खेलकुदशनिबार, चैत्र २९, २०७०

क्यानमा अख्तियारद्वारा छानविन, खेलाडीका माग पूरा गरिने: खेलकुद मन्त्री

हिमालखबर

क्यानमा भएको अनियमितता र व्यवस्थापनले क्रिकेट खेलाडीलाई दिनुपर्ने सुविधा नदिएको भन्ने समाचार प्रकाशित भएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको प्रवक्ता श्रीधर सापकोटाले बताएका छन् ।

आयोगले व्यवस्थापनका प्रमुख जिम्मेवार व्यक्तिलाई झिकाई तत्काल अनुसन्धान शुरु गर्ने उनले जानकारी दिए ।

लामो समयदेखि तलब नपाएको भन्दै क्रिकेट खेलाडीले जारी एक दिवसीय खेल नै बहिस्कार गरेपछि अख्तियारले क्यानका विषयमा छानविन गर्न लागेको हो ।

क्रिकेट टोलीले खेल्नुपर्छः मन्त्री पौडेल

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय क्रिकेट टोली प्रतियोगितामा फर्कनुपर्ने बताएका छन् ।

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको २८ चैतमा बागलुङमा उद्घाटन गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्रिकेट टोलीले कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय लिनु दुःखद भएको बताए ।

मन्त्री पौडेलले क्रिकेट टोलीको माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रतियोगिता नखेल्ने निर्णय फिर्ता लिन किक्रेट टोलीलाई आग्रह गरे । “म क्रिकेटको राष्ट्रिय टोलीका खेलाडीलाई खेल खेल्न आग्रह गर्दछु, तपाईंहरू खेल खेल्नुस् र आफ्ना मागहरू पनि सँगै राख्नुस् सरकार माग पूरा गर्न प्रतिबद्ध छ”– मन्त्री पौडेलले भने ।

उनले क्रिकेटको राष्ट्रिय टोलीको यस्तो निर्णय आउनुमा राष्ट्रिय क्रिकेट सङ्घ (क्यान) र सरकार दुवैको दोष रहेको टिप्पणी गरे ।

“राष्ट्रिय क्रिकेट सङ्घले खेलाडी संरक्षणको योजना ल्याउन सकेन, सबै खेलाडीलाई समान व्यवहार गर्न पनि सकेन”–मन्त्री पौडेलले भने, “स्रोत साधनको समेत परिचालन र आन्तरिक व्यवस्थापन गर्न नसक्दा आज यस्तो अवस्था आएको हो ।”

विद्यमान राष्ट्रिय खेलकुद नीति कार्यान्वयन हुन नसकेको भन्दै मन्त्री पौडेलले खेलकुद मन्त्रालय नीति कार्यान्वयन गर्नेतर्फ क्रियाशील हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>