टिप्पणीसोमबार, बैशाख १५, २०७१

माओवादी सम्मेलनः विसर्जनको थलो

mumaram Khanal

पार्टीको विभाजन र निर्वाचनमा भोगेको पराजयपछि एमाओवादीको गुट संघर्षले उसलाई विसर्जनको सँघारमा पुर्‍याउन लागेको देखिंदैछ । संघर्षलाई साम्य पार्ने सांगठनिक र प्राविधिक उपायले पनि उसलाई ‘ब्याकफायर’ मात्रै गर्दैछन् । यसले एमाओवादी या त आफ्नो वास्तविक समस्यासँग परिचित छैन वा समस्याको समाधान अर्को विभाजनबाट मात्र हुने देखाउँछ । किनभने अध्यक्ष पुष्पकमल दाहालसँग अब बाबुराम भट्टराईलाई सन्तुलनमा राख्न सक्ने कुनै सूत्र बाँकी छैन । पार्टीभित्र बाबुरामलाई सन्तुलनमा राख्न नसक्नु भनेको अर्को विभाजन निम्तिनु हो भन्ने जगजाहेर छ ।

पार्टी विभाजनले बनाएको बाध्यताका कारण २२ वर्षपछि हेटौंडा महाधिवेशनले गरेको ‘ब्याकफायर’ बाट एमाओवादी अझै बौरिन सकेको छैन । महाधिवेशनले उसको वैचारिक दिशालाई अन्योलपूर्ण र संगठनलाई तहसनहस पार्‍यो । त्यसलाई सम्हाल्ने प्रयास पनि प्रत्युत्पादक बनेपछि अन्तिम प्रयासका रूपमा उसले १८ वैशाखमा ‘संगठनात्मक राष्ट्रिय सम्मेलन’ आयोजना गरेको हो । जबकि, वैचारिक र नीतिगत विषयलाई बेवास्ता गरेर विशुद्ध संगठनमा केन्द्रित रहने परम्परा कम्युनिष्ट पार्टीको लागि अनौठो हो । किनभने, कम्युनिष्ट पार्टीहरूले वैचारिक लाइनको आधारमा नेतृत्व र तात्कालीन नीतिको आधारमा संगठनात्मक संरचनाको निर्माण गर्छन् । तर एमाओवादीले सबै समस्यालाई प्राविधिक विषय मानेर संगठनात्मक सम्मेलन गर्दैछ ।

यो सम्मेलन विवादरहित पनि छैन । बाबुराम भट्टराईले पार्टीको वर्तमान समस्या संगठनात्मक फेरबदलले मात्र हल नहुने धारणा राखेका छन् । ‘राष्ट्रिय सम्मेलन’ रोकेर तुरुन्त ‘विशेष महाधिवेशन’ डाक्नुपर्ने उनको माग छ । गत वर्ष हेटौंडामा गरिएको महाधिवेशनले पारित गरेको दस्तावेज अपूरो भएको, दाहालले दस्तावेजको व्याख्या आफूखुशी गरेको र नयाँ ढंगको पार्टी निर्माणमा भन्दा दाहाल गुट निर्माणमा सक्रिय रहेको बाबुरामको आरोप छ । उता दाहाल भने संगठनात्मक सम्मेलन सकेपछि मात्र आवश्यक परे विशेष महाधिवेशन गर्ने अडानमा छन् । त्यसैले सम्मेलन आउन पाँच दिन मात्र बाँकी रहँदा पनि सम्मेलन हुने वा नहुने द्विविधा सकिएको छैन ।

कमजोर तयारी

शान्तिपूर्ण राजनीतिमा आएपछि एमाओवादीको संगठन दिनपरदिन कमजोर बन्दै गएको देखिन्छ । लोकतान्त्रिक परिवेशमा एमाओवादीले गरे जस्तो टिके प्रथामा आधारित संगठनात्मक संरचनाबाट बलियो पार्टी बन्न पनि सक्दैनथ्यो । त्यही बुझेर हुन सक्छ, एमाओवादीले पहिलो पटक आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने प्रक्रिया अवलम्बन गर्दैछ । हेटौंडा महाधिवेशनले भने अध्यक्ष, उपाध्यक्ष र महासचिव मात्रै चयन गरेर अरू पदाधिकारी चयन गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो । तर, अहिले पनि यसरी गरिने सम्मेलनले समस्यालाई अझ बल्झाउने बाबुरामको भनाइ छ । गत वर्ष भदौमा पनि सांगठनिक समाधान खोज्न भएको एउटा भेलामा बाबुरामले उपाध्यक्ष पद त्याग गर्ने घोषणा गरेपछि नै एमाओवादीमा विवाद बढेको थियो ।

