रिपोर्टआइतबार, बैशाख १४, २०७१

न्यायको पर्खाइ

हिमालखबर

गोपाल गड्तौला, झापा र तुफान न्यौपाने, बर्दियामा

माओवादीले पतिको हत्या गरेर छोरालाई समेत मार्ने धम्की दिएपछि इलामको चुलाचुलीबाट झापाको दमक सरेकी नरमाया चापागाइृ‌ । तस्वीर: गोपाल गुरागाई‌

इलाम क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य र जनता उच्च माविका व्यवस्थापन समिति सदस्य रहेका चुलाचुली–३ का नरेन्द्र चापागाईंलाई २१ भदौ २०५९ को साँझ् साढे ७ बजेतिर आएका माओवादीले घरबाट बोलाई बारीमा लगेर गोली हाने ।

दश मिनेट अघि आफैंले पस्किदिएको भात खाएका श्रीमान् भुल्भुली रगत निस्किरहेको छातीलाई हातले थिच्दै आँगनमा पछारिन आइपुग्दा नरमाया चापागाईं (५२) आत्तिएर चिच्याउन पनि सकिनन् । औंसी छेकको अँधेरी रातमा माओवादीको डरले छिमेकीहरू पनि आएनन् । त्यसको एकघन्टापछि नरेन्द्र चिसिएको नरमाया सम्झ्न्छििन् ।

एक महीनापछि आएको माओवादीको अर्काे हूलले विधवा नरमायालाई रु.६० हजार चन्दा नदिए छोरा पनि मारिदिने धम्की दिए । ऋण काढेर १५ हजार माओवादीलाई बुझएर उनी चारै छोरा लिएर झपा भागिन् ।

त्यसवेला माओवादीहरूले अरू पार्टीका कार्यकर्तालाई निष्क्रिय रहन चेतावनी दिंदै भने जति चन्दा नदिए कुटपिट गरी खेद्ने र कतिपयलाई मार्ने गरेको थियो । अहिले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर द्वन्द्वकालका यस्ता घटनाका दोषीहरूलाई आममाफी दिने चर्चा चलिरहेको छ । यस्ता कुरा सुन्नेबित्तिकै नरमायालाई भाउन्न छुटेर आउँछ ।

११ वैशाखमा हिमाल ले भेट्दा उनले आफू विधवा हुनुको कसूर थाहा पाउनुपर्ने बताइन् । “बरु मलाई राहत चाहिएन, लिएको पैसा पनि फर्काइदिन्छु” उनी भन्छिन्, “उहाँलाई किन मारेको हो, मैले थाहा पाउनुपर्छ ।”

झपा सुरुङ्गाका गोपाल पोखरेल (५२) का कान्छा भाइ सुरेश अरू पाँच माओवादी कार्यकर्तासँगै १३ पुस २०५९ मा सिलिगुडीको बसपार्कबाट समातिए ।

उनीहरूलाई भारतीय प्रहरीले त्यही रात नेपाली सेनालाई सुपुर्दगी गर्‍यो । त्यसको केही महीनापछिसम्म सुरेशसँगै चतुरमान राजवंशी, घना सुवेदी, तारा रिजाल, मिसी धिमाल र सम्झ्ना अधिकारी झपाको चारआली ब्यारेकमा रहेको सूचना गोपालले पाएका थिए । तर, सुरेश सहित ती ६ जनाको अझै खुटखबर छैन ।

“हामीलाई कि लास, कि सास चाहियो” आयोग बनाएर सबै घटनाका दोषीलाई माफी दिने चर्चा सुनेका गोपाल भन्छन्, “द्वन्द्वका नाममा मारिएका, बेपत्ता भएका र बलात्कार भएका जस्ता जघन्य अपराधका घटनालाई राजनीतिक रूप दिने हो भने न्याय पाइन्छ भनेर हामीले गरेको धैर्य टुंगिनेछ ।”

सुराकी गरेको आरोपमा माओवादीको बर्बरता भोगेका झपा धरमपुर–८ का नगेन सुनुवार २३ जेठ २०५९ पछिको जीवनलाई ‘सित्तैं’ ठान्छन् ।

उनको शरीरमा एक इञ्चदेखि एकफुटसम्मका २५ वटा काटेका चोट छन् । कम्मरको घाउबाट अझ्ै पनि पिप बगिरहन्छ । त्यो दिन माओवादीहरूले छिमेकका शम्भु खड्का र नगेनलाई अपहरण गरेर दक्षिणी इलामको मैनाचुली लगेका थिए ।

