खेलकुदसोमबार, बैशाख ८, २०७१
भरपर्दा स्ट्राइकर अनिल गुरुङ्ग
पोखरामा जन्मिएका २६ वर्षीय अनिल गुरुङ्ग नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्ट्राइकर हुन् । १० नम्बर जर्सीमा राष्ट्रिय टोलीबाट उत्रिने उनी अहिले मनाङ मर्स्याङ्दी क्लबबाट व्यवसायिक फूटबल खेल्छन् ।
राष्ट्रिय टीमबाट ७ गोल गरिसकेका अनिल सन् २००५ देखि टोलीमा नियमित सदस्य हुन् ।
उनी इंग्लिस क्लब चेल्सीका लागि ट्रायल दिने पहिलो नेपाली खेलाडी पनि हुन् । ट्रायलमा सफल नभए पनि उनी त्यसबेला मिडियामा छाएका थिए ।
सन् २००९ मा भारतीय क्लब सिलोङ्ग लाजोङ्गका लागि वार्षिक रु.६० लाखमा अनुबन्ध हुँदा उनले पाउने रकम नेपाली खेलाडीमध्ये सर्वाधिक थियो । उनले नेपालकै ब्रिगेड ब्वाइज, थ्रीस्टार र एनआरटीबाट समेत लिग खेलिसकेका छन् ।
यो वर्ष मनाङ मर्स्याङ्दी क्लबलाई लिग जिताउन उनले प्रेरणादायी प्रदर्शन गरे । उनकै अगुवाइमा मनाङले यो वर्ष पाँच वटा नकआउट उपाधिमाथि कब्जा जमायो ।
लिग विजेताको हैसियतमा मनाङले एएफसी प्रेसिडेन्ट कपमा यसै वर्ष खेल्दैछ । अनिलले गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्ध निर्णायक गोल गरेका थिए । त्यो गोल मद्दतले नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।
दीपेन्द्र सापकोटा, काठमाडौं