व्यक्तित्वमंगलबार, बैशाख २, २०७१

सदाबहार गायनका ६० वर्ष

हिमालखबर

गोरेटो त्यो गाउँको लौन…,
पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जून…,
तारा मात्र हैन तिमीलाई…,
देउरालीमा बतास चल्यो…,
तोरी फुल्यो…,
गुलाबी घुम्टो…,
हाँस्ने रहरहरू…,
टाढा भै गयौ फेरी…,
यो नेपाली शिर उचाली…,
यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो…

गायनको ६० वर्षमा प्रेमध्वज प्रधान (७७) का यस्ता सदाबहार गीतको फेहरिस्त लामो छ । उनका गीतहरू नेपाली जनमनमा बसेका छन् । सडकमा हिंड्दा कहिलेकाहीं उनलाई फ्यानहरूले ‘घुम्तीमा नआऊ है…’ भन्दै स्वागत–अभिवादन गर्छन् ।
२००९ सालमा संगीत गुरु भैरवबहादुर थापाको शब्द–संगीतको ‘अँधेरी रात…’ गीतबाट रेडियो नेपालमा स्वर परीक्षा दिएर क श्रेणीमा उत्तीर्ण हुँदा प्रेमध्वज १७ वर्षका थिए । उनलाई स्थापित गर्ने गीत भने भूपि शेरचनको रचना र नातिकाजीको संगीत रहेको राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली…’ बन्यो  । त्यसपछि ‘गोरेटो त्यो गाउँको…, घुम्तीमा नआऊ है…’ लगायतका तीन दर्जन गाएपछि प्रेमध्वज रोमाण्टिक उँचाइमा पुगे ।

माइतीघर फिल्मको गीत गाउन भारतीय संगीतकार जयदेवले उनैलाई छानेपछि प्रेमध्वज प्लेब्याक सिङ्गरको रूपमा स्थापित भए । अनि आयो नमान लाज यसरी…, हाँस्ने रहरहरू…, टाढा भै गयौ फेरी… आदि सदाबहार फिल्मी गीतहरू । प्रेमध्वज कमैले रोमाण्टिक गीत गाएको समयमा प्रेमीहरूको आवाज बनेर उदाएका थिए । अहिले बुढेसकालमा पनि गीत–संगीतलाई साथी बनाएका उनी भन्छन् “संगीतले मनमा शान्ति मिलेको छ ।”

आधा शतकदेखि नेपाली रोमाण्टिक गीतमा राज गरेका प्रेमध्वज आफूलाई भने रोमाण्टिक मान्दैनन् । किरणदेवीसँग २०२८ सालमा उनको विवाह पनि मागी नै भयो । ६०० गीत गाएका उनका तीन वटा अल्बम निस्केका छन् ।
–अनुशील

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...