खेलकुदसोमबार, बैशाख ८, २०७१
वीरगञ्जले जित्यो एकदिवसीय क्रिकेट
साविकविजेता एपीएफलाई तीन विकेटले स्तब्ध पार्दै क्षेत्र नं. २ वीरगञ्जले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय क्रिकेटको उपाधिमाथि कब्जा जमाएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा ८ बैशाखमा भएको फाइनल खेलमा पहिले ब्याटिङ्ग गरेको सशस्त्र प्रहरीको एपीएफले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको लक्ष्य दियो ।
जवाफी ब्याटिङ्गमा उत्रिएको वीरगञ्जले ४८.५ ओभरमा ७ विकेटको क्षतिमा २१४ रन बनाउँदै लक्ष्य भेट्टायो । एपीएफका आकाश गुप्ताले ३७ बलमा ५० रनको पारी खेले ।
अविजित रहेका भेट्रान परेश लोहनीले ३२ रनको योगदान दिए । अविजित नै रहदै विशाल अधिकारीले २५ रन जोड्दा अर्का भेट्रान दीपेन्द्र चौधरीले २२ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय स्कोर बनाउन सकेनन् ।
बलिङ्गतर्फ एपीएफका भुवन कार्कीले ३, रितेश सिंह र भेट्रान संजम रेग्मीले समान २ विकेट लिए । राष्ट्रिय टीममा खेल्ने एपीएफका खेलाडी भने मैदानमा उत्रिएका थिएनन् ।
उपाधि विजेता वीरगञ्जका आरिफ सेखले ६९ बलमा ५० रन बनाए । समान ५० रन नै बनाएका अमित श्रेष्ठले १०३ बल खेले । अन्य ब्याट्सम्यानहरु सस्तैमा पबेलियन फर्किए ।
वीरगञ्जका कुमार थापाले ४ विकेट लिए भने रामनरेश गिरिले ३ विकेट चट्काए । आतिफ सेख र हसिम अन्सारीको नाममा १/१ विकेट रह्यो ।
प्रतियोगितामा ११ विकेट लिदै २६१ रन बनाएका वीरगञ्जका आतिफ सेख प्लेयर अफ दि टुर्नामेन्ट भए । १६ विकेट लिएका बिराटनगरका भेट्रान राजकुमार प्रधान उत्कृष्ट बलर चुनिए । २११ रन बनाएका विराटनगरकै पुष्प थापा उत्कृष्ट ब्याट्सम्यान बने ।