Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा’ - Himalkhabar.com

ब्लगबिहीबार, बैशाख ११, २०७१

‘सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा’

rajendra thapa

– राजेन्द्र थापा

सेनामा जागीर खाएदेखि सुनिआएकै हो– ‘ए फलानोले निहुँ खोज्या हो, दिपायल र धनगढी ठेल्देपछि ठीक हुन्छ!’ अर्थात् सुदूर खटिनेहरू माथिकाबाट नरुचाइएकाहरू हुन्थे। र, नढाँटी भन्दा नारायणी अञ्चल प्रमुख र हेडक्वाटरमा प्रवक्ता हुँदाको सफलताबाट उत्पन्न परिस्थितिका कारण म पनि सुदूर फालिएकै हुँ, असफल बनाउन। दरबारे सैनिक सचिवालयको (जातीय) षडयन्त्रको फलस्वरुप स्वयं राजा ज्ञानेन्द्रकै पहलमा बढुवा रोकेर सिद्ध्याउनै पठाइएको त्यसवेला निरीह सेनापतिको साथ भए पनि मन द्वन्द्वात्मक थियो।

महाकाली पुलमा अस्ताउँदै गरेको सूर्य । तस्वीरहरुः बिक्रम राई

सरुवा निक्लेपछि काठमाडौंमा करीब दुई साता मैले सुदूर सोच्न थालें। अचानक निजी पीडा बिर्सिन थालें, मनमा सुदूर पश्चिम दुख्न थालेकोले। राजाको सरापलाई वरदान बनाएँ मैले। देश चिन्न पायो मन, कलम र मेरो बन्दूकले पनि। त्यही क्षणदेखि मेरा कलममा भुईंमान्छे दुख्न थालेको हो। सुदूर पुगेपछि थाहा भयो–

‘काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो,

साँच्चिकै देश पढ्न कर्णाली र डोटी पढ्नू।

देश चिन्न मन भए ज्यामीको सुक्खा रोटी पढ्नू।

आफू चिन्न आफ्नै मुटु कमसेकम एकचोटि पढ्नू।’

त्यसभन्दा पहिले मैले सुदूरको दुःख सोच्नै परेको थिएन। १३–१४ वर्षको थिएँ हुँला, मेरा एक काका राष्ट्र ब्याङ्कको काजमा भारत हुँदै दार्चुला हो कि बैतडी पुगेर आउँदा। उनले भनेकै सुदूरको तस्वीर मेरा आँखामा कायम थिए। अचम्मका मान्छे हुन्छन् त्यहाँ त– मुखमा लाली नभएका महिला र करंग देखिने पुरुष सुकिला मान्छे देख्दा बुर्कुसी मारेर भाग्छन् रे, गाईलाई गोरु, गोरुलाई गाई भन्छन् रे, हाहाहा…।

सुदूर पुगेपछि मलाई थाहा भयो, त्यहाँका मान्छे होइन, आफूलाई देश ठान्ने हामी सुकिलामुकिला पो अचम्मका रहेछौं। यत्रो वर्षसम्म अचम्मै भइरहेका रहेछौं र अझै पनि अचम्मै व्यवहार गरिरहेका छौं, सुदूरसँग। भएभरको नेपाल त राजधानीले आफैं निलिसकेको रहेछ, राणाकालदेखि बहुदलकालसम्मै।

२०३७ सालको सवारी शिविरमा चिफका एडीसीका रूपमा दिपायल क्याम्पमा बसेको याद थियो। त्यसवेला त्यहाँ फलफूल र काउलीहरू उमारिएका थिए। यौटा चाकरीवाजले राजासामु तारिफ गर्दै काउली छुँदा खुसुक्क ढलेको हाँसो जस्तै सुदूरलाई हाँसेरै उडायौं, हामीले। सवारीभरिका लागि सानो जलविद्युत् परियोजनाबाट दिपायलभर उज्यालो दिएर राजाको दयाको गीत गाइए शिविरमा राति। तर, राजा उड्ने वित्तिकै परियोजना बन्द गरियो, बनाउनै बाँकी छ भन्दै।

२०६१ मा दिपायल पुग्दा राजापुरमा टीनको बार लगाएर बनाइएका पसलहरू बाहेक केही विकास भएको थिएन। विकास क्षेत्रको सदरमुकाम तोकिएको ठाउँकै त्यो हालत थियो। लोकतन्त्रमा पनि सुदूरमा राजाका सवारीमा उमारिएको काउली झैं भएको छ, विकास। नेता, कर्मचारी र ठेकेदारहरूको मिलेमतोमा बजेट तालमेलका लागि मात्र ‘विकास’ गरिएको एक हैन सय उदाहरण भेटिन्छन्। मातृशिशु विकास सम्बन्धी एनजिओको साइनबोर्ड देशमा सबभन्दा बढी साँफेवगरमा छन्। सबभन्दा बढी महिला र शिशु मर्ने पनि अछाम नै हो।

पीडाका गजल

जब सुदूर दुख्न थाल्यो, सोचें कसरी व्यक्त गर्नु मैले सुदूरका तस्वीर। गजलको सरस्वती खुलिरहेको काल थियो। पंक्ति फुर्न थाले–

सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा,

भाग्य पनि आउँदा आउँदै थाकिसक्छन् हाम्रो पश्चिममा।

नपुगे’नि सपना देख्न पूर्वले पाउँछ नि कमसेकम,

देख्नै नपाई सपना सब भासिन्छन् हाम्रो पश्चिममा।

कोही नआउनु आए’नि झूटो सपना नदेखाउनू,

नपुग्ने आशाले वित्थैमा छटपटिन्छन् हाम्रो पश्चिममा।

युद्धकालीन ३२ महीना सुदूरमा बिताउँदा भूगोलले ठगेको महसूस भयो सर्वप्रथम। समाजमा घुलमिल हुँदै जाँदा भूगोलले होइन, समान्तवादले ठगेको देखें। दलितलाई लुटेको भेटें, महिलामाथि पुरुष अमानुषिकताको हद नाघेको पाएँ। तर न पीडितलाई त्यो महसूस छ, न त पीडकलाई ग्लानि।

भेट्दै गएँ आम मान्छेहरूलाई, लेख्दै गएँ तिनका पीडाका गजल। उनीहरूको मन जित्दै जाँदा सजिलो हुँदै गयो। सरकार पक्षबाटै विगतमा भए/गरिएका कार्यहरूले ग्लानि हुन थाल्यो। युनिफाइड कमान्ड अन्तर्गत आफ्ना जिम्माका सेना, सशस्त्र र प्रहरी फौजहरूलाई जनमुखी बनाउँदै जाँदा सद्भाव बढ्दै गयो, सुदूरका कुरा पनि अरू खुल्न थाले। दिलमा सुदूर खुल्दै जाँदा भूगोल वरदान भएको, केवल सदुपयोग नभएको थाहा भयो। विकासको अर्को ठूलो स्रोत भेटियो– मेहनती र सोझा आम मान्छे। सुदूरमा कर्मचारीहरू भने ३६५ दिनमा १०० दिन पनि मुकाममा नहुँदा रहेछन्। अनि कसरी होस् स्रोत र शक्तिको उपयोग?

खप्तड जस्तो सौन्दर्यको खानी विश्वमा कतै छैन। तर, खप्तडका नाममा करोडौंको हन्डी खानेहरूबाट सिन्को भाँचिएको छैन। खप्तड मेलामा मैले जनतालाई ‘यो सुदूर कसैले बनाउँदैन, आफैं बनाऊँ’ भनें। नभन्दै, दलित समुदायको बाहुल्य भएको झिग्रानाका जनता अग्रसर भइहाले। मेरो रु.२५ हजार र डोट्याल थरका एलडीओको समेत सहयोगबाट शुरू त्यो परियोजनाबाट दुई महीनामै पाँच किलोमिटर बाटो बन्यो। पछि योजना आयोगका उपाध्यक्ष शंकर शर्मालाई प्रभावित पारेर एक करोड रुपैयाँसम्म ल्याउन सफल भएँ।

तर, गरीब दलितले खन्न थालेको त्यो बाटो खोल्न नदिई अर्कै हावादारी प्रोजेक्ट देखाएर खाने षडयन्त्र शुरू भइहाल्यो। जनता रुन–कराउन मकहाँ आएपछि पृतनापति भए पनि लुकेर जनताको जुलूस निकालेर जिन्दावाद र मूर्दावाद भनाउनु र योजना आयोगबाट ठाडो पत्र लेखाउनु पर्‍यो। हुनेखानेहरूले भए खानेहरूलाई थिचेर राखेका तथ्य उक्त घटनाले छर्लङ्ग पार्‍यो। शारदा शर्माको ‘भुर्इं फूल’ मा उक्त बाटोको सन्दर्भमा जनताको मप्रतिको भनाइ छ। आफ्नै हेडक्वाटर र दरबारको तत्कालीन सैनिक सचिवसित गोप्य राखेको कुरा आज पहिलोपटक खोल्दैछु।

सुदूरको निधारमा गाँठा

मैले सुदूरका आम जनतालाई सम्बोधन गर्न भुईंमान्छे भन्दा अर्को उपयुक्त शब्द भेटिनँ। आज मेरो आविष्कारको शब्द सम्पूर्ण सीमान्तकृतका हकमा उपयोग भइरहेको छ। सुदूरमा जति भुईंमान्छे यो देशको अन्य ठाउँमा पाइँदैन। सुदूरलाई काठमाडौंले ठग्यो। सुदूरका भुईंमान्छेहरू भने आफ्नै ठाउँका ठालु, उच्च जात, धनी र पुरुषबाट ठगिए।

मेरो सुदूरपश्चिम कर्णाली, काली र सेती सिनित्तै हो। संघीयता भनेको आर्थिक विकास हो। यी तीन प्रदेशलाई एक राज्यमा परिणत गरियो भने २५ वर्षमा यो क्षेत्रलाई स्वीट्जरल्याण्ड जस्तो बनाउन सकिन्छ। लोकल मुख्यमन्त्रीको लोभले चाहिं अर्को सय वर्ष भोकै नांगै पार्नेछ।

भत्केला कि भन्ने डर― यो मनलाई छँदै छैन,

भत्क्यालाई नै जिन्दगी― भन्छन् हाम्रो पश्चिममा।

अन्तमा विदा हुँदा जनतालाई भनेको थिएँ–

आमा, दलित, गरीब, गलितको―पूजा गर्न ढिलो होला,

गाउँघरका यी देउदेउतालाई― चिनाउँदै जाँदैछु।

हँसाउँछु भन्थें म पश्चिम― तिम्लाई रुवाउँदै जाँदैछु,

तिम्रा निधारमा नै बल्झेको गाँठो फुकाउँदै जाँदैछु।

सुदूरको आफ्नै निधारमा महिला, दलित र गरीबमाथि गरिने शोषण र अन्धविश्वासका गाँठा पनि छन्। ती नफुकेसम्म त्यहाँ सुर्जे उदाउन आउने छैनन् र सुदूर दुखिरहनुको विकल्प हुने छैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>