टिप्पणीशनिबार, चैत्र २९, २०७०

शब्दको गोहो

केदार शर्मा

नेपालीमा वा नेपालभित्रका अरु भाषामा भएका शब्दका ठाउँमा सकभर बाहिरबाट नतानौं वा हिन्दीका क्रियापद प्रयोग नगरौं भन्ने जस्ता कुरा गरिरहने मान्छे थोरै छौं; तर बेवास्ता गर्न मिल्ने गरी थोरै भने छैनौं।

अहिलेको जमानामा नयाँ शब्दसित कसैले पनि अरुचि राख्न मिल्दैन। खानेकुराको प्रेमी भएकाले पनि शब्दहरूलाई ससम्मान स्वागत गर्नुपर्छ। केही वर्षयता नेपालमा चाउचाउ र चाउमिन भन्दा दुई फरक खानेकुरा बुझिन थालेको छ।

हामीले ‘स्यालड’ नभने पनि सलाद भन्नै पर्छ, चपस्टिकलाई झीर भनेर हुँदैन। पिज्जालाई चटामरी भन्दा दुवैलाई अन्याय हुन्छ। सूप, सुरुवा, झोल– सबैमा अन्तर छ। डोनट र सेलरोटीलाई एउटै नामले पुग्दैन।

विद्युतीय संसारमा नयाँ सामान, शब्द, सफ्टवेयर र एप्सहरूको निर्विकल्प भीड छ। मेगापिक्सेल, मिसकल, मेसेज, एसएमएस, टेक्स्ट, भाइब्रेशन, गेम, सीडी, डीभीडी, एक्सटेन्सन केबल लगायतका हजारौं शब्दको नेपाली खोजेर हुँदैन।

लुगाफाटो, खानपान, व्यवहार सबैमा परिवर्तन आउँछ भने भाषामा मात्र कट्टर भएर हुँदैन। तर समाजमा परिवर्तन आयो भन्दैमा दौरामा टाई बाँधेर हुँदैन, सेलरोटी ओभनमा पाक्दैन। डिजर्टलाई मिठाई, मिष्टान्न वा गुलियो भने हुन्छ।

हिन्दीको सिको गरेर रक्सी, चुरोट पिउनु पर्दैन। हाम्रो भाषामा ‘खानु’ भन्ने क्रियापदले साह्रै धेरै अर्थ बोक्छ। हामी भात, पानी, चुरोट, रक्सी मात्र होइन; म्वाई, गाली, ऋण र हावा पनि खान्छौं।

भाषामा मनोगत विचार पनि चल्छन्। छोरीलाई ‘बेटी’ भनेको सुन्दा हामीलाई हिन्दी जस्तो लाग्छ, तर ‘चेलीबेटी’ मा आउने बेटी हिन्दी लाग्दैन। फ्रेन्डलीलाई मैत्री र फीडब्याकलाई पृष्ठपोषण तालका अनुवादमा एनजीओ गन्हाउँछ।

समाजमा नयाँ अवधारणा र वस्तुहरू भित्रिंदै जाँदा नयाँ नामवाची शब्दहरू भित्रिनुको विकल्प हुँदैन, तर सर्वनाम, क्रियापद, विशेषण, वाक्पद्धति र उखानहरू भित्र्याएर भाषाको प्रकृतिलाई बिगार्नु भने हुँदैन।

भाषाशास्त्री राम लोहनी अंग्रेजी क्रियापदमा ‘गर्नु’ लगाएर बोल्ने चलन बढेको बताउँछन्। उनका अनुसार, ‘म पढाउँछु’ भन्दा हुने ठाउँमा मान्छेहरू ‘म टिचिङ गर्छु’ भन्न थालेका छन्।

“त्यसरी बोल्दा नामवाची र क्रियापदको भेद विचारेर बोल्ने कमै देखिन्छन्”, लोहनी भन्छन्, “बडेबडे अनुवादकले नै ‘म ट्रान्सलेट गर्छु’ भनेको सुन्दा उदेक लाग्छ।”

शब्द नभित्रिई भाषाको विकास हुँदैन। गादो, कछाड, दौरा, सुरुवाल, फरिया, चोलो जस्ता हाम्रा आफ्ना भनिएका पहिरनमा खल्ती हुँदैन। गोजी हुने लुगाको चलन आएपछि शब्द पनि आए।

खल्ती, गोजी, बगली, पाकिट सबै अङ्गीकृत शब्द हुन्। जिपर लगाउने प्यान्ट, ज्याकेट आएपछि शब्द पनि आयो। कम्मरसम्मको ‘वेष्टकोट’ नेपालमा इष्टकोट, अस्कोट, आस्कोटसम्म भयो। जवाहरलाल नेहरूको जस्तो कोट ज्वारीकोट भयो। यस्तो हुन्छ, भइरहन्छ र हुनुपर्छ।

मार्तोल, तोस र पाउरोटी

पुल्चोक क्याम्पसमा पढ्दा सरले मलाई उडवर्क्सको वर्कशपमा मार्तोल ल्याउन भन्नुभयो। मैले लगेर दिंदा उहाँ झवाँकिनुभयो, “सेकेन सेमेष्टरमा आइसक्यो, अझै मार्तोल चिनेको छैन?”

