रमझमशुक्रबार, चैत्र २८, २०७०
मल्टिप्लेक्सको लहर
– ऋषिराम कट्टेल
काठमाडौं, कमलपोखरीको सिटी सेन्टरको विग मुभिजमा तीन वटा, सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिटी सिनेमामा तीन वटा, चुच्चेपाटीको केएल टावरको एफक्युवमा तीन वटा हल संचालन भइरहेकोमा राजधानी बाहिर भैरहवामा पनि १४ चैतबाट मल्टिप्लेक्स संचालनमा आएको छ।
त्यसो त यसअघि नै दुई वटा मल्टिप्लेक्स भएको कमलपोखरीमा कुमारी हल संचालन हुँदै आएको छ। सुन्धाराको सिभिल ट्रेड सेन्टरमा वैशाखको पहिलो सातासम्म दुई वटा हल भएको मल्टिप्लेक्स संचालन हुँदैछ।
नेपाली चलचित्र प्रदर्शनीमा कहलिएको विश्वज्योति हल समेत अहिले हलसँगैको जग्गामा विश्वज्योति मल निर्माण गरिसकेर नयाँ हल थप्दैछ। “अब सिङ्गल हल चल्न छोडिसके, त्यसैले भएको हल पनि केही समयपछि भत्काएर मल्टिप्लेक्स बनाउने योजना बनाएका छौं”, विश्वज्योतिका सञ्चालक मोहन सर्राफ भन्छन्।
मलको माथिल्लो तलामा मल्टिप्लेक्स निर्माणको क्रममा रहेका विश्वज्योतिका सञ्चालक सर्राफ मल्टिप्लेक्स तयार भएपछि दर्शक बढ्ने बताउँछन्।
हल व्यवसायीहरूको संगठन नेपाल चलचित्र संघका महासचिव प्रदीप उदय विश्वमै मल्टिप्लेक्स खुल्ने ट्रेन्ड आएको बताउँछन्।
राजधानी लगायतका शहरहरूमा अहिले झन्डै दुई दर्जन मल्टिप्लेक्स निर्माणाधीन छन्, जसमा ४० भन्दा बढी थिएटर हुनेछन्। यसले नेपालमा मल्टिप्लेक्स निर्माणको होडबाजी चलेको देखाउँछ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई मल्टिप्लेक्स विस्तारसँगै नेपाली चलचित्रको स्तर उकासिनेमा आशावादी छन्।
यो लहरमा राजधानीका पुराना मल र व्यापारिक केन्द्र बाहिरका मल्टिप्लेक्सहरू भने धमिलो भएका छन्। तथापि महँगो शुल्क तिर्न नसक्ने आम नेपालीका रोजाइ भने यिनै हल छन्। प्रविधि ‘अपग्रेड’ गर्न नसक्नु यी हलहरूको समस्या हो।
तर चार वटा हल भएको बालाजु वाइपासको अष्टनारायण, तीन वटा हल भएको भक्तपुरको बाराही मुभिज्, सात वटा हल भएको गोपीकृष्ण र दुई वटा हल भएको कलंकीका हलमध्ये एउटा थिएटरलाई भने अहिले सुधार गरिएको छ।
अहिले दर्शकको उपस्थिति पनि मल्टिप्लेक्सहरूमै बढी देखिन्छ। चलचित्र संघका महासचिव उदय सिनेमा हलमा नजाने मध्यम र उच्च वर्गका नेपाली दर्शकलाई सपिङ मलहरूमा खुलेका मल्टिप्लेक्सले मज्जाले तानेको बताउँछन्।
मलमा हल
अहिले राजधानीमा व्यापारिक केन्द्रमा सिनेमा हल खोल्ने ‘ट्रेन्ड’ छ। यस्ता मलहरू अन्य व्यापारका लागि पनि सहयोगी हुने गरी मल्टिप्लेक्स खोलिएका छन्, जसले आर्थिक रूपमा मध्यम र उच्च वर्गका दर्शकलाई तानेका छन्।