सांगठनिक विवादलाई निर्वाचनबाट समाधान गर्ने निर्णय अनुसार अहिले एमाओवादी जिल्ला र गाउँ तहसम्म निर्वाचनको तयारीमा जुटेको छ । तर अहिलेसम्म ४० प्रतिशत पार्टी सदस्यहरूले मात्र सदस्यता नवीकरण गरेका छन् । तीमध्ये पनि धेरैको नेताले नै नवीकरण शुल्क तिरिदिएका छन् । सदस्यता नवीकरणमा कार्यकर्ताले देखाएको यस्तो उदासीनताले पार्टी र नेताप्रति उनीहरूको चरम अविश्वास संकेत गर्छ । बाबुराम पक्षले यसलाई पनि कारण देखाउँदै कतिपय जिल्लामा सम्मेलन नसकिएको र सदस्यता नवीकरण गर्न समय अपर्याप्त भएकोले सांगठनिक सम्मेलनको औचित्य नरहेको बताउँदैछ । संस्थापन पक्ष चाहिं जुनसुकै परिस्थितिमा तोकिएको मितिमै सम्मेलन गर्ने अडानमा छ ।

जिल्ला तथा गाउँ तहको निर्वाचनबाट अध्यक्ष दाहालको पक्षमा अत्यधिक प्रतिनिधि चयन हुने निश्चित छ । बाबुराम र नारायणकाजी श्रेष्ठको पक्षमा बहुमत आउने एउटा जिल्ला समेत छैन । त्यही भएर बाबुराम पक्षले निर्वाचनको साटो भागबण्डामा निश्चित प्रतिनिधि दिन माग गरेको छ । दाहालको बहुमतलाई स्वीकार गर्दै ४० प्रतिशत प्रतिनिधि पाउनुपर्ने माग लिएर बाबुराम र श्रेष्ठका प्रतिनिधिले दाहाललाई भेटे पनि । तर, उक्त प्रस्तावप्रति आफूनिकट नेताहरूले सहमति नदिएपछि दाहाल सकारात्मक हुन सकेनन् । त्यसैले, राष्ट्रिय सम्मेलनमा भट्टराई र श्रेष्ठ समूहको प्रतिनिधित्व ज्यादै न्यून हुनेछ ।

सम्मेलनको प्राविधिक तयारीको लागि तीनै समूहका वर्षमान पुन, देवेन्द्र पौडेल र विश्वभक्त दुलाल रहेको समिति बनाइएको थियो । यसले पार्टीमा तीन समूहलाई आधिकारिक रूपमै स्वीकारिएको देखाउँछ । त्यसरी, गुटहरूलाई आधिकारिक रूपमा मान्यता दिएकोमा कैयौं नेताहरूले विरोध पनि गरेका थिए । गुटको अस्तित्वलाई अध्यक्षले नै आधिकारिकता दिएपछि गुटको अन्त्य कसरी हुन्छ भन्ने दाहालसँग उनीहरूको प्रश्न थियो । अपुरो तयारीमा राष्ट्रिय सम्मेलन गर्दा सम्मेलन नै पार्टीको विघटनको थलो हुने पनि उनीहरूको भनाइ थियो ।

