रमझमशनिबार, भाद्र १६, २०६९
गुरुकुलका भोला बलिउडमा
फिल्ममा रणविरको कुरा भोलाले मात्र बुझछन् भने तन्नेरीदेखि वृद्धावस्थासम्मको भूमिकामा उनी देखिनेछन् । फिल्मका चार मुख्य पात्र मध्येका एक भोलाले रणविरको सांकेतिक भाषा अनुवाद गर्ने, प्रेम पत्र लेखिदिनेदेखि प्रहरीले पक्राउ गर्दा छुटाउन जानेसम्मको महत्वपूर्ण भूमिका गरेका छन् । फिल्मको अर्को मुख्य कलाकारमा प्रियङ्का चोपडा, इलियाना डिक्रुज छिन् ।
गुरुकुलमा भोलाको अभिनय हेरेका फिल्म निर्देशक प्रशान्त रसाइलीले उनको तस्बीर बर्फी का निर्देशक वासुसम्म पुरयाएका थिए । त्यसपछि अडिसनका लागि कोलकाता र अनुबन्धका लागि मुम्बई पुगेका भोला अहिले दर्शकको प्रतिक्रियाको पर्खाइमा छन् । यति ठूलो ब्रेकले उनको फिल्मी यात्रामा नसोचेको गति दिनसक्छ । आफ्नो अभिनय क्षमतामा उनलाई कुनै शंका छैन ।
बर्फी को छायाङ्कनका क्रममा उनले चर्चित कलाकारसँग रमाइलो अनुभव सँगालेका छन् । एउटा दृश्यमा प्रियङ्का चोपडालाई ‘तिम्रो कपाल त घोडाको पुच्छर जस्तो छ’ भन्नुपर्नेमा बिर्सेर गाडीको पुच्छर भनेको उनी सम्झ्न्छन् । अर्की नायिका इलियानासँग रणविर साइकलमा घुमिरहेको बेला अर्कोतिर रिक्सा चलाइरहेका भोलाराजले देखेको दृश्य छायाङ्कन गर्दा ओरालोमा रिक्सा अनियन्त्रित भएर तीन पटक लडेको उनले बताए । फिल्म निर्माणका क्रममा नायक रणविरसँग राम्रो मित्रता गाँसेका भोलालाई उनले बलिउडका अन्य फिल्मका लागि कुरा गरिदिने वचन समेत दिएका छन् । भोला भन्छन्, “बलिउडकै कतिपय कलाकारहरूलाई रणविरजस्तो स्टारको नजिक हुन वर्षौं लाग्ने रहेछ तर, मलाई यो अवसर बर्फी ले दियो ।”
हेटौंडाका भोलाराजले ७ कक्षामै हुँदा साथीसँग मिलेर नव जीवनज्योति क्लब नै बनाएर नाटक गर्न थालेका थिए । २०५० सालमा भविष्य खोज्दै राजधानी छिरेका उनले गुरुकुलका डेढ दर्जन नाटकमा उम्दा अभिनय गरे । यसबीच, चलचित्र सानो संसार मा सानो भूमिका पनि खेले । भोलाको अभिनयको मर्डर, मेट्रो इन लाइफ, काइटस जस्ता फिल्म बनाउने निर्देशक अनुराग वासु समेतले प्रशंसा गरेका छन् । दुई महीनाअघि फिल्मको ‘प्रोमो लञ्च’का लागि मुम्बई पुगेका भोलालाई प्रिमियरको लागि समेत बोलावट आइसकेको छ । बलिउडमा भोलाराजको सिक्का जम्छ या जम्दैन भन्ने कुरा बर्फी को प्रदर्शनपछि नै थाहा हुनेछ । तर, नेपाली रङ्गमञ्चबाट बलिउड यात्रा भने आफैंमा एउटा फड्को हो ।
-अनुशील
हेर्नुस् बर्फिको गीत-प्रोमो:
http://youtu.be/qsmgoIzEfK4