रमझमबुधबार, बैशाख १०, २०७१

अल्मलिएको नेपाली चलचित्र

हिमालखबर

– प्रकाशजङ्ग कार्की

करीब ५० वर्षको इतिहास भएर पनि नेपाली चलचित्र अझै उद्योग हुनसकेको छैन। मौलिक चलचित्रहरू नबन्नु त्यसको महत्वपूर्ण कारण हो। तर, त्यसका लागि राम्रो चलचित्र निर्माण हुन निर्देशन सर्वाधिक महत्वपूर्ण पक्ष हो भन्ने मान्यता भने स्थापित हुनुपर्छ।

चलचित्र मुनामदनको दृश्य ।

सन् १९४७ मा स्वतन्त्र भएपछि भारतमा चलचित्र निर्माण एवं प्रदर्शनले व्यापकता पाएको प्रभाव नेपालमा पनि पर्‍यो। नेपालीहरू मूक फिल्मको स्वाद नचाखी ध्वनि सहितको भारतीय फिल्ममा बानी परे। नेपालीहरू हिन्दी सिनेमामा यति डुबे कि डच नागरिक आर्नल्ड वेकले १९३१ मै काठमाडौं उपत्यकाका चाडपर्वहरू छायांकन गरे पनि नेपालमा सिनेमा बनाउन सकिने कल्पनासम्म गरिएन। त्यसताका नै राणा शासकहरूले भने विदेशबाट क्यामरा ल्याई शिकार खेलेको वा दरबारका रामरउसहरू खिचेर बेलायतमा प्रोसेस गरी प्रोजेक्टरबाट हेर्न थालिसकेका थिए।

२००७ मा भारतमै पहिलो नेपाली चलचित्र ‘सत्यहरिश्चन्द्र’ बन्यो, निर्देशक र कलाकारहरू उतैका राखेर। २०२२ मा नेपालमै ‘आमा’ बन्यो, तर त्यसको पनि निर्देशक देहरादुनका हीरासिंह खत्री थिए। ‘माइतीघर’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ पछि नेपालीमै, नेपालीद्वारा नेपाली चलचित्रहरू बन्न थाले। यसरी ज्ञान र अध्ययन विना अनुभव र आँटका भरमा चलचित्र बने पनि केहीले चाहिं विशिष्ट स्थान पनि ओगटे।

२०५० को दशकमा लहडको भरमा धेरै चलचित्र बने, जसमा भारतीय चलचित्रको प्रत्यक्ष प्रभाव रह्यो। मौलिकताको अंश नभएका त्यस्ता चलचित्रले दर्शक तान्ने कुरै भएन। परिणाम, ६० को दशकको प्रारम्भबाट देशभर सिनेमा हलहरू धमाधम बन्द हुन थाले। अहिले केही सुधार आएको छ, तर नेपाली निर्देशकहरूले मूक सिनेमाको अध्ययन–विश्लेषण गरे थप मद्दत मिल्नेथियो।

निर्देशक नै सबथोक

सन् १८९५ मा विश्वमै पहिलो चलचित्र बनेर प्रदर्शन भए पनि त्यसको डेढदशकपछि मात्र निर्देशकको महत्ता स्थापित हुन थालेको हो। डेभिड वार्क ग्रिफिथले एक कुशल चलचित्र निर्देशकको परिचय बनाए– अर्थपूर्ण सिनेमा बनाउने नियम र व्याकरणका साथ। सन् १९१४ मा ‘मेकिङ्ग अफ अ लिभिङ्ग’ बाट चलचित्रमा आएका चार्ली च्यापलिन थुप्रै मूक चलचित्रका मार्मिक हास्यव्यंग्य लेखक, अभिनेता र निर्देशक बने।

पहिलो विश्वयुद्धपछि फ्रान्समा ‘इम्प्रेसनिज्म’ र ‘अभान्ट गार्डे’ चलचित्रको लहर चल्दा जर्मनीमा ‘एक्स्प्रेसनिज्म’ को उदय भयो। यस्ता प्रयोगवादी चलचित्रहरूमा निर्देशकको अभिव्यक्तिले दर्शकलाई आनन्दित बनाउँथ्यो। १९३० को दशकबाट बन्न थालेका इटालियन ‘नियो रियालिज्म’ धारका चलचित्रहरूले पनि दर्शकलाई गहिरो अर्थबोध गराउँथे। १९२४ मा एफ डब्लु मर्नाउले बनाएका चलचित्र ‘द लाष्ट लाफ’ मा उमेरका कारण जिम्मेवारी कटौती गरिएको अनुभव गर्ने व्यक्तिको मनोविज्ञानलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। यसलाई ‘जर्मन एक्स्प्रेसनिजम’ को उत्कृष्ट उदाहरण मानिन्छ।

