ब्लगशनिबार, बैशाख ६, २०७१

भाषासँगै विलाएका वनस्पति

तीर्थबहादुर श्रेष्ठ

लुकुलिया ग्राटिसिमा (लुँ कली स्वाँ)। तस्वीर: ला दोर्ची शेर्पा

‘मन्त्र नभएको अक्षर हुँदैन, औषधि नभएको वनस्पति हुँदैन’ भन्ने यो उक्ति परापूर्वकालदेखि चलिआएको छ। औषधिका लागि मात्र होइन, पृथ्वीतलका सबै जीवात्माले खाने आहाराको आधार वनस्पति नै हो। बाघको आहारा पनि वस्तुतः घाँसै हो। बाघले शिकार गर्ने प्राणी प्रायः तृणहारी हुन्छन्। त्यसैले बाघ बचाउन घाँस र घाँसेमैदानलाई बचाउनुपर्छ।
वनस्पतिको हरियालीले सौर्य शक्ति ग्रहण गरेर खाद्यवस्तु बनाउँछ।

त्यसको क्रिया र प्रक्रियामा हावाबाट कार्वनडाइअक्साइड र जमीनबाट पानीको संश्लेषण हुन्छ। यस प्रक्रियामा उत्पादन हुने अक्सिजन हाम्रो प्राणवायु हो– आमाको गर्भदेखि अन्तिम श्वाससम्म नभई नहुने तत्व। त्यसैले, हाम्रो वेदोच्चारणमा शान्तिको लागि ‘वनस्पतयः शान्तिः’ भन्ने वाक्यांश पर्न गएको छ। वनस्पतिसँगको सहअस्तित्व नै जीवनको मूल कडी हो।

त्यस्तै महत्वलाई आत्मासँग गाँसेर राख्न हाम्रो वेदोच्चारणमा भन्ने गरिन्छ–
ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः, पृथिवी शान्तिरापः शान्तिः, शान्तिरोषधयः शान्तिः, वनस्पतयः शान्तिः, विश्वेदेवाः शान्तिः, ब्रह्मा शान्तिः शर्व शान्तिः शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि.. ॐ शान्तिः शान्तिः शान्तिः।

वनस्पतिको महिमा गाउन वा तिनको सही उपयोग गर्न तिनलाई सही रूपमा चिन्न सक्नुपर्छ। चिनेर मात्र पुग्दैन पहिचानको लागि नाम पनि दिन सक्नुपर्छ। सबै वनस्पति औषधि भनिए पनि मूर्छित लक्ष्मणलाई बिउँताउने बुटी पहिचान गर्न वैद्य सुषेनकै आवश्यकता पर्योल। बुटी नचिन्दा हनुमानले पर्वतै बोकेर ल्याउनु पर्योत।

वैद्य, आम्ची, झाँक्री, धामी, गुरुवा, फेदाङ्मा एवं सुँडिनीहरू आ–आफ्ना जडीबुटी चिन्दछन्र आफ्नै भाषा–संस्कृति अनुसार नाम पनि राख्दछन्। वनस्पति वा बुटीको नाम र काम आपसमा तादाम्य हुने उपाय त्यहाँ स्थापित भएको हुन्छ। तर, नयाँ नेपालको वर्तमान आवरणमा जनजातिका भाषा–संस्कृतिहरू लोप हुँदैछन्। परम्परा र परम्परागत ज्ञान लोप हुँदैछ।


अरुण्डिया ग्रामिनिफोलिया (स्वयम्भूको सुनाखरी)। तस्वीर: रिने द मिलभिल


भाषा–वनस्पति नाता
बूढा मरे पनि भाषा मर्दैन, अर्को पुस्तामा सर्छ भन्ने हाम्रो पुरानो उक्ति र मान्यता स्वयंमै मरिसकेको वा मरिरहेको अवस्था छ। नेपालका वनस्पतिको अध्ययन गर्ने सिलसिलामा काठमाडौंको नेवारी संस्कारबाट वनस्पति ज्ञान लोप भएको आभास मलाई त्यसवेला भयो जब म ब्रिटिश म्युजियममा फ्रान्सिस बच्चनान् ह्यामिल्टनको संकलन अध्ययन गर्दै थिएँ।

उनले सन् १८०२–१८०३ को अवधिमा काठमाडौंबाट संकलन गरेका बिरुवाका थुप्रै सुक्खा नमूनाहरू ‘हर्वेरियम’ का पानामा नेवारी नाममा राखेको देखें। कतिपय नेवारी नामलाई वैज्ञानिक नामकरणको आधार बनाएर ल्याटिनमा नाम राखिएको रहेछ।

१९६८ मा बेलायतबाट फर्केपछि वनस्पति सर्भेक्षणको दौरानमा ती बिरुवाहरू खोज्न थालें। मैले बिरुवा भेट्टाएँ पनि तर तिनको नाम हराइसकेको देखेर अफसोचमा परें। नेपाली लोक्ता बनाउने बिरुवालाई डाफ्ने भोलुवा भन्ने वैज्ञानिक नाम दिइएको छ।

