अन्तर्वार्ता/विचारआइतबार, चैत्र ३०, २०७०
‘बिरुवा हुर्काउन रुख काट्न लागेका हौं’
पुराना रुख काट्ने कार्यक्रम किन ल्याउनु परेको हो ?
साझेदारी वनहरूमा वैज्ञानिक वन व्यवस्थापन गर्न यो कार्यक्रम ल्याइएको हो । सानो विरुवालाई हुर्कन प्रकाश र हावा चाहिन्छ भने ठूला रुख सामान्यतया ८० वर्षपछि बढ्दैनन् । त्यसैले अधिकतम प्रतिफल दिने बेलामै रुख काट्नु उपयुक्त हुन्छ । १९ वटा साझ्ेदारी वनमध्ये कपिलवस्तुबाट यो कार्यक्रम शुरु गरिएको छ ।
काटिएका पुराना रुख के गरिनेछ ?
कस्तो रुख काट्ने, कुन रुख काट्ने जस्ता विषय निर्देशिका अनुसार निर्धारण गरिन्छ । त्यसै अनुसार काटिएका रुखलाई न्यूनतम मूल्य तोकेर लिलाम बढाबढ गरी बिक्री गरिन्छ ।
काटिएका रुखको दुरुपयोग नहुने संयन्त्र बनाउन नपर्ला ?
काट्नु भन्दा पहिला नै कुन रुखको मूल्य कतिपर्छ, काटेर कहाँ संकलन गर्ने भन्ने निर्णय गरिन्छ । साझेदारी वनमा स्थानीय उपभोक्ता समूह, गाविस–जिविस र वन मन्त्रालय मातहतका कार्यालय पनि संलग्न हुन्छन् । अनुगमनका लागि क्षेत्रीय र जिल्ला वन कार्यालयहरू पनि छँदैछन् ।
रुख काटिएको ठाउँमा नयाँ विरुवा रोपिने ग्यारेण्टी कसरी गर्न सक्नु हुन्छ ?
नयाँ बिरुवा हुर्काउन नै रुख काट्न लागिएको हो । पुराना रुखबाट कति आम्दानी हुन्छ, त्यसले विरुवा लगाउन र हुर्काउन पुग्छ कि पुग्दैन भन्ने योजना शुरुमै बनाइन्छ । सहयोगका लागि जिल्ला वन कार्यालयले पनि बजेट छुट्याउछ ।
धेरै बिरोध भएमा यो योजनामा बिभाग अड्न सक्ला ?
यो अलिकति प्राविधिक विषय भएकाले नबुझ्दासम्म विरोध आउँछ । हामीले अहिले परिक्षणका रुपमा मात्रै यो कार्यक्रम ल्याएका छौं । परिक्षण सफल भएपछि विरोध नगरेर सबैले समर्थन गर्छन् जस्तो लाग्छ ।