टराई अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक हुन्।)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...