ब्लगशनिबार, चैत्र २९, २०७०
बीपी र भोला चटर्जीको सम्बन्ध
आधुनिक नेपालका चर्चित र प्रभावशाली राजनेता बीपी कोइराला २००३ मा राजनीतिमा प्रवेश गरेदेखि मृत्युपर्यन्तसम्मको चारदशक नेपाली राजनीतिको केन्द्रमा रहे। सत्तामा हुँदा या नहुँदा उनी सधैं जनप्रिय रहे। सात सालको क्रान्तिका नेता उनी दार्शनिक सहित अनेक व्यक्तित्वका धनी थिए।
उनको व्यक्तित्वमा अरूलाई आकर्षित गर्न सक्ने विशेष खुबी रहेको मानिन्छ, नेपाली समाजले भन्ने मोहनी जस्तै। बीपीको यो खुबीसँग नेपालीसँगै कैयौं विदेशी पनि प्रभावित थिए।
प्रसिद्ध भारतीय साहित्यकार फणीश्वरनाथ रेणु, लेखक भोला चटर्जी तिनैमध्येमा पर्छन्। रेणुले सात सालको क्रान्तिको विषयमा लेखेको ‘क्रान्ति कथा’ जीवन्त रिपोर्टाज हो। समाजवादी कार्यकर्ता भोलाले भने नेपालबारे चार वटा पुस्तक लेखेका छन्।
२००७ को क्रान्तिको एउटा प्रमुख केन्द्र भारतको कलकत्ता थियो। त्यहींको सम्भ्रान्त परिवारमा जन्मिएका भोलाका हजुरबुबा गुरुदास वनर्जी कलकत्ता हाइकोर्टका पहिलो भारतीय न्यायाधीश र कलकत्ता युनिभर्सिटीका पहिलो गैर अंग्रेज उपकुलपति थिए।
भारतीय स्वतन्त्रता संग्रामका वेला उनी भारतीय समाजवादी नेताहरू जेपी र लोहियाको सम्पर्कमा पुगेका थिए।
नेपाली क्रान्तिमा संलग्नता
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस बनेपछि नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बन्यो। त्यसका लागि हतियार खोज्न समाजवादी पार्टी सत्तामा रहेको बर्मा उपयुक्त थलो हुने लोहियाले बीपीलाई सुझाव दिएपछि थिरबम मल्ल र भोला बर्माको राजधानी रंगुन पुगे।
त्यसरी भोला नेपाली क्रान्तिसँग जोडिएको प्रसङ्गबारे बीपीले भोलाको पहिलो नेपाली पुस्तक ‘रिसेन्ट नेप्लिज पोलिटिक्स’ को भूमिकामा लेखेका छन्, “भोला नेपाली मुक्ति सेनाको खाकी पहिरनमा ठाँटिएका थिए।” पुस्तकमा भोलाले पनि बीपीले विराटनगर मोर्चाको नेतृत्व गर्दा आफू संलग्न रहेको उल्लेख गरेका छन्।
क्रान्ति शुरू हुनुअघि मुक्ति सेनालाई गुरिल्ला ट्रेनिङ्ग दिएका भोलाले बीपीलाई पुस्तक समर्पण गर्दै लेखेका छन्, “बीपी कोइरालाप्रति समर्पित, जसको मेरो लेखाइप्रति असहमति हुन पनि सक्छ।”
तर, उनै भोला सात सालको क्रान्तिपछि भने एकदशकसम्म अलमलिए। भारतमा समाजवादी पार्टीले पहिलो निर्वाचनमा पराजय बेहोर्नु, नेपाली कांग्रेसमा फुट आउनु र दक्षिणएशियाको समाजवादी आन्दोलनमा अन्योल देखा पर्नु त्यसका कारण थिए।
त्यसपछि उनले कलकत्ताको इन्डियन सोसियोलोजिकल इन्स्टिट्युटमा जागीर खाए। त्योसँगै उनले पत्रकारिता र पुस्तक लेखन पनि गरे।
नेपाली क्रान्तिमा संलग्न भएपछि भोला लोहियाको सचिवालय चलाउन, भूटान आन्दोलनमा र नेपाली कांग्रेसलाई अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग जोड्न पनि लागे। यता, मोहनशमशेर नेतृत्वको अन्तरिम मन्त्रिमण्डलबाट बीपीले अप्रत्याशित राजीनामा दिएपछि नेपाली राजनीतिको दिशा बदलियो।
कांग्रेसले बीपीको सिफारिश गरे पनि दरबारले उनका दाजु मातृकालाई प्रधानमन्त्री बनायो। त्यसले बीपी र मातृकाबीच सत्ता संघर्षको बीउ रोपिदियो। मातृकाले नेपाली कांग्रेस फुटाएर ‘राष्ट्रिय प्रजा पार्टी’ बनाए। त्यसले बीपीलाई विरक्त बनायो। बीपीले भोलालाई लेखेको चिठीले त्यो वेलाको परिस्थिति देखाउँछ। (हे. चिठी)
त्यही वेला युरोप पुगेका भोलाले बीपीलाई एउटा चिठी पठाएर युरोपका समाजवादी पार्टीसँग सम्बन्ध विस्तार गर्न आग्रह गरेका थिए। त्यसो गर्दा नेपालको समाजवादी आन्दोलनलाई सहयोग पुग्ने उनको धारणा थियो।
अक्टोबर १९५४ मा टोकियोमा भएको एशियाली समाजवादी सम्मेलनमा भाग लिन पटना पुगेका वेला बीपीले भोलालाई यो चिठी लेखेका थिए। चिठीमा बीपीले टोकियोपछि युरोप जान सहज हुने भएकाले त्यसको सबै बन्दोबस्त मिलाउन आग्रह गरेका छन्।
चिठीमा उनले भनेका छन्– मेरो यात्रा कमभन्दा कम खर्चमा मिलाउनुपर्छ। चिठीको अन्त्यतिर बीपीले लेखेका छन्– राजा (त्रिभुवन) स्वीट्जरल्यान्ड जाँदैछन्। उनले मलाई मातृका सरकारमा व्यक्तिगत रूपमा सहभागी गराउन प्रयत्न गरेका थिए। मातृकाका गतिविधिले राजाका समस्या थप बढेका छन्।
यो चिठीमा बीपीले लेखेको चिठीको महत्वपूर्ण पक्ष चाहिं बर्मामा हतियार ल्याउनदेखि युरोपका समाजवादी पार्टीसँग कांग्रेसको सम्बन्ध विस्तार गर्न भोलाले विशिष्ट भूमिका खेलेको देखाउनु हो।