फरक दस्तावेज

विशेष महाधिवेशन नगरी पार्टीभित्रका समस्याको हल गर्न नसकिने तर्क राखिरहेका बाबुरामले यही सम्मेलनमा पनि दाहालको विपक्षमा फरक दस्तावेज प्रस्तुत गर्दैछन् । हेटौंडा महाधिवेशनसम्म दाहालसँगै मत मिलाएका बाबुराम महाधिवेशनलगत्तै दाहालसँग रुष्ट बनेका थिए । त्यसको प्रमुख कारण थियो, महाधिवेशनमा उनका लागि विशेष पद सिर्जना गर्ने सहमति तोडेर दाहालले उनलाई उपाध्यक्ष मात्र बनाउनु । त्यही असन्तुष्टिका कारण उनले उपाध्यक्ष पद पनि त्यागे । त्यो असन्तुष्टि बढ्दै गएर बाबुराम पार्टीभित्र ‘नयाँ शक्ति निर्माण गर्नुपर्ने’ तहमा पुगेका हुन् । अहिले बाबुरामले पेश गर्न लागेको दस्तावेज पनि आफूलाई नेतृत्वमा उभ्याउने र त्यसको लागि दाहाललाई दबाब दिने रणनीतिबाटै आएको देखिन्छ ।

दाहाल भने हेटौंडा महाधिवेशनको दस्तावेजलाई अझ् बढी ‘बाबुरामकरण’ गर्दैछन् । किनभने दाहालले बाबुराम दस्तावेजको कुन अंशसँग जोडिएको आफ्नो भूमिकाबारे असन्तुष्ट छन् भन्ने राम्रोसँग बुझ्ेका छन् । यसअघि चाहिं दाहाल वैद्य समूहसँग एकता गर्ने उद्देश्यसाथ दस्तावेज तयार पार्ने मनस्थितिमा थिए । तर उक्त एकता द्रुतगतिमा अगाडि बढ्ने परिस्थिति नदेखेपछि दाहाल बाबुरामलाई समेट्ने दस्तावेज निर्माण गर्ने निष्कर्षमा पुगे । बाबुराम र वैद्यको राजनीतिक बुझइ र मान्यता विपरीत छ । तर दस्तावेजलाई राजनीतिक दाउपेच मात्र ठान्ने दाहालले बाबुरामपरस्त दस्तावेज लेख्नु आफ्नो हितमा देखे । त्यसैले दाहालको दस्तावेजमा अहिले पनि पूँजीवादी जनवादी क्रान्तिका अधिकांश कार्यभार पूरा भएको, समाजवादी क्रान्तिको तयारी तथा नेपाली समाजको मूल चरित्र पूँजीवादी भएको मान्यतामा आधारभूत परिवर्तन गरिएको छैन । व्याख्यामा अस्पष्टता राखेर दाहालले यसमा पनि आफ्नो चरित्र भने कायमै राखेका छन् ।

पुरानो पार्टीभित्र ‘नयाँशक्ति’ निर्माणको कुरा गरेकाले बाबुरामले एमाओवादीभन्दा बाहिर बढी चर्चा पाए, जसले दाहालमाथि दबाब पनि सिर्जना गर्‍यो । त्यही कारण दाहालले पार्टीभित्र र बाहिर त्यसको पर्याप्त प्रतिवाद गरे । दाहाल र बाबुरामको यो विवादमा श्रेष्ठले चाहिं दस्तावेज भन्दा व्यवहारबाट अध्यक्ष रूपान्तरण हुनुपर्ने बताएका छन् । यसो भनेर श्रेष्ठले आफ्नो भूमिकाको मूल्याङ्कन गराउने योजना बनाएका छन् । अहिले उनी पार्टीमा दाहालपछिको वरियता चाहन्छन् । त्यसका लागि बाबुरामलाई कमजोर पार्न उनले राष्ट्रियतालाई लडाईंको मुख्य औजार बनाएका छन् ।

यसरी सांगठनिक राष्ट्रिय सम्मेलन स्थगित हुँदा वा नहुँदा जुनसुकै अवस्थामा एमाओवादी विघटन हुने देखिन्छ । किनभने दाहालले सम्मेलन स्थगित गरे पार्टी विघटन हुने बताइरहेका छन् भने भट्टराई र श्रेष्ठले सम्मेलन स्थगित नगरे पार्टी विघटन हुने तर्क दिइरहेका छन् । दुवैथरी नेताहरूको भनाइलाई मान्ने हो भने दुवै स्थितिमा एमाओवादी विघटन नै हुने देखिन्छ । तर, यस्तो होला कि नहोला भन्ने हेर्न भने केही दिन पर्खनै पर्नेछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>