सिनेमा हल नराखिएका मलहरूमा ग्राहकको भीड अन्यत्रभन्दा कम देखिन्छ। जसले गर्दा मलमा मल्टिप्लेक्स अपरिहार्य जस्तै बनेको छ। सपिङ मलमा सिनेमा हलको अपरिहार्यता कति बढेको छ भने हल बन्द गरेर व्यापारिक केन्द्र बनाएको रञ्जना हलमा समेत अहिले हल बन्न शुरू हुनुले पनि प्रष्ट्याउँछ।
चलचित्र वितरक सुनिल मानन्धर भन्छन्, “ग्राहक त्यहीं आउँछन्, जहाँ किनमेलसँगै रोजी–रोजी सिनेमा हेर्न पाइन्छ।”
दरबारमार्गको राइजिङ मलमा दुई वटा र पुरानो रञ्जना हल भएको ठाउँमा बनेको बिजनेस कम्प्लेक्समा तीन वटा हल खुल्दैछन्।
नयाँबानेश्वरको शिवदर्शन हलमा निर्माणाधीन मलमा तीन वटा, ठमेल, पुतलीसडक र बागबजारका ट्रेड सेन्टरमा पनि धमाधम मल्टिप्लेक्स बनिरहेका छन्। पुल्चोकको ललितपुर विशालबजारमा अहिले क्युएफएक्सका तीन वटा थिएटर निर्माणाधीन छन्।
युवा उद्यमी गौरभ गोयलले गत वर्ष सञ्चालनमा आएको सिभिल ट्रेड सेन्टर (सीटीसी मल) मा नेपालकै महँगो मल्टिप्लेक्स सिनेडिसेफ बनाएका छन्। उनको कम्पनी सिनेडिसेफले सीटीसीमा दुई वटा थिएटर बनाएको छ। मसाज, खाना लगायतका सुविधा हलभित्रै उपलब्ध हुने उनी बताउँछन्।
पोखरा, बुटवल, नारायणगढ, विर्तामोड जस्ता ठाउँमा निर्माणाधीन व्यापारिक केन्द्रहरूमा पनि मल्टिप्लेक्स बनिरहेका छन्।
कुमारी, सुन्धाराको सिभिल मलको क्युएफएक्स सिटी सिनेमा र हात्तीसारमा जय नेपाल हल संचालन गरिरहेको टीम क्वेष्टका सीईओ रोशन अडिगा पुराना हलले स्तर नसुधार्दा र मलमा बनेका अत्याधुनिक र सुविधासम्पन्न हुँदा दर्शक मलका हलमा तानिएको बताउँछन्।
उनी भन्छन्, “मल्टिप्लेक्सको व्यापार र भीड देखेर अहिले सबै यो व्यापारतिर तानिएका छन्।”
पुल्चोकस्थित ललितपुर विशाल बजार बन्द भएपछि अहिले यो कम्प्लेक्समा क्यूएफएक्सका तीन थिएटर बन्दैछन्।
१२ वर्षअघि देशभर ४०० हाराहारी सिनेमा हल रहेकोमा नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार अहिले १७० वटा मात्र छन्। काठमाडौं उपत्यकामा दुईदर्जन चलचित्र हल बन्द भइसकेका छन्।
तीमध्ये न्युरोडको रन्जना, ललितपुरको अशोक सिनेमा, कुलेश्वरको मेट्रो सिनेमा, जोरपाटीको आराधना, बिजुलीबजारको मनकामना, जोरपाटीको चामुण्डा, नयाँबानेश्वरको शिवदर्शन, सिनामंगलको तारा, बालाजुको अजिमा, पुरानो ठिमीको भीमसेन, नयाँ ठिमीको गणेश र लक्ष्मी हल प्रमुख छन्।
बन्द भएका धेरैजसो हल भत्काएर व्यावसायिक भवन बनाइएका छन्।
घर–घरमा टीभी र हात–हातमा मोबाइल आइसक्दा पनि नेपाली चलचित्र राम्रो बन्न नसक्दा हलहरू बन्द भएका हुन्। माओवादी द्वन्द्वका कारण पनि केही हल बन्द भएका थिए।