रमझमबुधबार, बैशाख ३, २०७१
दुई चिल्ला पात– छिमे र तेन्जिङ
छिमे र तेन्जिङ दिदीबहिनीका कुचीले एउटा सुन्दर भविष्यको छनक दिएका छन्। त्यसो त गत वर्ष अमेरिकाको न्यूयोर्कमा पनि यी दिदीबहिनीको पेन्टिङले खुबै प्रशंसा पाएका थिए। छिमे भन्छिन्, “हामीले पाँच वर्षदेखि पेन्टिङमा स्याबासी पाइरहेका छौं।”
नेपालका विभिन्न सामूहिक प्रदर्शनीमा सहभागी भइसकेका छिमे र तेन्जिङ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ३० चैतमा आयोजना गरेको राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भए ।
रातो बंगला स्कूल र अन्य संघ–संस्थाबाट पुरस्कृत भैसकेका उनीहरू पाँच वर्षदेखि ललितपुरको कुपन्डोलस्थित काष्ठमण्डप आर्ट स्टुडियोका पनि विद्यार्थी हुन्।
“बिहानीले दिनको संकेत गर्छ भनिन्छ”, स्टुडियोकी कलाकार एरिना ताम्राकार भन्छिन्, “यही रुपमा अघि बढ्ने हो भने उनीहरू भोलि देशको अब्बल कलाकार हुन कुनै गाह्रो छैन।”
पढाइमा पनि उत्कृष्ट विद्यार्थीमा पर्छन् यी दिदीबहिनी। पोट्रेट चित्र उतार्न रुचाउने छिमे भविष्यमा कानून पढ्न चाहन्छिन् भने ल्यान्ड्स स्केपमा रुचि भएकी तेन्जिङ मेडिकल।
उनीहरू भविष्यमा वकील र डाक्टर भएर पेन्टिङलाई पनि निरन्तरता दिन चाहन्छन्। यी दिदीबहिनीलाई इन्जिनियर बाबु तेन्जी शेर्पा र मेडिकल डाक्टर आमा आङ छिरिङले नयाँ वर्षको उपहारस्वरुप बासबारीमा आर्ट ग्यालरी खोलिदिने भएका छन्।
ऋषिराम कट्टेल