शिथिल हुने गरी पिटेर ऐया भन्न नसक्ने अवस्थाका शम्भुलाई नगेनकै आँखा अगाडि एउटा माओवादीले शरीर र टाउको अलग गरिदिए । त्यसपछि कैयौं ठाउँमा काटेर फ्याँकिएका नगेनलाई दुई दिनपछि वन हेरालुले धुकधुकी मात्र भएको अवस्थामा फेला पारेका थिए ।

त्यसपछिको उपचारमा साढे १३ लाख खर्च गर्नुपर्दा उनी सुकुमबासी बने । उनी अहिले आफन्त र साथीभाइले मेचीनगरको खोला किनारमा बनाइदिएको छाप्रोमा बसेका छन् ।

“सरकारले आयोग बनाओस्, छानबिन गरोस्, तर अपराधीलाई न्यायको कठघरामा ल्याउने शर्तमा” नगेन भन्छन्, “मलाई कुन कसूरमा उनीहरूले यस्तो बनाएका हुन्, भन्नुपर्छ ।”

२०५९ पुसमा झपाकै सुरुङ्गा–३ स्थित घरबाट सिलिगुडी जाने भनेर हिंडेको सम्झ्ना अधिकारी सहितको माओवादी टोली त्यसयता कहिल्यै कसैको सम्पर्कमा आएको छैन । सम्झ्नाका दाजु नेत्र (४६) साँझ् पर्दै गएपछि बहिनी आउँछे कि भने जस्तो लागिरहने बताउँछन् ।

“त्यो टोलीलाई बेपत्ता पार्ने जोसुकै भए पनि चिन्न र कानून अनुसार सजाय पाएको हेर्न चाहेका छौं”, अधिकारी भन्छन् ।

अहिले दक्षिणी इलामको चुलाचुली–६ मा तीन छोरी सुम्निमा (१७), प्रतिमा (१५) र पारुमा (१२) को लालनपालन गरिरहेकी टीकामाया वान्तवा (४०) का पति चेतनलाई १० चैत २०६० को अपरान्ह साढे ४ बजे मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले दमकमा गोली हानेर हत्या गरेका थिए– सुराकी भन्दै ।

इलाम चुलाचुलीकी टीकामाया वान्तवा । उनका श्रीमान् चेतनलाई माओवादीले गोली हानी हत्या गरे । तस्वीर: गोपाल गुरागाइृ‌

त्योभन्दा केहीअघि माओवादीको एउटा समूह घरमा आएर चेतनलाई पार्टीमा लाग्न अनुरोध गरेको सम्झ्ँदै टीकामाया भन्छिन्, “उनीहरूले आफ्नो पार्टीमा बोलाए, जान नमान्दा मारे ।” परिवारको नाममा रहेको १५ कट्ठा सुक्खा जमीनको उब्जनीले खान र छोरीहरू पढाउन पुग्दैन, दुई लाख ऋण छ ।

सरकारले राहतस्वरुप दिएको रु.३ लाख ऋण तिर्दा र घर खर्चमा सकियो । वेलावेला उनलाई निकै हरेश लाग्छ । “आयोग बनाएर हामीलाई न्याय दिनु पर्‍यो, अपराधीलाई आममाफी होइन” टीकामाया भन्छिन्, “मलाई विधवा बनाउने व्यक्ति चिन्न र अपराधको सजाय पाएको हेर्न पाए मन हलुका हुन्थ्यो ।”

बर्दियाको बर्बरता
बर्दियाको मोतीपुर–५ मदाहाकी रामप्यारी थारू (३३) का पति कालीरामलाई बाँकेको चिसापानीस्थित भीमकाली गुल्मका सैनिकले १६ असोज २०५९ को आधारातमा ओछ्यानमै समातेर आँखामा कालोपट्टी बाँधेर गाडीमा हाले । उनका दाजु ठग्गालाई सुतिरहेकै अवस्थामा गोली हानेर शवलाई खाटमै बाँधेर लगे ।

दिनभर कोहलपुरमा रिक्सा चलाएर ९ बजे घर आएका कालीरामलाई त्यसरी नियन्त्रणमा लिएर बेपत्ता पार्ने सैनिकले हालसम्म उनको अवस्थाबारे परिवारलाई जानकारी दिएका छैनन् । एकै पटक दुई छोरा खोसिएपछि होश गुमाएकी पर्वत्नी थारू (७७) अहिले बोल्न सक्दिनन्, एकोहोरिन्छिन् मात्र ।

