अर्थ/बजारसोमबार, बैशाख १, २०७१
किनमेल: युगै फेरियो
के किन्ने ? मोटरसाइकल, गाडी वा घर ? अब पैसाको जोहो गर्न गाह्रो छैन । ब्याङ्क तथा वित्तीय संस्थाको संख्या र तीसम्मको आम मानिसको पहुँच बढेपछि किस्तामा रकम तिर्ने गरी सबै वस्तु र सेवा उपलब्ध हुन थालेको छ ।
ऋण लिएर काम चलाउने र आयबाट क्रमशः तिर्दै जाने क्रेडिट कल्चर नेपालको शहरी क्षेत्रमा सामान्य कुरा हुन थालिसकेको छ ।
अध्येता डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, “पहिलाको नेपाली समाजमा ऋणी हुनु अभिशाप थियो, अब ऋण लिएर शानको जिन्दगी बिताउनु पनि गर्वको कुरा बनिसकेको छ ।”
राजधानी बस्ने रसुवाका योगेन्द्रराज न्यौपानेलाई मोटरसाइकल किन्ने जोहो ब्याङ्कले गरिदियो । किस्ताको वाईक चढिरहेका उनी जस्ता थुप्रैको ‘मोबिलिटी’ लाई कर्जा संस्कृतिले बढाइदिएको छ ।
यस्तै कर्जाबाट बालाजुमा घर बनाएका राजेन्द्र आचार्य ब्याङ्किङ प्रणाली मध्यम वर्गको सपना पूरा गर्ने माध्यम बनेको बताउँछन् । यो बुझेकाहरुले उपभोग्य वस्तु खरीदमा पनि कर्जा प्रयोग गरिरहेका छन् ।
ऋणलाई दशा मान्ने सामाजिक मनोविज्ञान अब ऋणबाटै व्यवसाय विस्तार गर्न र दैनिक जीवनमा सुविस्ता थप्न तल्लीन छ । ब्याङ्कर पर्शुराम कुँवर क्षेत्री नेपाली ब्याङ्कहरूले सन् २००० पछि धमाधम उपभोक्ता कर्जा विस्तार गरेको बताउँछन् ।
उनका अनुसार, गाडी किन्न र घर बनाउन ‘हायर पर्चेज’ शीर्षक अन्तर्गत ऋण प्रवाह गरेका ब्याङ्कहरू अहिले उपभोक्ताका अन्य आवश्यकता पूरा गर्न अग्रसर छन् ।
चालु आवको पहिलो सात महीनामा ब्याङ्क तथा वित्तीय संस्थाहरूले करीब ४५ अर्ब रुपैयाँ उपभोग्य कर्जा प्रवाह गरेको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ । ब्याङ्कर कुँवर क्षेत्री भन्छन्, “ब्याङ्कहरू आफैं ऋणी खोज्दै घरघर जानुपर्ने अवस्था आउँदैछ ।”
अब त्यस्ता शहरिया नेपाली कमै बाँकी छन्, जसको वालेटमा डेबिट कार्ड (एटीएम) नभएको होस् । सरसामान किन्दाको भुक्तानीमा होस् वा रकमको लेनदेन, एटीएमबाट रकम निकालेर तिर्ने चलन शहरिया नेपालीको जीवनशैली बनेको छ ।
राष्ट्र ब्याङ्कका अनुसार, गत पुससम्ममा डेबिट कार्ड चलाउने नेपालीको संख्या ३० लाख ७५ हजार पुगेको छ ।
वाणिज्य, विकास ब्याङ्क र वित्त कम्पनीहरूले ग्राहकलाई निःशुल्क डेबिट कार्ड दिन थालेका छन् । कार्डको चलनले भुक्तानीमा चेक प्रयोग घटाएको छ ।
वाणिज्य ब्याङ्कहरूले मात्र जारी गर्ने क्रेडिट कार्डको प्रयोग पनि बढिरहेको छ । गत पुससम्ममा विभिन्न ब्याङ्कबाट क्रेडिट कार्ड लिनेको संख्या ५४ हजार ६४ पुगेको छ ।
आधुनिक हाट सुपरमार्केट
चार दशकअघि काठमाडौंको विशाल बजारबाट शुरू भएको सुपरमार्केट संस्कृति अहिले मुलुकका सबै प्रमुख शहरमा पुगेको छ । यसबाट पुराना हाटबजारहरू हराउँदै गएका छन् । शहर र नगरोन्मुख ठाउँहरूमा डिपार्टमेन्टल स्टोर, मल वा सुपरमार्केट संस्कृति बढ्दो छ ।
