टिप्पणीशुक्रबार, बैशाख ५, २०७१
यस कारण परिवर्तन
२००७ सालताका नेपालको साक्षरता दर दुई प्रतिशत पनि थिएन। अहिले ५७.४ प्रतिशत महिला र ७५.१ प्रतिशत पुरुष साक्षर छन्। राणा र दरबार नजिकका बाहुनहरूमा सीमित शिक्षामा अहिले सबैको पहुँच छ। अहिले त वृद्धवृद्धा पनि पढ्न थालेका छन्। पढेका हुन् कि नपढेका, २०५० को दशकबाट विदेश जान थालेका नेपालीले लवाइ, खवाइ, बोलाइ र सोचाइमा अभूतपूर्व परिवर्तन ल्याएका छन्।
२०४६ सालको परिवर्तनले खुल्लापन ल्याएपछि नेपालीहरू विदेश जान र राजनीतिमा भाग लिन थाले। त्यसबाट समाजमा वास्तविक विकासको ‘डिसकोर्स’ शुरू भयो। मान्छेहरूले कसको अवस्था के छ भनेर प्रश्न गर्न थाले, छलफल शुरू भयो। विभिन्न जातजातिको धर्म, भाषा र संस्कृतिले पहिचान पायो।
एउटै पहिचान थोपरिएको नेपालमा २०४८ को जनगणनापछि मात्रै जातजातिको तथ्याङ्क सार्वजनिक हुन थालेको हो। अहिले त संघीयताको कुरा आइसक्यो। एफएम रेडियोहरूले स्थानीय भाषामा पनि कार्यक्रम चलाएका छन्। कति ठाउँमा प्राथमिक तहसम्म मातृभाषाको पढाइ हुन्छ।
धनी नेपाली
झ्ट्ट हेर्दा नेपाली गरीब देखिन्छन्। यति जग्गा–जमीन छ खान पुग्छ कि पुग्दैन भनेर हेरिन्छ, तर व्यवहारमा धेरै नेपालीसँग पैसा छ। पैसाले लुगाफाटा र खानपिनमा व्यापक बदलाव ल्याएको छ, तर योभन्दा महत्वपूर्ण कुरा सामाजिक–राजनीतिक परिवर्तनको हो।
किनभने, सामाजिक–राजनीतिक सोचबाट कस्तो खाने, लगाउने भन्ने निर्धारण हुन्छ। हिजो जनजातिहरू मात्र लाहुर जान्थे, आज सबै जान्छन्। विदेश जानेमा महिला पनि छन्। यसरी ‘एक्स्पोजर’ पाएका उनीहरूले पैसासँगै ज्ञान र अनुभव हासिल गरेका छन्, नयाँ–नयाँ प्रविधि, संस्कृति, रहनसहन जानेर आएका छन्। यसरी उनीहरू समाजको ‘सोसल क्यापिटल’ पनि भएका छन्।
२०६८ सालको जनगणना अनुसार, ६५ प्रतिशत नेपालीको हातमा मोबाइल र ३७ प्रतिशत परिवारसँग टेलिभिजन सेट छ। २०३५ सालतिर म पढ्न अमेरिका जाँदा नेपालका एकदमै थोरै घरमा मात्र टेलिफोन थिए। अहिले फोन अमेरिकाभन्दा नेपालमा सस्तो छ। एलोपेथिक औषधिको सहज पहुँचले नेपालीको औसत आयु बढेको छ। मातृ र बाल मृत्युदर पनि घटेको छ।
हिजो कृषिमा आधारित हुँदा संयुक्त परिवारमा फाइदा थियो। आज जागीर र अन्य पेशा गर्ने भएपछि गाउँमा समेत एकल परिवारको चलन आएको छ। हिजो कम्तीमा एउटा छोरो आमाबाबुसँग बस्नुपर्छ भन्ने थियो।
आज छोराछोरी विदेश गएर धेरै परिवारमा बूढाबूढी मात्र छन्। ‘इन्डिपेन्डेन्ट’ हुन उक्साएको पश्चिमा शिक्षाले व्यक्तिवादी सोच पनि बढाएको छ। शहरमा बाबुआमालाई पालेको परिवार कमै देखिन थालेको छ।
हिजो पहाडमा दाल खाने चलन कम थियो, मासु पनि ‘लक्जरी’ कुरा थियो। कसैले एउटा अण्डा खायो भने के–के न खायो भन्ने हुन्थ्यो। अहिले आलु जस्तो भएको छ– अण्डा। आम्दानी र ‘एक्स्पोजर’ का कारण यस्तो भएको हो। पहिला पूजाआजामा अलि अलि केरा लैजाने चलन थियो, अहिले अनेक फलफूल थपिएका छन्।
हामी झापामा धनी परिवारका भए पनि आफ्नै करेसामा पाक्ने मौसमी फलफूल मात्र खान पाउँथ्यौं, किनेर ल्याउने चलन थिएन। मासु खान साउने सङ्क्रान्ति र सेलका लागि माघे सङ्क्रान्ति पर्खनुपर्थ्यो। हाम्रा चाडबाड खानासँग मात्रै जोडिनुको कारण खान नपाएरै होला जस्तो लाग्छ।
अहिले गाडी पुगेको हैन, नपुगेको जिल्ला कुन हो भन्ने अवस्था छ। काठमाडौंका हरेक घरमा दुई–तीन वटा मोटरसाइकल छन्। काठमाडौंमा भएको व्यक्ति एकैदिनमा अमेरिकामा पुग्छ। देशभित्रै पनि विमानस्थल र पक्की सडक बढिरहेका छन्। हिजो खर्च गर्ने ठाउँ नै थिएन, समाजलाई देखाउन पुराण लगाउने चलन थियो।
अहिले केटाकेटी पनि रेस्टुरेन्ट जाउँ भन्छन्। पहिला १० जना मान्छेलाई खुवाउनु पर्दा पकाउनलाई बाहुनी बोलाइन्थ्यो। अहिले क्याटरिङ गरिन्छ।
चार वर्ष अगाडि कुल जनसंख्याको २३.४ प्रतिशत नेपाली मध्यमवर्गीय थिए। आज नेपालमा जुन गतिले जे–जति परिवर्तन भएको छ, यसको मुख्य कर्ता यही वर्ग हो।
(दाहाल समाजशास्त्री हुन्।)