सम्पादकीयशुक्रबार, बैशाख १२, २०७१

अघि बढ्दै सुदूरपश्चिम

हिमालखबर

भौतिक विकास र मानवीय सूचकांकको हिसाबले पछाडि रहेको सुदूरपश्चिम सम्भावनाको हिसाबले अरू चार क्षेत्रभन्दा पछि छैन। कर्णाली र महाकाली नदीबीचको यो भूगोलमा यस्ता कैयौं प्राकृतिक र अरू सम्भावना छन्, जसलाई उपयोग गर्ने हो भने पर्यटन, जलविद्युत्, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र अरू क्षेत्र मार्फत सुदूरपश्चिम समृद्धिको मार्गमा अघि बढ्न सक्छ। तर, त्यसका लागि सरकारको उदासीनता तोडिनुपर्नेछ भने भर्खरै शुरू भएको निजी क्षेत्रको प्रयास तीव्र गतिमा अघि बढ्नुपर्नेछ।

राजा जयपृथ्वीबहादुर सिंहले शिक्षा र भीमदत्त पन्तले राजनीतिक चेतना रोपेको यो क्षेत्रका दशरथ चन्दले वि.सं. १९९७ मा तत्कालीन राणाशासन विरुद्धको आन्दोलनमा काठमाडौंमा शहादत प्राप्त गरेका थिए। यही क्षेत्रका लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा प्रधानमन्त्री पनि बने। तर, लामो समयसम्म राजधानीले ध्यान नदिएकाले यो क्षेत्र सबै हिसाबले पछि रह्यो। २०५० मा कर्णालीमा पुल बनेपछि भने बाँकी नेपालसँग सडक मार्गबाट जोडिएकाले यो क्षेत्रले प्रगति मार्ग पहिल्याउन खोज्दैछ।

करीब एक शताब्दीअघि भारतले महाकालीमा शारदा ब्यारेज र दुई दशकअघि त्यसको नजिकै टनकपुर ब्यारेज बनाए पनि त्यसको समुचित फाइदा त्यस क्षेत्रले पाउन सकेन। टनकपुर सन्धि हुँदा बनाउने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना प्रगतिउन्मुख नहुनु पनि यो क्षेत्रले लाभ लिन नसक्नुको अर्काे कारण बन्यो।

यस्तै कारणहरूले उस्तै भूगोल रहेको भारतको उत्तराखण्ड भौतिक विकास र मानव सूचकांकमा धेरै माथि पुगिसक्दा पनि सुदूरपश्चिम भने बल्ल वामे सर्ने अवस्थामा रहनु परेको हो। तर, बगिरहेका महाकाली, कर्णाली र सेती, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, सिंचाइ सुविधा पुर्‍याउँदा कृषिको विकास गर्न सकिने कञ्चनपुर र कैलालीका विशाल फाँट, यातायात सुविधा पुर्‍याउँदा बाह्रै महीना पर्यटक तान्न सक्ने खप्तडका पाटन, डडेल्धुराका सुन्दर दृश्य, दार्चुलाको अपि हिमाल र तालतलैया सहितको अछाम रामारोशनको सुन्दरता– प्रकृतिले यो क्षेत्रलाई अवसरका रूपमा दिएको छ। महाकाली, कर्णाली र सेती नदी तथा तिनका शाखा नदीहरूले बिजुली अझै बढी दिन सक्छन् भने तिनमा जल यातायात चलाएर पहाड र तराई जोड्ने अपार सम्भावना छ। आरक्षले दिएको अवसर उपयोग गर्ने हो भने पशुपक्षी र पर्यावरण क्षेत्रमा रुचि राख्ने अध्येता र पर्यटक आकर्षित गर्न सकिन्छ। खप्तडलाई यातायातले जोडेर स्की र गल्फ खेल्न चाहने धनाढ्य स्वदेशी र विदेशी बोलाउन सकिने छ। यहाँका ऐतिहासिक मन्दिर र किल्लाहरूसँग पनि पर्यटक आकर्षित गर्ने क्षमता छँदैछ।

स्वास्थ्य र अरू विषय पढाउने शिक्षण संस्था स्थापना गरेर उत्कृष्ट शिक्षा दिने हो भने भारतबाट प्रशस्त विद्यार्थी आउने सम्भावना छ। राम्रो अस्पताल स्थापना गरेर राम्रो सेवा दिने हो भने प्रशस्त भारतीय बिरामी आउने गेटा आँखा अस्पतालले देखाइसकेको छ। राम्रा शिक्षण संस्था र अस्पताल बनाउँदा स्थानीय लाभान्वित हुने त छँदैछ।

प्रकृतिले यस्ता अनेकौं अवसर दिए पनि तिनको सदुपयोग गर्न मानवीय प्रयत्न नै आवश्यक पर्छ। यो क्षेत्र अहिलेसम्म पछि परेको पनि त्यही नभएर हो। २०४६ र २०६२/६३ को परिवर्तनपछि राज्य कुनै क्षेत्रविशेषप्रति पूर्वाग्रही नरहेकाले यो क्षेत्रमा पनि अहिले पूर्वाधार विकास अघि बढ्दैछ। अबको आवश्यकता भनेको यसलाई अरू तीव्रता दिनु हो। सरकारले यो कर्तव्य बिर्सेन भने केही वर्षमा पूर्वाधार निर्माण हुने पनि छ। तर, समग्र विकास गर्न भने सरकारको प्रयास मात्र पर्याप्त हुने छैन। त्यसमा निजी क्षेत्रले पनि सरकारको प्रयासमा हैंसे दिनुपर्नेछ। त्यसो भयो भने मात्र अहिले

जस्तो यो क्षेत्र पछि पारियो वा पर्‍यो भनेर टाउको समाएर बस्नुपर्ने अवस्था रहने छैन। आशलाग्दो के छ भने सुदूरपश्चिममा निजी क्षेत्र जुर्मुराउन थालेको छ। अब त्यसलाई गति दिनुपर्ने खाँचो छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...