१९ वर्षकै उमेरमा बेसहारा बनाइएकी रामप्यारी अहिले छोरो हुर्काउँदै छिन् । त्यसवेला दुई वर्षको छोरो अहिले १३ वर्षको भएको छ । रामप्यारीका अनुसार, उनका श्रीमान् र आँखै अगाडि मारिएका जेठाजु कहिल्यै कुनै पार्टीमा लागेका थिएनन् ।

त्यसपछि धेरै पटक ब्यारेक गएको, तर सेनाले जहिल्यै हामीले ल्याएकै छैनौं भनेर धम्क्याउँदै फर्काइदिएको उनी बताउँछिन् । ठग्गालाई घरमै हत्या गरेर शव समेत बेपत्ता पारिदिएको थियो, सेनाले ।

त्यसवेला सात वर्षका उनका छोरा लोहारी अहिले १९ वर्षका भए । आँखै अगाडि बुबालाई मारेको देखेका उनी विना कारण हत्या गर्नेलाई कारबाही हुनुपर्ने बताउँछन् । रामप्यारी भन्छिन्, “त्यस्तो अपराध गर्ने सैनिकहरूलाई कानूनी कारबाही होस्, अनि मात्र मेरो मनले शान्ति पाउला ।”

वर्दियाको मोतीपुर- ५ मदाहकी रामप्यारी थारु । सेनाले घरमै सुतिरहेका उनका जेठाजुलाई हत्या गरेर लाश गायब पार्यो भने पतिलाई बेपत्ता बनाएको छ । तस्वीर: तुफान न्यौपाने ।

सोही रात सेनाले मदाहा गाउँका बाबुराम चौधरी, दरबारी थारू, तुलसीराम थारू र लक्ष्मीराम थारूलाई कुटपिट गर्दै लगेको थियो । एक मात्र छोरो बाबुराम बेपत्ता भएको दुई वर्षमा चिन्तै चिन्तामा बाबु प्रसाद थारू पनि बिते ।

अहिले छोरीज्वाईंको शरणमा रहेकी आमा रतनी थारू (६०) छोरालाई बेपत्ता पार्नेहरूमाथि कारबाही भएको हेर्ने एक मात्र इच्छा रहेको बताउँछिन् । दाजुलाई विना कारण बेपत्ता पारेपछि माओवादीमा लागेकी बहिनी गंगारानी थारू (२०) लाई पनि सेनाले बर्दियाको पदनाहाबाट नियन्त्रणमा लिएर जंगलमा हत्या गर्‍यो ।

सेनाले उनको शव नदिए पनि माओवादीले ‘शहीद’ भएको सूचना सहित फोटो पठाइदिएपछि गंगारानी मारिएको थाहा भएको थियो । “गाउँका कोही पनि माओवादी थिएनन्”, आमा रतनी थारू भन्छिन्, “हामी मोही किसान हौं, जमिनदारसँग हाम्रो हकको जग्गा मागेका कारण हामीलाई माओवादी भनेर पोले ।”

पुस २०५८ र भदौ २०५९ मा सरकारी सेनाले पति, छोरा, बुहारी र छोरी समेतलाई नियन्त्रणमा लिएर बेपत्ता पारिदिएको बर्दियाकै मगरगाडीकी दुजनी थारू अहिले १४ वर्षे नातिको सहारामा छिन् । ७५ वर्षीया दुजनी थारू मर्नुभन्दा पहिले त्यो अपराधमा संलग्नहरूमाथि कारबाही भएको हेर्न चाहेको बताउँछिन् ।

निहत्था मानिसलाई बेपत्ता पार्ने, नियन्त्रणमा लिएर हत्या गर्ने, यातना दिने र बलात्कार गर्नेमा बदनामी कमाएको बाँकेको चिसापानीस्थित भीमकाली दल गुल्मले १५६ जनालाई बेपत्ता पारेको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले बर्दियामा सुरक्षाफौजले २०० भन्दा बढीलाई नियन्त्रणमा लिएर बेपत्ता पारेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

उक्त गुल्मका गुल्मपति मेजर अजित थापा र क्याप्टेन रमेश स्वाँरलाई २०६३ साउनमा बाँकेका आठ राजनीतिक दलको बैठकले कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको थियो । तर लेफ्टिनेन्ट कर्णेलमा बढुवा भएका थापाले कुनै कारबाही भोग्नुपरेको छैन ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>