रिपोर्टशनिबार, चैत्र २९, २०७०

कृषि यन्त्र प्रयोगमा विवाद, खेतमै झर्न थाल्यो गहुँ

हिमालखबर

दीपक ज्ञवाली, बुटवल

२१ चैतमा सरकारले गहुँ काट्ने मेशीन (कम्बाइन्ड हार्भेस्टर) प्रयोगमा प्रतिबन्ध लगाएपछि रूपन्देहीको पजरकट्टी–८, पोखरभिण्डका किसान ताहिर अलीले ९ बिघा खेतमा लगाएको गहुँ पाकेर झुरिइसक्दा पनि घर भित्र्याउन पाएका छैनन् । मजदूर नपाइने हुँदा धेरै क्षेत्रफलमा लगाइएको गहुँ परम्परागत तरिकाले काट्न नसकिने भएकाले उनी चिन्तित छन् । गहुँ काट्न र झर्न उनले रु.२८ लाखमा किनेको हार्भेस्टर घरमै थन्किएको छ ।

किसान आक्रोशित
हार्भेस्टर प्रयोगले वातावरण र जमीनको उर्वरा शक्तिमा नकारात्मक असर पर्ने र जनधनको पनि क्षति हुने भन्दै कृषि विकास मन्त्रालयले प्रयोग नगर्न निर्देशन दिएपछि गहुँ किसान आक्रोशित बनेका छन् र आन्दोलनको तयारी गर्न थालेका छन् ।

किसानहरूको आक्रोश बढेको देखेपछि मन्त्रालयले २४ चैतमा अर्को विज्ञप्ति निकालेर ‘स्ट्र कलेक्टर’ वा बेलर नजोडिएका हार्भेस्टर प्रयोगमा मात्र रोक लगाएको बतायो । तर, धेरै किसानहरूसँग त्यस्तो उपकरण जोडिएको हार्भेस्टर नभएकाले सो विज्ञप्तिको केही अर्थ नभएको रूपन्देहीका किसान जयलाल यादव बताउँछन् ।

१० वर्षदेखि तराईका अधिकांश व्यावसायिक किसानहरूले हार्भेस्टर प्रयोग गरेर गहुँ भित्र्याउने गरेका छन् । रु.२८ लाखदेखि रु.३० लाखसम्म पर्ने यो मेशीन रूपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै झ्न्डै ५० वटा प्रयोगमा छन् । मेशीन हुनेले भाडा लिएर गहुँ काट्ने र झरिदिने हुनाले गहुँको सिजनमा मजदूरको अभावले किसानलाई पिरोल्न छाडेको छ ।

रूपन्देहीका किसान दिनेश पराजुलीका अनुसार, यो वर्ष १० प्रतिशत गहुँ बढी उत्पादन हुने अनुमान गरिएकोमा सरकारी निर्णयले पाकिसकेको गहुँ भित्र्याउन गाह्रो पार्ने हुँदा किसानले फाइदा लिन गाह्रो छ ।

सरकारी तर्क
कृषि विकास मन्त्रालय, कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाका वरिष्ठ कृषि अर्थ विज्ञ सुनिलकुमार सिंहले रूपन्देही र बाँके जिल्लाका कृषि विकास कार्यालयलाई पठाएको पत्रमा कम्बाइन्ड हार्भेस्टरको प्रयोग तत्काल रोक्ने, रोकाउने र सीमावर्ती नाकाबाट भित्रिन नदिने व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन र भन्सार कार्यालयलाई आवश्यक निर्देशन दिन अर्थ तथा गृह सचिवहरूलाई अनुरोध गरिएको उल्लेख छ ।