काठमाडौं उपत्यकाभित्र मात्र डेढ दर्जनभन्दा बढी ठूला मल वा सुपरमार्केट सञ्चालनमा छन् । साना र मध्यमस्तरका स्टोरहरू टोलैपिच्छे छन् ।
यस्ता किनमेल केन्द्रहरू समय व्यवस्थापन, सुपथ मूल्य र एकै ठाउँमा सुनदेखि नुनसम्मका गुणस्तरीय सामानका लागि लोकप्रिय भइरहेका छन् । रेमिट्यान्स र आन्तरिक आर्थिक क्रियाकलापको वृद्धिबाट सर्वसाधारणको हातमा रकम पर्न थालेपछि सुपरमार्केट, मल वा स्टोरहरू बढेको कुरामा शंका छैन ।
डा. श्रेष्ठ पहिले गाउँले किनमेलमा पर्ने नुन, मट्टीतेल, मरमसला, लुगा र शहरी किनमेलका खान्की र लत्ताकपडाको सूचीमा अब सयौं थरी सामान परिसकेको बताउँछन् ।
‘आवश्यकता’ ले भन्दा ‘सोख र रहर’ ले किनमेल गर्नेको संख्या बढ्दो छ । यो सब आय वृद्धिका कारण भएको बताउने समाजशास्त्री डिल्लीराम दाहाल घरायसी सरसामान किन्न दशैंतिहार जस्ता चाड पर्खने चलन अब इतिहास बनेको बताउँछन् ।
पाटन क्याम्पसका अर्थशास्त्र विभाग प्रमुख डा. गोविन्द नेपाल पछिल्लो दशकमा नेपालीहरूको उपभोग स्वभावमा अभूतपूर्व परिवर्तन आएको बताउँछन् । उनका अनुसार, पछिका लागि बचतभन्दा उपभोग्य वस्तुको किनमेल गरिहाल्ने प्रवृत्ति बढेको छ । गाउँघरमा समेत वस्तु र सेवाको उपभोग बढेको उनको ठम्याइ छ ।
यसैगरी, साहित्यकार कमलमणि दीक्षित मरमसलादेखि लत्ताकपडासम्म र खाद्यान्नदेखि मट्टीतेलसम्म पाईने ठाउँ भनेर बुझ्निे बजारको परिभाषा नै फेरिएको बताउँछन् । “अहिले त क्रेता र बिक्रेताको भेट नभई पनि इन्टरनेटबाट किनमेल हुन थालेको छ”, दीक्षित भन्छन् ।
मध्यमवर्ग जिन्दावाद
कुल नेपाली जनसंख्याको चौथाइ परिवार आय र सम्पत्तिका हिसाबले मध्यमवर्गमा उक्लिएको अनुमान छ ।
सन् २०१० मै नेपालको २३.४ प्रतिशत जनसंख्याले दैनिक १५० देखि १५०० सम्म आम्दानी गर्ने गरेको एशियाली विकास ब्याङ्कको प्रतिवेदन बताउँछ । कृषिमा आधारित अर्थतन्त्रमा क्रमिक परिवर्तन हुँदा मध्यमवर्गको उदय भयो ।
कृषिमा निर्भर कुल गार्हस्थ अहिले करीब ३५ प्रतिशतमा ओर्लिइसकेको छ भने सेवा क्षेत्रको हिस्सा आधाभन्दा बढी पुगेको छ । यसबाट उपभोग संस्कृति आएको डा. नेपालको बुझइ छ ।
अर्थतन्त्रमा सेवा क्षेत्रको भूमिका बढ्नु भनेको मानिसको आयस्रोतको माध्यम बढ्नु हो । होटल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा, ब्याङ्क तथा बीमा, संघ–संस्था, सफ्टवेयर कम्पनी आदिको वृद्धि र रेमिट्यान्सका कारण नेपालीको आयस्रोतको दायरा फराकिलो भएको छ ।
सेवामूलक क्षेत्रमा बढी आम्दानी हुँदा खर्च गर्ने प्रवृत्तिमा नसोचिएको परिवर्तन आएको छ । यसरी बढेको उपभोगसँगै उत्पादन बढाउन रोजगारी र आर्थिक क्रियाकलाप विस्तार हुँदा अर्थतन्त्रको वृद्धिमा सहयोग पुग्छ ।
