अन्तर्वार्ता/विचारशुक्रबार, बैशाख १२, २०७१
साँघुरो सोचको सुरुङ
आकाशमा डम्म बादल लागेको वेला ‘पुगिएला नि’ भन्दै उडाएका राम्ररी मर्मत नगरिएका र अत्याधुनिक उपकरण नहालिएका जहाज एकपछि अर्को पहरामा खसे। पछिल्लो पटक गएको ५ फागुनमा अर्घाखाँचीको आकाशमा नाइन एन एबीबी कलसाइनको ट्वीनअटर दुर्घटनाग्रस्त भयो। नाटककार बालकृष्ण समले ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ त्यसै भनेका हैनन्। विज्ञानलाई भाग्य भरोसामा चलाउन, उडाउन र गुडाउन खोज्नेले समको भनाइको मर्म बुझे भन्न सकिएन।
२४ चैतको राति चलेको एक सर्को हावाले पूर्वी पहाडका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाको विकास सपनासँग जोडिएको सुनकोशी नदीमा निर्माणाधीन पुललाई भसक्क बनायो। हावा पनि कस्तो भने, ठूल्ठूलो भार थेग्न बनाइएको एउटा विशाल आधुनिक संरचनालाई बगरमा छरेको त्यसले नजिकैका प्लाष्टिकका टहराहरूलाई चाहिं हल्लाउन पनि सकेन छ। ओखलढुंगाको हर्कपुर र उदयपुरको लेखानीलाई जोड्ने त्यो पुल १३ वर्षमा पूरा हुने तरखरमा थियो, तर त्यसो भएन।
अखबारहरूका अनुसार, त्यो ‘पक्की’ पुलको स्टीलको ट्रस ८६ मिटर जति भत्किएर बगरमा झ्रेछ। बडेबडे मालवाहक ट्रक र बसको ओजन–थर्कन थेग्ने गरी बनाइने पुललाई एक झोक्का हावाले तासको घरलाई झैं बनाउन सक्नुको दोष कतिपयले स्थानीय देवीलाई दिएका छन्। ठेकेदारले मन्दिर भत्काएकाले देवीले पुल खसालिदिएको उनीहरूको तर्क रहेछ। अब त्यहाँ बलियो पुल बनाउने नाममा बलि चढाउने अर्को मूर्खता हुन सक्छ।
नेपालमा यस्ता संरचना बनाउँदा जगमा पशुको हैन, मान्छेकै बलि दिइएको समाचारले पनि सनसनी मच्चाउने गरेको छ। जस्तो, २०६६ सालमा भैरहवामा एउटा ईंटा उद्योग बनाउने क्रममा बालिकालाई बलि दिइएको घटना। ३ माघ २०६६ को नेपाल साप्ताहिकको एउटा रिपोर्ट अनुसार, ईंटाभट्टाको चिम्नी ठड्याउने ठाउँमा रूपन्देही मर्यादापुरकी आठ वर्षीया मनिषा हरिजनलाई बलि चढाएको थियो। त्यहाँ बालिकाको घाँटी रेटिएको शव भेटिएपछि स्थानीयहरूले बलि दिइएको आशंका सहित प्रहरीलाई खबर गरेका थिए। पक्राउ परेकामध्ये ईंटाभट्टाका चौकीदार नेवास पालले बलि चढाउने वेलामा बालिका कराउलिन् भनेर अघिल्लै दिन ईंटाले पुरेर राखिएको र निकाल्दा मृत्यु भइसकेकोले छुरीले घाँटी काटेर रगत चढाएको बयान दिएका थिए। बिहीबारको दिन मानव बलि दिए ईंटाभट्टाको व्यापार फाप्ने लोभमा त्यसो गरिएको बयान अरू अपराधीले दिएका थिए। निम्छरो प्रविधि र सानो लगानीमा चामत्कारिक प्रतिफलको आश गर्नेहरूले त्यो अपराध गरेका थिए।
सुनकोशीमाथिको ‘पक्की’ पुलको जग कमजोर भएकाले ट्रसको भार थाम्न नसकेर झ्रेको हुनसक्ने तर्क प्राविधिकहरूको छ। तर, पुलको होइन, हाम्रो सोचको जग नै साँघुरो भएर यस्तो भएको हो। हाम्रो निर्माण ठेकेदार, डिजाइनर र विकासका सहजकर्ता राजनीतिक नेतृत्वमा देशको लागि काम गर्ने इच्छाशक्ति होइन, भ्रष्टाचारमोह छ। उनीहरू कामकारी हैन, भ्रष्टाचारी भएसम्म पुलसँगै जनताको विकास सपनाको भग्नावशेष थपिंदै जानेछन्। साँघुरो सोचको सुरुङभित्र निसास्सिएको नेपाली विज्ञानलाई हाँसेर बाँच्न सक्ने बनाउन पहल गर्नेहरूको जय होस्।
साप्ताहिक खबरपत्रिका हिमालबाट