सो मेशीनले गहुँको हार्भेस्टिङ्ग गर्दा भुस, नल (छ्वाली) खेतमा छाडिने, व्यवस्थापन गर्न कठिनाइ हुने र किसानहरूले खेतमा आगो लगाएर नष्ट गर्ने हुँदा वातावरण संरक्षण ऐन प्रतिकूल हुने, पशुहरूको आहारामा कमी आउने, जनधनको क्षति हुने, जमीनको उर्वराशक्ति ह्रास हुने, खेतका कीरा फट्यांग्रा र मित्रजीव नष्ट हुने तर्क पत्रमा गरिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुईंटेलले जारी गरेको विज्ञप्तिमा भने ‘स्ट्र कलेक्टर’ वा बेलरसहितको कम्बाइन्ड हार्भेस्टर प्रयोग गर्न सकिने उल्लेख छ ।

मन्त्रालयको पत्र पाएपछि प्रहरीले खेतमा गएर हार्भेस्टर प्रयोग भए/नभएको निगरानी गर्न र प्रयोग भएको देखे रोक्न थालेको छ । रूपन्देही पजरकट्टीका किसान अली एक साताअघि प्रहरीले आफ्नो खेतमा आएर मेशीन चलाउन रोकेको बताउँछन् ।

यस्ता घटना बढ्न थालेपछि किसानहरूले जिल्ला प्रशासन र कृषि विकास कार्यालयमा घेराउ र धर्ना दिन थालेका छन् । कृषि विकास कार्यालय रूपन्देहीका बाली संरक्षण अधिकृत रामबहादुर खत्री सहमतिमा निकास ननिकाल्ने हो भने समस्या अरू बढ्ने र गहुँ खेती २५ प्रतिशत घट्ने तथा ५० प्रतिशत खेत बाँझे हुने आशंका गर्छन् ।

नेपालमा अहिले ७ लाख ६७ हजार ४९९ हेक्टर जमीनबाट वार्षिक १७ लाख ४५ हजार ८११ टन गहुँ उत्पादन हुन्छ । राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भड्सरी भैरहवाका अनुसार तराईको जमीनमध्ये ५८ प्रतिशत र मुलुकको खेतीयोग्य जमीनको २२ प्रतिशतमा गहुँ खेती हुन्छ । गहुँले खाद्यान्न उत्पादनको २० प्रतिशत योगदान पु¥याएको छ ।

के हो कम्बाइन्ड हार्भेस्टर ?
धान र गहुँ काट्न प्रयोग गरिने यो मेशीनले खेतमै दानालाई बोरामा प्याक गर्न सकिने गरी सफा पार्छ ।

यो मेशीनले एक घन्टामा एक बिघा खेतको गहुँ काट्न र झर्न सक्छ । जबकि, त्यति गहुँ काट्न र झर्न २५ जना मजदूरलाई दिनभरि लाग्छ ।

एक बिघामा फलेको गहुँ काट्न र झर्न यो मेशीन प्रयोग गर्दा रु.५ हजारले पुग्छ भने मजदूर लगाउँदा झ्न्डै रु.१५ हजार खर्च हुन्छ । यसले एक दिनमा १५ देखि १८ बिघाको गहुँ काट्न र झर्न सक्छ ।

नेपालमा गहुँ
वार्षिक उत्पादन: १७,४५,८११ टन

खेती हुने क्षेत्रफल:७,६७,४९९ हेक्टर

उत्पादकत्व: २,२७५ किलो प्रति हेक्टर

तराईको जमीनमध्ये ५८ प्रतिशत क्षेत्रमा खेती

कुल खेतीयोग्य जमीनको २२ प्रतिशत जमीनमा खेती

गहुँ बालीले ३५ अर्ब रुपैयाँ बराबरको आन्तरिक खाद्य आपूर्ति

देशभर ९६ प्रतिशत नयाँ जातका गहुँको खेती

नयाँ जातका प्रयोगले हरेक वर्ष १.५ प्रतिशतले उत्पादनमा वृद्धि

सफल र रुचाइएका प्रमुख जातहरू: एनएल २९७, भृकुटी, बीएल १४७३, गौतम, आदित्य, एनएल ९७१, विजय, धौलागिरी, गौरा लगायत

स्रोत: राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र, रूपन्देही

तस्वीरहरु:  दीपक ज्ञवाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>