हाम्रो घरमा भएको ‘मार्तोल’ मा काँटी ठोक्ने सानो हम्मरसितै जोडिएको काँटी उखेल्ने ‘जमरा’ पनि थियो। त्यसको फलामको बींडको टुप्पो भने चेप्ट्याइएको थियो, जसले पेचकसको पनि काम गर्थ्यो। मलाई सेकेन सेमेष्टरमा पढ्दा गाली खुवाउने भाँडो त्यही थियो।

हाम्रातिर ‘बनवाला’ भनिने बिहारी मुसलमानहरू टाउकामा टीनका बाकस बोकेर अनेकथरी बिस्कुट बेच्न हाटबजार धाउँथे। अहिले बुझदा उनीहरू सुकेबाट सामान ल्याउँदा रहेछन्।

सुकेपोखरी, जसलाई हिन्दी–बेलायती प्रभावबाट सुखिया पोखरी भनियो, हाम्रो पशुपतिनगर र दार्जीलिङको बीचमा पर्ने एउटा बजार हो। नजिकका चिया कमानहरूमा सस्तो, सजिलो र टिकाउ खाजा बिक्ने सम्भावना देखेर कुनै उद्यमीले त्यहाँ बेकरी खोल्यो होला। उसका सेल्सम्यानहरू सामान बेच्दै हाम्रातिर पनि आए होलान्।

उनीहरू सबभन्दा ठूलो रोटीलाई तोस भन्थे। १० पैसामा बिस्कुट र कोकिस किन्ने हामी डेढ रुपैयाँको तोस खाँदैनथ्यौं। दुईतिर टुप्पामा गाँठा–गाँठा परेको कोकिस बासी भएर पनि होला, टोक्दा कुडुङ्ग हुन्थ्यो।

पछि थाहा भयो, तोस टोस्ट रहेछ र कोकिस कुकिज। तिनको स्वरूप र स्वादमा पनि नाममा जत्तिकै अन्तर हुँदोरहेछ। दार्जीलिङमा एक जनाले मलाई भनेका थिए, “उता नेपालमा च्यान खुट्टाले पीठो मोल्छ कि, अन्त पो पाउरोटी भनेको त। याँ त तेस्तो गर्दैन नि अन्त हामी च्यान तोस भन्छुङ!”

काठमाडौंमा चिया–पाउरोटीको खाजा खान थालेपछि पनि मैले पाउरोटीको नामसित सम्बन्धित त्यही कुरा सुनें। तर, खुट्टैले पीठो माडे पनि त्यस्तो नाम त नराख्नुपर्ने भन्ने मलाई लाग्यो।

अनि, त्यसवेलासम्म हाम्रातिर खुट्टैले खाँदेर तयार गरिने सिन्की गुन्द्रुकका नाममा चाहिं पाउ किन झुन्डिएन भन्ने पनि लाग्यो। तर कलिलै थिएँ, शब्दको व्युत्पत्ति खोज्ने बुद्धि र उपाय दुवै थिएन।

पछि, बालचन्द्र शर्माको शब्दकोशले पाउरोटीको ‘पाव’ र मार्तोल दुवै पोर्चुगिज शब्द हुन् भन्ने बताइदियो। पावको अर्थ ब्रेड नै रहेछ, र मर्तेल्लो पेचकस नै रहेछ। पूर्वी नेपाल र दार्जीलिङमा मार्तोल भन्दा किन अंग्रेजीको ह्याम्मर बुझिन्छ र काठमाडौंमा त्यही शब्दले अंग्रेजीको स्क्रू ड्राइभर किन बुझिन्छ भन्ने प्रश्नको उत्तर भने शब्दकोशमा हुने कुरा भएन।

गोवाबाट नेपाल

सन् १४९८ मा पोर्चुगिज अन्वेषक भास्को डे गामा भारत आइपुगे। केहीपछि पोर्चुगिजहरूले गोवामा आधिपत्य जमाए। ती गौराङ्गहरूले यस उपमहाद्वीपमा अलिकति युरोप नै ल्याए। उनीहरू छरिता औजार चलाउँथे।

एउटै औजारले सकेसम्म धेरै काम गरे धेरै वटा बोक्नु पर्दैन भनेर स्क्रू ड्राइभरकै फेदमा सानो ह्याम्मर र काँटी उखेल्ने नङ्ग्रो समेत राखे। उनीहरूले पेचकिला (स्क्रू) पनि भित्र्याए। पेच बेच्न थालेपछि पेचकस पनि बेच्नु पर्‍यो।

घन र किला–काँटीको व्यवहार गरिरहेको काठमाडौंले त्यो बहुउद्देश्यीय औजारलाई मार्तोलबाटै चिन्यो। पहाडतिर फलामको काँटी नै नयाँ थियो, नयाँ औजारलाई त्यसको सबभन्दा धेरै प्रयोग हुने अर्थात् ठोक्ने भागबाटै चिनियो। यो मेरो मनले तर्कना गरेको कुरा हो।

