टिप्पणीसोमबार, बैशाख १, २०७१
अधिकारले उन्नत हुँदै नेपाली
२०४६ अघि उच्च शिक्षाको कुनै कुनै कक्षामा एक जना पनि छात्रा हुँदैनथे । अहिले नेपालभरका सामुदायिक कलेजमा ५० प्रतिशत छात्रा छन् ।
कुनै–कुनै कलेजमा त ८० प्रतिशतसम्म छन् । यो राजनीतिक परिवर्तनले सामाजिक तहमा ल्याएको चेतना र परिवारभित्र उदारवाद प्रवेश गराएको गतिलो प्रमाण हो ।
२०४० सालतिर काठमाडौं, पोखरामा छोरीलाई डेरामा राखेर पढाउनु असम्भवप्राय थियो, अहिले वुहारीलाई पनि बढाउँछन् ।
विदेश जान लागेका छोरी–बुहारीलाई विदाई गर्न एअरपोर्टमै आईपुग्छन् । धार्मिक लगायतका कारणले धेरै देशमा यस्तो उदार परिवार भेट्न गाह्रो हुन्छ
।
पहिला गाउँघरतिर ‘टोपी नलगाउने मान्छे’ ले बोल्न हुदैन भनेर महिलाहरूलाई रोकिन्थ्यो । अंशबन्डा लगायतका घरायसी कुरामा पनि महिलालाई बोल्ने अधिकारबाट बन्चित गरिन्थ्यो ।
अहिले सरकारी, सामुदायिक सबै ठाउँमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व कानुनले नै अनिवार्य गरेको छ ।
मानवविकास सूचकांकमा माथि रहेका जिल्लाहरुमा जातभातको कुरा हराउन लागिसकेको छ ।
परम्परावादी बाहुन, क्षेत्रीहरूले पनि जडसूत्रवादी सोच फालिसकेको प्रतीत हुन्छ । यसलाई ठूलै परिवर्तन मान्नुपर्छ
।
पंचायतकालमा बाग्लुङ, सुर्खेतमै पनि सडक पुगेको थिएन । अहिले ३९१५ गाविसमध्ये करिब ३५०० गाविसमा पुगिसकेको छ ।
२०४६ अघि पनि काठमाडौंको करिब आधा जनसंख्या मध्यम वर्ग भईसकेको थियो तर उनीहरु ‘शो’ गर्दैनथे । २०३४ सालमा काठमाडौंमा डेरा गर्दा घरबेटी र मेरो रेडियो उस्तै थियो ।
फरक देखिने विकल्प नपाएका काठमाडौंका मध्यम वर्ग बजारमा मोटरसाईकल, फ्रिज भएपनि किन्दैनथे । २०४६ को परिवर्तनले विकल्पहरुसंगै त्यसलाई प्रयोग गर्ने आँट दियो ।
मान्छेहरुले खुलेर सम्पत्ति देखाउन थाले । अहिले विद्युत पुगेको ठाउँमा फ्रिज नभएको घर कमै भेटिन्छ । लोकतन्त्रमा आफ्नो सम्पत्तीमा कसैको आँखा नलाग्ने भएकोले मानिसहरुले ‘शो’ गदै उपभोग गर्न थालेका हुन् ।
सेवा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । सामान ढुवानी गर्न सजिलो भएपछि स्वास्थ्य चौकीहरू पक्की भएका छन्, एक्सरे मेशीन पुगेका छन् । विस्तारै गाउँ र शहरबीचको अन्तर कम हुदैछ ।
समुदायले रेडियो, इलाइब्रेरी चलाएका छन् । कृषि र घरायसी कुरामा पनि धमाधम प्रविधि प्रयोग हुन थालेको छ । तावाले काम चलिरहेको ठाउँमा माइक्रोओभन चलाउँछन् ।
धान काट्न हार्भेस्टरको प्रयोग हुन थाल्यो । पर्याप्त बिजुली भए अझै यान्त्रीकरण बढ्ने थियो । सार्की, कामी, वाहुन सबैले आ–आफ्नो काममा यान्त्रीकरण गर्थे ।
पंचायतकालमा बिजुली पुगेपनि सबैले जोड्दैनथे, टेलिफोन लाइनका लागि दर्खास्त हाल्दैनथे । अहिले यी नभई नहुने चिज भएका छन् ।
२०४६ अघि पनि भाषाहरु थिए, तर कति भाषा बोलिन्छ, थाहा हुँदैनथ्यो । पृथ्वीनारायण शाहको ‘चार वर्ण छत्तीस जात’ भन्ने भनाई बाहेक कति थरीका नेपाली छन्, थाहा थिएन ।
०४६ पछि सरकार आफै उत्तरदायी भएर यति छन् भन्ने तथ्यांक निकाल्न थाल्यो र आफ्नो मातृभाषा बोल्दा गर्व गर्ने अवस्था आयो ।
म अहिले खरर्र भन्न सक्छु– नेपालमा १२६ भाषा बोलिन्छन् ।
अहिले मान्छेहरु स्वेच्छाले जातीय पहिरन लगाएर हिंडेको देखिन्छ । समग्रमा भन्दा नेपालीहरूले आफ्नो परम्परा, संस्कृतिमा गर्व गर्ने भए ।
यो अवस्था राजनीतिक परिवर्तनबाट आएको हो । पंचायतले कर गर्दा पनि सबैले दौरा सुरुवाल लगाएन्, तर अहिले स्वस्फुर्त रुपमा लगाएर हिंड्छन् ।
पंचायतकालमा अधिकार वा पहिचान माग्न पाइदैनथ्यो । राष्ट्रिय पंचायतमा अहिले संसदमा जस्तो हिन्दी वा अरु भाषा बोल्न पाइदैनथ्यो ।
तर, मान्छेको जातीय, भाषिक, क्षेत्रीय, लैंगिक आदि पहिचान गुम्सिनु हुदैन, देखिनुपर्छ । पहिचान देखिंदा नै राष्ट्रप्रतिको माया बढ्छ र उन्नत हुन्छ ।
अहिले यही राजनीतिक चेतनाबाट सबै दल समावेशीपन हुनुपर्छ भनेर लागेका छन् ।
खनाल पूर्व अर्थसचिव हुन् ।