खेलकुदबिहीबार, चैत्र २७, २०७०
क्यानमा परिवर्तन नभएसम्म कुनै खेल नखेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा
२७ चैतमा काठमाडौंको नक्सालस्थित होटेलमा पत्रकारसम्मेलन गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्ना मागहरु पूरा नभएसम्म जारी राष्ट्रिय प्रतियोगितासमेत नखेल्ने बताएका छन् ।
जारी राष्ट्रिय प्रतियोगिता खेल्न राष्ट्रिय टोलीका कुनै पनि खेलाडी पोखरा गएका छैनन् । अधिकांश खेलाडी नेपाली सेना र सशस्त्र प्रहरीको टिममा आवद्ध भएका उनीहरु विभागले कार्वाही गरे पनि आफूहरु तयार रहेको बताए ।
कप्तान खड्काले क्यानमा नेतृत्व र पदाधिकारी परिवर्तन नहुन्जेलसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने बताए ।
उनले भने, “माग पूरा नहुने हो भने एसीसी प्रिमियर लिग पनि खेल्दैनौं ।” पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडी सहभागी थिए ।
खेलाडीहरुले पछिल्ला ३ प्रतियोगितामा सहभागी भए वापत पाउनुपर्ने भत्ता र ८ महिनादेखि तलब नपाएको गुनासो गरे ।
एसिसि प्रिमियर लिग शुरु हुनु अघि राष्ट्रिय प्रतियोगिताको मुख्य खेल पोखरामा सारिएको प्रति पनि उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।