त्यसभन्दा पहिले कसैले संकलन नगरेकोले वनस्पति विज्ञानको जगतमा त्यो बिरुवा नौलो ठहरिएको रहेछ। नेपालीले कागज बनाउँदै आएको हजारौं वर्ष भयो होला तर पश्चिमा विज्ञानलाई सो बिरुवाको जानकारी नाइँ।
त्यसैले, स्थानीय नेपाली नाम ‘भोलु स्वाँ’ लाई वैज्ञानिक मान्यता दिएर ‘डाफ्ने भोलुवा’ भन्ने प्रजातीय नाम स्थापित गराइयो।

काठमाडौंको कछाडका गाउँ–बस्तीमा पुगेर लोक्ता देखाउँदा पनि कसैले त्यसलाई भोलु स्वाँ भनेर चिनेनन्। ‘लुँ कली स्वाँ’ लाई पनि कसैले चिन्दैनन्। लुँ कली स्वाँ’ लाई वनस्पति विज्ञानमा ‘लुकुलिया ग्राटिसिमा’ भन्छन्। गोदावरी र शिवपुरी वनमा यो बिरुवा सजिलै भेटिन्छ, तर कसैले ‘लुँ कली’ भन्दैनन्।

हराएका नामहरूको लामो फेहरिस्त बन्ला। चाकुमरी स्वाँ, स्वपुवी स्वाँ, सिलुपाखा स्वाँ, वुँ स्वाँ पनि हराइसकेको छ। आफ्नो भाषामा नाम नभएको फूललाई छु स्वाँ (के फूल? के फूल?) भन्दा त्यसको नामै ‘छु स्वाँ’ रहेछ भनेर एउटा अर्किडलाई ‘अर्किस छु सुवा’ भन्ने वैज्ञानिक नाम दिन पुगेछन् ह्यामिल्टन साहेव।

सन् १८२५ मा डेभिड डनद्वारा लिखित ‘प्रोड्रोमस फ्लोरी नेपालेन्सिस’ नामक पुस्तकमा ५९५ नयाँ वनस्पति समेटिएका छन्। त्यसको अधिकांश श्रेय ह्यामिल्टनलाई जान्छ, जसले काठमाडौंमा बसेर बिरुवा संकलन र नामकरण गरे। तर, ती नामलाई कालले खाएछन्।

डाफ्ने भोलुवा (भोलु स्वाँ)। तस्वीर: ला दोर्ची शेर्पा

म सानो छँदा मेरा बुबा तुलसीकृत रामायण उद्धृत गर्दै ‘नामलाई कालले पनि खान सक्दैन’ भन्दै ‘राम्रो नाम राख बाबु’ भन्नुहुन्थ्यो। बिरुवामा भने यो लागू भएन, भाषा स्वयं मरेकोले। नेवारी मात्र होइन, धेरै जनजातिका भाषाहरू विलाउँदै छन्, ज्ञान हराउँदै छन्।

वनस्पतिका नाममा मरेका भाषा केलाउने समस्या आफ्नै ठाउँमा छ, नेपाल र विश्वबाटै लोप हुने वनस्पतिको पीडा अर्को ठाउँमा। १८०२–१८०३ ताकाको काठमाडौंमा स्वयम्भू डाँडा कस्तो थियो होला भन्ने अनुमान ह्यामिल्टनको खोजमा गर्न सकिन्छ। त्यहाँबाट उनले २७ वटा नयाँ बिरुवा विश्व वनस्पति वैभवमा थपे।

त्यसमा अति सुन्दर अर्किड अरुण्डिया ग्रामिनिफोलिया पनि पर्यो्। सुनाखरी परिवारको बिरुवा भए पनि यो जमीनमै उम्रन्छ र निगालो वा नर्कट जस्तो ठूल्ठूला प्याजी फूल फुल्छ। नेपालका बेंसीहरूमा यो बिरुवा अझै भेटिन्छ तर स्वयम्भूमा भेटिंदैन।

वन अतिक्रमण, डँढेलो, अतिचरिचरन, बाढी, पहिरो र मानव जनसंख्याको वृद्धिले सिर्जेका विभिन्न कारणबाट नेपालमा मात्र पाइने वनस्पति (फूल फुल्ने वा बीउ लाग्ने) हरूको संरक्षण स्थिति हामीलाई यकिन छैन। सर्पगन्धा, भ्याकुर, विषमा, पाँचऔंले, जटामसी, सतुवा, कुट्की, यार्चागुम्बु लगायतका जडीबुटीहरू संकटापन्न छन्।

हाम्रा हराएका चेतना, बिर्सिएका भाषा र लोपोन्मुख सम्पदा (प्राकृतिक एवं सांस्कृतिक) को पहिचान, संरक्षण र सम्वर्द्धन गर्न सकौं, भावी पुस्ताले तिनको अनुभव र उपभोग गर्ने अवस्था सिर्जना गर्न सकौं। नयाँ वर्ष २०७१ को शुभकामना!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...