ब्लगशुक्रबार, चैत्र २८, २०७०

इमर्जेन्सी कन्ट्रासेप्सन

डा. सुमनराज ताम्राकार

नेपालमा गर्भपतनले कानूनी मान्यता पाएपछि गर्भपतन गराउनेको संख्यामा पनि वृद्धि भएको छ। गर्भपतन आफैंमा एउटा जोखिमपूर्ण स्वास्थ्यस्थिति भएकाले यसबारे जो–कोहीले जानकारी राख्नु राम्रो हुन्छ।

असुरक्षित यौन सम्पर्कको बढीमा पाँच दिनसम्ममा आपत्कालीन गर्भ निरोधका लागि उपयुक्त समय हो। नेपालमा दम्पतीको आपसी सल्लाहमा कानूनी तवरले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट आर्थिक भार र मानसिक तनाव आइपर्छ।

असुरक्षित वा अनुपयुक्त ठाउँमा गर्भपतन गराउँदा हुनसक्ने पाठेघरको भित्री तह पाक्ने संक्रमणको खतरा छँदैछ। गर्भपतन गराउनुपर्ने अवस्था नै आउन नदिन दम्पतीहरूले महिनावारीको चक्र ख्याल गर्ने, कण्डम वा कमल चक्की अस्थायी साधनहरूको प्रयोग गर्नु बढी बुद्धिमानी हुन्छ।

गर्भ रहने क्रममा डिम्ब निष्काशन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निःसेचन र डिम्बारोपणको तारतम्य मिल्नुपर्छ। प्राकृतिक र चिकित्सकीय गरी थुप्रै खालका गर्भ निरोधका उपाय हुँदाहुँदै पनि लापरबाहीका कारण गर्भ रहने गरेको छ।

नेपालमा बलात्कार जस्तो जबरजस्तीबाट पनि थुप्रै किशोरी वा महिलाले अनिच्छित गर्भधारण गर्नुपरेको छ। कतिपय विवाहित दम्पतीको सम्बन्धलाई अनिच्छित गर्भले मनमुटाव उत्पन्न गराउने गरेको छ।

उपलब्ध साधन
असुरक्षित यौन सम्पर्क भइहाल्यो भने यथासक्य चाँडो लेभोनोरजेस्टे्रल वा इथिनाइल इस्ट्राडिओलयुक्त दुई चक्की पिल्स खानुपर्छ। त्यसको १२ घण्टापछि थप दुई चक्की खानुपर्छ।

त्यसैगरी, लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको पिल्स चक्की पनि १२ घण्टाको फरकमा खान सकिन्छ। विश्व स्वास्थ्य संगठनले भने परिवार नियोजनका साधन फेल भएको परिस्थितिमा मात्र पाँच दिनसम्म यी साधनहरू प्रयोग गर्न सकिने सल्लाह लिएको छ।

आपत्कालीन गर्भ निरोधको उल्लिखित पिल्सहरू खान भ्याइएन भने पाँचौं दिनभित्र मिफेप्रोस्टोन, प्रिमारिन, इथिनाइल इस्ट्राडिओल जस्ता चक्की पनि खान सकिन्छ, तर यी औषधिहरू त्यति प्रचलनमा छैनन्।

लेभोनोरजेस्टे्रल वा इथिनाइल इस्ट्राडिओलयुक्त पिल्सहरू ८९ प्रतिशत प्रभावकारी हुन्छन्। यी साधनहरूको प्रयोगले असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहने सम्भावनालाई ७५ प्रतिशत घटाउने मानिन्छ।

आपत्कालीन निरोधका लागि औषधि खाए पनि गर्भमा रहेको शिशुमा कुनै हानि देखिएको छैन। निरोधका औषधि खाँदाखाँदै गर्भले निरन्तरता पाएमा पाठेघर भन्दा बाह्य भागमा रहने सम्भावना पनि हुँदैन।

मस्तिष्कघात, माइग्रेन वा रगतको विकार भएका महिलामा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ। छारेरोग एवं क्षयरोग विरुद्ध औषधि सेवन गरिरहेकी महिलामा पिल्सको प्रभावकारिता घट्न सक्ने हुनाले पिल्सको मात्रा बढाउनुपर्ने हुन्छ।

किशोरीहरूले स्वास्थ्यकर्मीको सुपरीवेक्षणमा मात्र आपत्कालीन गर्भ निरोधका औषधि प्रयोग गर्नु बुद्धिमानी हुन्छ।

साधनको जटिलता
बाध्यतावश हर्मोन पिल्स खानुपर्दा वाक्वाकी लाग्ने (औषधि वा हर्मोनको प्रकार अनुसार घटी बढी), पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने आदि साइड इफेक्टहरू देखिन्छ।

साधारणतया अस्थायी तवरले महिनावारीमा गडबडी पनि आउन सक्छ। महिनावारीमा रगत पनि अलि बढ्ता जाने र अलि पीडादायी हुन सक्छ। डिम्ब निष्काशन हुनु अगाडि नै हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुन सक्छ।

त्यसकारण, परिवार नियोजनका अरू प्राथमिक उपाय फेल खाएको अवस्थामा मात्र आपत्कालीन गर्भ निरोध अपनाउनु बुद्धिमानी हुन्छ। अर्थात्, यस्ता चक्की पाइहालिन्छ भनेर असुरक्षित यौन सम्पर्क गर्नुहुँदैन। आपत्कालीन गर्भ निरोधको प्रयोगको तीन हप्तासम्म पनि महिनावारी खुलेन भने गर्भ जँचाउनुपर्छ।

यस्ता पिल्स खाएको दुई घण्टाभित्र उल्टी भएमा यथासक्य चाँडो अर्को डोज खानुपर्छ। कपर टी पनि आपत्कालीन गर्भ निरोधको भरपर्दो साधन हो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...