खर्चयोग्य आयमा भएको सुधार, रेमिट्यान्स तथा देशभित्रै बढेको आर्थिक गतिविधिबाट कमाएका समूहका कारण विलासी वस्तुको पनि आयात बढेको छ । नेपाल राष्ट्र ब्याङ्कका अनुसार, चालु आवको पहिलो ६ महीनामा १२ अर्ब १५ करोड रुपैयाँको सुन र रु.५ अर्ब २३ करोडको चाँदी आयात भएको छ । करीब रु.१ अर्बको हीरा र बहुमूल्य पत्थर पनि भन्सारका नाकाबाट आयात भएको छ ।
२०६८/६९ मा रु.३० अर्ब ४८ करोडको सुन र बहुमूल्य धातु आयात भएकोमा त्यसपछिको आवमा यो रकम रु.३३ अर्ब ८४ करोड पुग्यो ।
महँगा सवारी साधनको आयात पनि उत्तिकै बढिरहेको छ । चालु आवको पहिलो ६ महीनामा रु.१६ अर्ब ८८ करोड बराबरको गाडी र पार्टपुर्जा आयात भएको छ ।
यसैगरी, चालु आवको पहिलो ६ महीनामा रु.१ अर्ब १२ करोडभन्दा बढीको सौन्दर्य प्रसाधन भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको भन्दा २२ प्रतिशत बढी हो ।
आलु आवको पहिलो ६ महीनामा रु.५८ करोड ७० लाखको क्यामेरा, रु.३० करोडको खेलौना, रु.६ अर्बको मोबाइल, रु.२१ करोड १७ लाखको घडी र रु.२ अर्ब ६५ करोडको टेलिभिजन आयात भएको छ ।
कतिसम्म भने, केही वर्षअघिसम्म विरलै नाम सुनिने डाइपर, टिस्यु पेपर, न्यापकिन र ट्वाइलेट पेपर जस्ता सामानको आयात पनि बढेको छ ।
बालबालिकाको स्याहारमा टालोको सट्टा डाइपर र व्यक्तिगत सरसफाइमा रुमालको साटो टिस्यु पेपरको प्रयोग बढ्दो छ । भर्खरै पिर्का छोडेका नेपालीहरूको डाइनिङ टेबुलमा न्यापकिन स्थापित भइसकेको छ । यो सब मध्यम वर्गको वृद्धिबाट भएको हो ।
फेरियो मनोरञ्जन
नेपाली गाउँले मनोरञ्जनको एउटा वान्कीको रूपमा रहेको दोहोरी पछिल्लो दशकमा व्यवसायीकरण भएर शहरका होटल–रेस्टुरेन्टहरूसम्म आइपुगे पनि डबली, रोधी, बालुन, भजन, देउडा जस्ता परम्परागत मनोरञ्जनका तरिकाहरू फेरिएको छ ।
चलचित्र निर्देशक यादव खरेल मनोरञ्जनका स्रोत इन्टरनेट र अरू विद्युतीय माध्यम बन्न पुगेको बताउँछन् । मनोरञ्जनमा विश्वव्यापीकरणको प्रभाव ह्वात्तै बढेको बताउँदै खरेल भन्छन्, “नेपालीहरूको मनोरञ्जनको तरिकामा बहुआयामिक परिवर्तन आएको छ ।”
राणाकालको उत्तराद्र्धतिर भित्रिएको रेडियो र सिनेमा २००७ पछि आम नेपालीसम्म पुग्न थालेको थियो । दरबारमा सीमित चलचित्र प्रदर्शनी वा नाटकहरू प्रजातन्त्र स्थापनापछि क्रमशः विस्तार भएको खरेल बताउँछन् ।
जनसेवा लगायतका हल खुलेपछि काठमाडौंका सर्वसाधारणले सिनेमा हेर्न पाएका थिए । २०३० को दशकबाट डिस एन्टेना राखेर भारतीय टेलिभिजन हेरेका काठमाडौंवासीले २०४२ सालपछि आफ्नै नेपाल टेलिभिजन हेर्न थाले ।
२०५० को दशकमा इन्टरनेट भित्रिएपछि नेपालीको मनोरञ्जनमा नसोचेको ‘सिफ्ट’ आयो । अहिले कुल जनसंख्याको ३०.७० प्रतिशतको पहुँचमा इन्टरनेट पुगेको छ भने ३७ प्रतिशत नेपालीको घरमा टेलिभिजन छ ।
एउटै मात्र प्रेक्षागृह भएका सिनेमा हलहरू एकै समयमा चार–पाँच वटा फिल्म हेर्न सकिने मल्टिप्लेक्समा रूपान्तरण भइरहेका छन् । दूरदराजका नेपाली बजारहरूमा समेत बलिउड र हलिउडका फिल्महरू तात्तातै पुग्न थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
