टिप्पणीमंगलबार, बैशाख ९, २०७१

कहाँको सुदूर!

कनकमणि दीक्षित

राजा वीरेन्द्रको यान्त्रिक, गैरलोकतान्त्रिक र विकासे सोच तथा दिग्गज भूगोलविद् र समाजशास्त्रीको सहभागितामा निर्माण भएको विकास क्षेत्रको अवधारणाको मुख्य कमजोरी थियो, ‘देखौटे संघीयता’। माथिबाट लादिएको यो संघीयताले जनसहभागिता, प्रतिनिधिमूलक शासन तथा आफ्नो लागि आयस्रोत जुटाउने सम्भावना थिएन। त्यसैले, यी संरचना आजसम्म खोक्रो रूपमा हामीसामु छन्।

उतिवेला अर्को भूल पनि भयो, काठमाडौंकेन्द्रित राज्यसत्ताले उपत्यका रहेको विकास क्षेत्रलाई ‘मध्यमाञ्चल’ बनायो भने अन्यलाई पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भन्यो। यो विभाजन उतिवेला पनि अस्वीकार्य थियो, अहिले पनि।

पहिलो कुरा, काठमाडौं पूर्वी नेपालमा पर्दछ। मध्य नेपाल चाहिं कालीगण्डकी बग्ने क्षेत्र हो। अर्थात् आजको पश्चिमाञ्चल वास्तविक मध्यमाञ्चल हो। तर, हास्यास्पद र गैरवैज्ञानिक रूपले एकापट्टि पूर्वाञ्चल, अर्कोतर्फ पश्चिमाञ्चल, ‘मध्य’ र ‘सुदूर’ पश्चिमाञ्चल छुट्याइयो। जबकि, एकातर्फ पूर्वाञ्चल राख्ने हो भने अर्कोतर्फ पनि पश्चिमाञ्चल मात्र राख्न मिल्छ। ‘मध्य’ र ‘सुदूर’ पश्चिम राख्ने हो भने अर्कोतर्फ पनि ‘मध्य’ र ‘सुदूर’ पूर्वाञ्चल राख्नै पर्छ।

‘सुदूर’ को प्रयोग एकातिर मात्र हुँदा त्यो क्षेत्रका जनताले आफूलाई केन्द्रबाट पर र दुर्गम ठान्छन्। क्षेत्रवासीमा मात्र नभएर अरूलाई पनि त्यो क्षेत्र ‘विपन्न’ भएको भ्रम पर्छ, ‘केन्द्र’ लाई विकसित मान्ने चलनका कारण। त्यसैले, भोलि संघीयता निर्माण हुँदा पनि जति र जस्ता प्रान्त बनोस्, ‘सुदूरपश्चिमाञ्चल’ वासीले सुदूरको संज्ञा स्वीकार्नुहुँदैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...