ब्लगबिहीबार, बैशाख ४, २०७१
नव वर्ष वाचा
नेता–कार्यकर्ता गणले गर्ने विकासवाचा, उत्पादकहरूको गुणस्तरवाचा, बिक्रेताको सुपथ मूल्यवाचा, चिकित्सकहरूले गर्ने सेवावाचा, न्यायकर्मीको न्यायवाचा आदि बाह्रमासे कबुललाई घाममा सुकाइदिए फरक पर्दैन भन्ने कुरा जनजनले जानेकै छन्।
खेलाडीले अनाडीलाई र वाचालहरूले लाटाबुङ्गालाई वाचारूपी खोलमा पोक्याएर चिप्लेटी खेलाइदिने कर्म पनि सनातनदेखि चलिआएकै हो।
यो मामिलामा हामी सामान्यजनले पनि विद्यालयको पहिलो दिन ‘विद्यानाश’ बाट श्रीगणेश गरेर क्याम्पस छिचोल्नुअगावै तेत्तीस कोटि देवी–देउता भ्याइसकेका हुन्छौं। पाइला–पाइलामा फुस्स हुने वाचा गर्ने र सुन्नेहरूको कुनै कमी छैन, यो दुनियाँमा।
तीनैमध्येका एक भोर्लाङकोटे भीष्म उत्तानासनमा विचारशील छन्। सहकर्मी र परिचितहरूमाझ् भष्मासुरको दौंतरीमा दरिए पनि बा–आमाले प्रेमपूर्वक भीष्म भनेका उनले साथीभाइहरूलाई धुत्ने गरे पनि अरूबाट लुट्ने काम कहिल्यै गरेनन्।
त्यही कारण जोरीपारीका अगाडि आफ्नो उन्नतिको रफ्तार कछुवास्तरको भएको ठान्छन्, उनी। हरेक नयाँ वर्षमा यसो गर्छु र उसो गर्छु भन्ने प्रतिज्ञा गर्दा’नि भ्यागुतो भुईंका भुईं हुनुको विस्मात् बयान गरिसाध्य थिएन।
संविधान बन्ने साल भएकाले यसपालि अरू वेला जस्तो होइन। अझ् नेतादेखि विज्ञसम्म ‘नेपाल किन बनेन?’ भन्ने गम्भीर बहसमा लागेको र संविधान जारी भएको भोलिपल्टै आर्थिक क्रान्तिको दौड लगाउन हिनहिनाइरहेको वेला नयाँ नेपालमा पुरानै पाराले पिछडिनुपर्ने पिरलोले सन्तप्त भई एकहत्तर सालको बिहानीसँगै आफूलाई पूर्णतः बदल्ने प्रण गरे, भीष्मले। त्यसपछि मोबाइलमा सकम्पन सन्देश आएपछि उनी साविक अड्डातर्फ हान्निए।
“अफिसको पैसो कुम्ल्याएर डिस्को/क्यासिनो धाइन्न, घर फर्कंदा सुन्तलीको भट्टीतिर बाङ्गा खुट्टा’नि लाइन्न। अबदेखि सब बन्द साथी हो, धरोधर्म!”, भीष्मले प्रतिज्ञा सुनाए।
“त्यो त भोलिलाई हो! आजलाई इन्जोय गरम्”, मित्रमण्डलीले उनका कुरालाई छुसी माकुरा ठाने।
“न्यू इयर इभ सिभ सब मान्छे बिगार्ने मेलो हो। टन्न खाएर सन्न हुँदा नयाँ वर्ष लागेको पत्तो पाइन्न। अनि वर्षभरि उही पारा! चियापान बाहेक बाँकी सबमा ताल्चा ठोकियो। म भीष्मको यो प्रतिज्ञा भयो”, उनले कान्छी औंला टोकेर आकाशतिर थु..थु… गर्दै विश्वास दिलाउन खोजे।
“घरबार लथालिङ्ग पारेर अबदेखि किट्टी पार्टी जाइन्न, औंलो दिंदा डुँडुलो खिर्लिप्प पारिदिने लोग्नेमान्छेको जातसँग लङ्ग होस् कि सर्ट ड्राइभ, कतै घुम्न’नि गइन्न। सती सावित्रीको कसम लौ जा!”, भीष्म प्रतिज्ञाबाट प्रभावित हुँदै रसिका मैयाँ कराइन्।
“चर्को भाडा तिरेर मुगलाने साहूको घर ढुकुवा भई बसिन्न। भोलिदेखि घुँडा धसेर ब्याक पेपर सब कटाइन्छ। अर्थोक भन्दा बासी ठानौला, हिरण्यकश्यपुको कसम!”, अघिदेखि दोधारमा परेका द्वैतप्रसाद पनि हौसिए।
नयाँ वर्षदेखि सुकर्मलाई घिर्लिप्प अंकमाल गर्ने वाचासहित द्वैतप्रसादले प्रस्ताव राखे, “भोलिबाट हाम्रो जुनी झ्काससँग बदलिन लागेको खुशीमा अब हल्का रमझ्म गर्ने कि?”
त्यही वेला दूरका मित्र बर्कनदास दुर्घटनामा परी वैकुण्ठवास भएको अपुष्ट मोबाइल सन्देश आयो। अब त साथीको गममा एक–एक पेग लगाउनै पर्ने बाध्यता नै आइलाग्यो।
यसरी पहिलो पेग निथार्न नभ्याउँदै बर्कनदास सकुशल रहेको दोस्रो सन्देश प्राप्त भयो। टिकट काटिसके भन्ठानिएका मित्र सकुशल रहेको सघन खुशीमा दुई–दुई पेग नथप्ने कुरै भएन! साँझ् ढल्दै जाँदा लरबरिएको स्वरमा भीष्मले भने, “भोलिबाट सब चेन्ज, ककनीसम्म राइडमा जाने कि?”
“लास्ट टाइम है त!” रसिकाले लटि्ठंदै भनिन्।
“धरोधर्म लास्ट टाइम!” सामूहिक स्वर गुञ्जियो।