यस उपमहाद्वीपमा त्यसवेलासम्म बेकिङको चलन नै थिएन। उनीहरू बेक गरेर रोटी पकाउन, बेच्न थाले। ती भुक्के रोटीलाई उनीहरू पाव भन्थे। गोवाबाट अलि उत्तर, बम्बईमा त्यो रोटी भाजी (तरकारी) सित जमेर पावभाजी भयो।

भारतीय शब्दकोशहरूले ‘पावरोटी’ सम्मलाई स्वीकारे पनि त्यहाँ ब्रेड वा डबलरोटी चल्यो। नेपालमा आइपुग्दा ‘पाव’ को उच्चारण अन्त्यमा ‘व’ भएका अरू शब्दमा जस्तै पाउ भयो; तर उसले आफ्नो थर जात अर्थात् ‘सरनेम’– ‘रोटी’ छोडेन र पाउरोटी भयो।

आलु, मकै, पिंडालु

कोलम्बसको अमेरिका यात्रापछि एटलान्टिक सागर तरेर विस्तारै यहाँ आइपुगेका आलु, मकै, खुर्सानी, गोलभेंडा, इस्कुस आदिले कसरी यी नाम ग्रहण गरेर यताका संस्कृतिका अभिन्न अङ्ग भए, हामीले बुझने मौकै पाएका छैनौं।

अलिपछि त्यही भूभागबाट आएको आभोकाडोले भने नाम फेर्न सकेन। हिजोआज लहरेआँप भनिने फललाई इलामतिर बाहुनछेत्रीले खडरस र राई लिम्बूले गरन्डल भन्छन्।

दक्षिण अमेरिकाबाट यो फल कहिले, कसरी र कुन बाटो यहाँ आयो र कुन पण्डितले यसको न्वारान गरेर खडरस (षड+रस) नाम राख्यो, थाहा छैन। गरन्डल भन्ने नामचाहिं यसको दक्षिण अमेरिकी नाम ‘ग्रानाडिल्ला’ सित मिल्छ।

लाहुरबाट यो फल भित्र्याउनेले उता जे सुने त्यही भन्न खोजे पनि नाम राख्न सिपालुहरूले चाहिं आफैं न्वारान गरिदिए भन्नु भन्दा अर्को तर्क भेटिंदैन।

सामान र गैरसामानसित सम्बन्धित नयाँ शब्दहरू आइरहन्छन्। भाषाका गुरु शरच्चन्द्र वस्तीको भनाइमा, पहिले वस्तु र अवधारणाले पैदल वा पानीजहाज वा गाडी चढेर आइपुग्दासम्म नाम फेरिसकेका हुन्थे।

हिजोआज उडेर वा क्लिकका भरमा आउँछन्, नाम फेर्न भ्याउँदैनन्। त्यसरी पनि तिनलाई स्वीकार्नै कर लाग्छ। इलाममा बनाइने खुवाको एउटा मिठाई छ, बम्बैसन।

त्यसको नाम कसरी बम्बैसन रह्यो, कसैलाई थाहा छैन। सीमावर्ती भारतीय बजारहरूमा मात्र होइन, योसँग नाम जोडिएको बम्बई (अहिले मुम्बई) मा समेत बम्बैसन पाइएन। ‘सोहन हलवा’ को बम्बै संस्करणलाई बम्बैसोहन भनिन्छ, तर त्यो बम्बैसनभन्दा बिल्कुल फरक हुन्छ।

त्यसैले यो पनि कसैको नाम काशी हुँदैमा बनारससित वंश–जन्मको सम्बन्ध हुन जरूरी नभए जस्तै हुन सक्छ, बम्बैसन पनि नेपाली हो, इलामे हो। यो स्वादिष्ट मिठाई बनाउन गाह्रो पनि छैन, तर नेपालमै पनि इलाममा बाहेक अन्त किन बनाइँदैन, त्यो पनि थाहा छैन।

शब्दहरूको गोहो पहिल्याउँदै जाँदा रमाइला ठाउँहरूमा पुगिन्छ। भाषा र शब्दहरूको तुलनात्मक अध्ययन गरेर समाज र संस्कृतिका मूल, प्रवाह र प्रवृत्तिको जरो–किलो पत्ता लगाउने समाजशास्त्रीय भाषा–विज्ञान नामका विधि र विधाहरू छन्।

दुई–चार वटा शब्दको हाँगोमा सैसैला खेल्न ठूल्ठूला नाम भएका शास्त्रका शास्त्री वा विशेषज्ञ भइराख्नु पर्दैन। सामान्यज्ञानका भरमा भाषाका लहरा केलाउँदै जाँदा कहिलेकाहीं रमाइलो हुन्छ, कहिले त्यसले गम्भीर कुराहरूप्रति सङ्केत गर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>