ग्रिफिथ, मर्नाउ, च्याप्लिन लगायतका निर्देशकहरूले जीवनका अनुभव–अनुभूतिलाई फिल्म मार्फत अभिव्यक्त गर्न संवाद अनिवार्य तत्व होइन भन्ने कुरा सिद्ध गरे। ध्वनिको सम्मिश्रण हुन थालेपछि निर्देशकको सीप, बौद्धिकता र प्रभावकारिता वृद्धि भयो।

नेपालीले पनि सिक्नुपर्छ

व्यक्ति–व्यक्तित्व र समाज–सामाजिकता अभिव्यक्त नभएको चलचित्रलाई सफल मानिंदैन। नेपाली चलचित्र निर्माणमा संलग्न धेरैजसो पेशाकर्मी लामो समयसम्म यही क्षेत्रमा काम गरेका छन्। कलाकारहरू पनि व्यावसायिकभन्दा सोखिन छन्। यस्ता चलचित्रमा विषयगत गुणहरू नभेटिनु अनौठो होइन।

अघिल्लो दशकसम्मका नेपाली चलचित्र निर्देशकहरूले हिन्दीको अनुभवबाट काम गरे। उनीहरूमा निर्देशन पक्षको सैद्धान्तिक र मनोवैज्ञानिक विश्लेषण विधिबारे कम ज्ञान थियो। अहिले भने चलचित्र शिक्षा लिएका निर्देशकहरू देखा पर्न थालेका छन्। उनीहरूले सामाजिक परिवेश, संस्कृति, परम्परा, भाषा, समाजको संवेदनशीलता आदिलाई कथावस्तु बनाएर चरित्रको चारित्रिक गुणहरूको चित्रण पनि गर्न थालेका छन्। यसले गर्दा चलचित्रमा समाज प्रतिबिम्बित हुन थालेको छ।

निर्देशकलाई चलचित्र निर्माणमा प्रयोग हुने प्राविधिक पक्षको पनि राम्रो ज्ञान हुनुपर्छ। जस्तो, क्यामरा चलाउने क्यामेराम्यानले हो, तर त्यसको मूभमेन्टस् (एङ्गल्स, लेन्स, कटअवे, शट साइज आदि) बारे निर्देशक जानकार हुनुपर्छ। दृश्यमा संवेदनशील अभिव्यक्तिका लागि भाषा, प्रकाश, रंग र संकेतको उपयोगमा पनि निर्देशक सिपालु हुनुपर्छ। यसैगरी, कन्टिन्यूटीले चलचित्रको कथा प्रस्तुतिकरणलाई प्रभावकारी बनाउँछ। कन्टिन्यूटी चरित्र चित्रण र समयको बहावसँग पनि जोडिएको हुन्छ।

निर्देशकले चलचित्र निर्माण विधि र विषयसँग जोडिने सबै पक्षमाथि पूर्ण जानकारी राख्नुपर्छ। कथाको समय–काल र घटनाक्रम सुहाउने सेट र प्रस्तुतिकरणमा ‘स्टाइल’ पनि महत्वपूर्ण हुन्छ। निर्देशकले कुनै पनि विषयलाई दृश्यगत रूपमा राम्रो फ्रेमिङ्ग, कम्पोजिशन र एङ्गलिङ गर्न सक्नुपर्छ।

गीत–संगीत, ध्वनि र संकेतहरूको उचित संयोजन तथा सम्पादनले निर्देशकको सिर्जनशीलता बढाउँछ। चलचित्र निर्माण गर्दा बिर्सनै नहुने विषय कथाको प्राकृतिक बहाव पनि हो। यी गुणहरूको प्रयोगमा निर्देशकीय भूमिका निर्वाह गर्न सके नेपाली चलचित्रले फड्को मार्ने छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>