ब्लगमंगलबार, बैशाख २, २०७१

काठमाडौंमा गान्धीका चेला

शंकर तिवारी

गान्धीका प्रिय सचिव महादेव देसाइका छोरा नारायणभाइ देसाइ आएकाले चैत अन्तिम साता काठमाडौं गान्धीमय जस्तै बन्यो। संसारमै चिनिएका गान्धीको प्रभाव उनी जन्मेको भारतीय उपमहाद्वीप र दक्षिण एशियामा बढी हुने नै भयो।

दोस्रो संविधानसभा निर्वाचनपछि संविधान बन्ने आशा जागेको वेला नारायणभाइ देसाइलाई महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौं ल्याएको थियो।

उनका बुबा महादेव देसाइले गान्धीको विख्यात आत्मकथा ‘एन अटो बाइग्राफी अफ माई एक्सपेरिमेन्ट्स वीथ ट्रूथ’ लाई गुजरातीबाट अंगे्रजीमा अनुवाद गरेका थिए।

मानिसहरूलाई सदिऔंदेखि धर्मले जोडेकाले हाम्रो समाजलाई धर्मभीरु पनि भनिन्छ। श्रुति परम्पराबाट पुराण, कथा, उपकथा भन्ने हाम्रो सामाजिक परम्परा छ। एकाह, सप्ताह, दशाह अझै लगाइन्छन्।

तर, यस्तै समाज भएको भारतको गुजरातमा सन् २००२ मा हिन्दू र मुस्लिमबीच दंगा भड्किएपछि नारायणभाइ देसाइको मन दुख्यो र सृजनात्मक काम गरेर मनलाई शान्त पार्ने प्रयास गरे। उनको त्यो प्रयासलाई ‘बापुकथा’ भनिन्छ।

जसलाई नारायणभाइले ‘गान्धी कथावाचन’ का नाममा नेपाली श्रोताबीच पस्किए। गान्धीलाई नयाँ पुस्तामा पुर्याोउन गीत र भजन पनि लेखेका उनको नेपालमा यो पहिलो कथावाचन हो।

उनले अहिलेसम्म यस्ता ११६औं कथावाचन गरेका छन्। उनको भर्खरै निस्केको ‘बापु गीत’ नामको भजन संग्रहमा नेपालको सन्दर्भ रहेका पाँच वटा गीत पनि छन्।

गान्धीले आफू जन्मेको समाजलाई राम्ररी बुझेका थिए। भारतीय स्वतन्त्र संग्राम करीब दुई सय वर्षदेखि चले पनि गान्धीले १९१५ मा हस्तक्षेप गरेको साढे तीन दशकमै प्रत्येक वर्ग, तह र तप्कामा आन्दोलन पुग्यो र सफल भयो।

उनको नेतृत्वमा भारतले पाएको स्वतन्त्रताले विश्वका उत्पीडित र दबिएका जनतालाई अहिंसाको नयाँ बाटो देखायो।
तर, गान्धी जन्मजात सिद्ध–पुरुष थिएनन्। जीवनमा आइपरेका समस्यासँग जुध्दै उनले त्यो उचाइ पाएका थिए।

आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन उनका हतियार थिए। एशिया, युरोप र अफ्रिकाको संस्कार देखेका र भोगेका गान्धीको जीवनयात्रालाई काठमाडौंमा नारायणभाइले सहज रूपमा प्रस्तुत गरे।

सन् १९२४ मा जन्मेका नारायणभाइ २४ वर्ष गान्धीको सामीप्यतामा रहे। त्यो सामीप्यता र सान्निध्यता उनका लागि बच्चाले भोगेको बालापनको तिलस्मी कथा जस्तै थियो। त्यसैले उनी गान्धीलाई महात्माभन्दा बालसाथी मान्छन्।

गान्धीसँग पिचकारी समेत खेलेका उनले ‘बापुके गोदमे’ नामको पुस्तकमा गान्धीसँग विताएका वर्षहरूको लोमहर्षक वर्णन गरेका छन्। गान्धीले उनलाई ‘बाब्ला’ भनेर बोलाउने गरेकाले गान्धी वृत्तमा उनलाई अझै बाब्ला भनिन्छ

राजनेता अथवा महापुरुषको सन्देश अर्को पुस्तामा हस्तान्तरण नहुनुलाई पुरानो पुस्ताको कमजोरी मानिन्छ।

गान्धीसँग हुर्केको दुर्लभ पुस्ताका बाब्लाले कथा आयोजनाका वेला भनेका थिए, “बुद्धले पहिलो सन्देश दिंदा पाँच जना चेला थिए भने जिससले पहिलो सन्देश बाँड्दा ११ चेला थिए।

त्यसैले श्रोता कति हुन्छन् भन्दा कतिले जाग्रत भएर कथा सुन्छन् भन्ने प्रमुख हो।” कथा सुनाएपछि उनले सन्तुष्ट भएर भने, “नेपालीको मनमा गान्धीका प्रति यति धेरै श्रद्धा छ भन्ने थाहा थिएन।

मलाई नेपाल आउन ढिला गरेकोमा पछुताउ छ।” आफ्नो खर्चमा दूरदराजबाट काठमाडौं आएका श्रोताहरू पनि साक्षात् गान्धीले जसरी उनले आशीर्वचन दिएकोमा खुशी बने।

पहिलो दिन विद्यालय जाँदा त्यहाँको वातावरण मन नपरेको गुनासो गरेकाले गान्धीले महादेवलाई पत्र लेखेर त्यसपछि छोरालाई विद्यालय नपठाउन आग्रह गरेका थिए।

त्यसपछि उनले विद्यार्थीको रूपमा कहिल्यै विद्यालय टेकेनन्। उनीसँग औपचारिक शिक्षाको प्रमाणपत्र पनि छैन। तर उनी आज गान्धीले जन्मभूमि गुजरातमा खोलेको ‘गुजरात विद्यापीठ’ का कुलपति छन्।

उनी विद्यापीठको मुख्यालय अहमदावादमा नबसेर सुदूर गाउँ बिर्चीमा बस्छन्। उनले जीवनभरि आफैंले कातेको धागोबाट बनेको बस्त्र मात्रै लगाए।

नेपालीलाई उनको सुझाव थियो, “पश्चिमको अनुकरण गरेर भारत बर्बाद हुँदैछ, तपाईंहरूले नेपाललाई जोगाउनुहोला। देश जोगाउने एक मात्र माध्यम स्वावलम्बन नै हो।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...