खेलकुदसोमबार, बैशाख १, २०७१
२०७० ‘नेपाली क्रिकेट बर्ष’
दीपेन्द्र सापकोटा
खेलकुद खासै प्राथमिकतामा नपरेको देशमा क्रिकेटको सफलताले गर्दा राज्यले पनि यसतर्फ चासो देखाएको छ भने नेपाली क्रिकेटरहरु मिडियामा छाएका छन् ।
बिश्वकप क्रिकेट लिग डिभिजन– ३ को उपाधि
२०७० को शुरुवातमै नेपाली क्रिकेट टिमले बर्मुडामा भएको प्रतियोगितामा समूह चरणमा २ खेलमा युएसए र युगाण्डास‘ग लगातार २ खेल हारेपछि निराश भएका क्रिकेटप्रेमीहरुलाई नेपाली टोलीले समूहका अन्य टोलीहरु बर्मुडा, ओमान र इटालीलाई हराएर फाइनल पुगेर हौसला दियो । समूह चरणमा पाएको हारको बदला लिंदै नेपाली क्रिकेट टोलीले फाइनलमा युगाण्डालाई ५ विकेटले हराउन सफल भयो ।
पहिलोपटक टि–२० बिश्वकपमा छनोट
स्रोत–साधनका र उचित व्यवस्थापनको समस्याबीच सन् २०१३ को नोभेम्बरमा युएइमा भएको टि–२० छनोट खेलमा नेपाली क्रिकेट टोलीले पाएको सफलता अपेक्षाभन्दा ‘धेरै’ थियो ।
युएईमा भएको खेलमा समू्ह चरणमा स्कटल्याण्ड र अफगानिस्तानस‘ग पराजित भए पनि डेनमार्क, केन्या, पपुवा न्यूगिनी, बर्मुडालाई हराएर दोस्रो चरणमा पुगेको नेपाल निर्णायक प्ले–अपमा हङ्खकङ्गलाई ५ विकेटको पराजय चखाउ‘दै पहिलोपटक विश्वकपमा सहभागी हुन अवसर पायो ।
सेमीफाइनलमा अफगानिस्तानस‘ग हारेपनि युएईलाई ५ विकेटले हराउ‘दै तेस्रो स्थान प्राप्त गरेको टोली विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाउँदै घर फर्केको थियो ।
एकदिवशीय विश्वकपको अन्तिम छनौट खेलको अनुभव
नेपालले डिभिजन–३ जितेपछि एकदिवशीय विश्वकपमा छनोट हुन्छ भन्ने खेलप्रेमीको आशाविपरित नेपालले न्युजिल्याण्डमा अन्तिम प्ले–अप बाहेक सबै खेलमा हार बेहो¥यो । टिमका महत्वपूर्ण खेलाडीहरु घाइते भएकाले पनि नेपाल फर्ममा देखिएन ।
नेपालले ‘वान डे नेशन’को मान्यता पाउने अवसर गुमायो । नवौं स्थानमा चित्त बुझाउ‘दै घर फर्केको नेपाली टोलीले वन डे बिश्वकपको अन्तिम छनौट खेल्न पाउँदा अनुभव भने बटुल्यो ।
टि–२० बिश्वकपमा उत्कृष्ट प्रदर्शन
बंगलादेशमा भएको टि–२० बिश्वकप क्रिकेटमा नेपाली टोलीको सहभागिता सबै नेपालीका लागि गर्वको विषय बन्यो ।
यसैखेलमा नेपाली कप्तान पारस खड्काले विश्वकपको ट्रफी छुँदै तस्वीर खिचाउने अवसर पाए भने विश्वभरका मिडियाहरुमा उनको चर्चा भयो ।
टि–२० बिश्वकप अघि भएका दुइवटा अभ्यास खेलमा आयरल्याण्ड र युएईस‘ग पराजित भएको नेपाली टोलीका कप्तान पारस खड्काले त्यसबेला भनेका थिए, “अभ्यास खेलका लागि हामीले नयॉ प्रयोग गरेका छौं, हारले हाम्रा नयॉ कमजोरी पत्ता लाग्यो ।”
त्यसपछि टि–२० विश्वकपको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनको भारी अन्तरले हरायो । दोस्रो खेलमा टेष्ट राष्ट्र बंगलादेशस‘ग हारे पनि सम्मानजनक १२६ रन बनाउन नेपाली खेलाडीहरु सफल भएका थिए ।
सिनियर क्रिकेटमा अफगानिस्तानलाई कहिल्यै हराउन नसकेको नेपालले विश्वकपमा ९ रनले हराएर वाहवाही पायो ।
नेपाली टोलीले एउटै समूहमा रहेको बंगलादेश बराबर ४ अंक प्राप्त गरे पनि नेट रन रेटका आधारमा दोस्रो चरणमा उक्लिन पाएन । तर पनि टि–२० विश्वकपमा नेपालीको सहभागिता र शानदार प्रदर्शन गौरवको विषय बन्न पुग्यो ।
नेपाली क्रिकेट कन्ट्रोभर्सी २०७०
नेपालमा क्रिकेट खेलाडी र पदाधिकारीबीचको विवाद नयाँ होइन । चार बर्ष अघिदेखि नै नेपाल क्रिकेट संघ र खेलाडीहरुबीच विवाद हुँदै आए पनि क्रिकेट त्यती लोकप्रिय नहुँदा त्यसले ठूलो चर्चा पाएको थिएन । बंगलादेशमा पाएको ऐतिहासिक सफलतापछि विमानस्थलमै कप्तान पारस खड्काले भने, “अब क्यान सच्चिनुपर्छ पहिलेको तालले नेपाली क्रिकेट अघि बढ्दैन ।” खुशियालीका बेला उनले दिएको यो अभिव्यक्तिले सबैको ध्यान तान्यो ।
२६ चैतमा नेपाली क्रिकेट टोलीका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै क्यान विरुद्घ असन्तुष्टि जनाउँदै खेल नै बहिस्कार गर्ने घोषणा गरे । आफ्नो पेशागत धर्म बिर्सिएर उनीहरुले राष्ट्रिय प्रतियोगिता त बहिस्कार गरे नै माग पूरा नभए कुनै पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल बहिष्कार गर्ने निर्णय गरे । खेलाडीहरुको यो निर्णयले क्यानमाथि अख्तियारको ऑखा प¥यो भने सरकारको ध्यान पनि त्यसतर्फ गएको छ ।
आउँदा दिनहरुमा क्यान र खेलाडी अझै व्यवसायिक हुनु जरुरी छ ।