अन्तर्वार्ता/विचारमंगलबार, बैशाख १६, २०७१

एमालेमा नीति सफल नेतृत्व असफल?

विष्णु रिजाल

नेकपा (एमाले) ले २४—२९ जेठमा काठमाडौंमा गर्न लागेको नवौं राष्ट्रिय महाधिवेशनका लागि एमाले पंक्तिले मूलतः दुई प्रश्नमा बहस गरिरहेको छ । पहिलो, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले आधा शताब्दीअघि गरेको विश्लेषण अनुसार नै नेपाली समाज ‘अर्ध–सामन्ती’ र ‘अर्ध–औपनिवेशिक’ छ वा यसले पूँजीवादतिर पाइला हालेको छ । दोस्रो, आगामी नेतृत्वमा कसलाई पुर्‍याउने ? सैद्धान्तिक बहसमा कम ध्यान दिइरहेको एमालेमा अहिले नेतृत्वबारे नै माथिदेखि तलसम्मको पंक्ति उत्साह साथ भाग लिइरहेको छ ।

बहसमा एक कोणबाट ‘विगतमा नेतृत्व असफल भएकाले फेरि दावी गर्न नमिल्ने’ तर्क आइरहेको छ भने अर्को कोणबाट ‘कसैको व्यक्तिगत इच्छा पूरा गर्न पार्टीलाई प्राइभेट लिमिटेड जस्तो फलानोपछि फलानो भनेर भागबन्डा गर्न सकिंदैन’ भनिएको छ । दुवै तर्कका आफ्नै योजना होलान् । तर, विगतमा एमालेको नेतृत्व सफल वा असफल के रहयो भन्ने निष्कर्षमा पुग्न केही तथ्यहरूमा टेक्न जरूरी छ ।

लोकतान्त्रिक छवि निर्माण

२०४९ को पाँचौं महाधिवेशनमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई एमालेले २०५९ को सातौं महाधिवेशनमा ‘नेपाली क्रान्तिको सिद्धान्त’ बनायो । कम्युनिष्ट आन्दोलनमा प्रयोग हुने परम्परागत भाषा, परिभाषा, जार्गन र सन्दर्भलाई थाती राख्ने हो भने भण्डारीले गरेको सबभन्दा ठूलो योगदान हो– कम्युनिष्ट पार्टीलाई उग्रवामपन्थी विचारबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गर्नु ।

कम्युनिष्टहरूको आदर्शका रूपमा रहेको सोभियत संघ र पूर्वी यूरोपमा कम्युनिज्मले धक्का खाएको वेला भण्डारीले साहसका साथ कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण बहुदलीय राजनीतिमा अवतरण गराएका थिए । जतिसुकै नवीन र नेपाली माटोको मौलिक कार्यक्रम भने पनि त्यो विचार एकाएक प्रकट भएको थिएन । छिमेकी भारतको नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा निर्वाचनबाटै कम्युनिष्टहरूले सरकार चलाएका थिए भने ल्याटिन अमेरिकामा पनि त्यस्ता प्रयोग भएका थिए । यूरोपका कम्युनिष्ट पार्टीहरूले पनि त्यस्तो प्रयोग गरेकै थिए ।

तर, उग्रता र जडतामा रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक मार्गमा हिंडाउने असजिलो कामलाई भण्डारीको अभावमा पनि एमाले नेतृत्वले कुशलतापूर्वक निर्वाह गर्‍यो । त्यही कारण एमालेको लोकतान्त्रिक निष्ठामा कहीं कतैबाट कसैले प्रश्न उठाउन नसक्ने अवस्था आएको छ । एउटा पार्टीको रूपान्तरणका लागि यो उपलब्धि होइन र ?

मदन भण्डारी फाउन्डेशनद्वारा ९ वैशाखमा आयोजित विचार गोष्ठीमा नेताहरुलाई अभिवादन गर्दै उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतम । तस्वीरः आनन्दराम डंगोल

लामो इतिहास भएको नेपाली कांग्रेसले नेपालमा प्रतिस्पर्धी राजनीतिक दल होला भन्ने ठानेको थिएन । चिरा–चिरामा विभक्त, नामै नसुनिएका र भूमिगत राजनीति मात्र गरेका कम्युनिष्टहरूले चुनौती देलान् भन्ने उसको कल्पनामा पनि थिएन । तर, २०४८ को निर्वाचन परिणामबाट देखियो– एमाले वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा विकास भएको । भण्डारीको अनुपस्थितिमा २०५१ मा भएको मध्यावधि निर्वाचनबाट एमाले सबभन्दा ठूलो दल हुनु दुनियाँकै लागि आश्चर्यको विषय थियो ।

कम्युनिष्टहरूले भन्ने गरेको क्रान्तिभन्दा पहिले पनि सरकारमा पुगेर जनताको सेवा गर्न सकिन्छ र त्यस मार्फत जनतालाई गोलबन्द गर्न सकिन्छ भन्ने सन्देश एमालेले २०५१ मा अल्पमतको सरकार चलाएर दिएको थियो । सामाजिक सुधार, विकासमा जनसहभागिता र गाउँमुखी अवधारणाका कारण एमालेलाई जनताले भरपर्दो शक्तिका रूपमा विश्वास गरे । त्यसो गर्नु एमालेको नेतृत्वको गल्ती थियो ? बरु, त्यसपछि सरकारमा जाने नाममा लोकेन्द्रबहादुर चन्ददेखि शेरबहादुर देउवासम्मलाई काँध थाप्न जसरी नेताहरू दाम्लो चुँडाउन लागे, त्यसबाट ती पात्रहरूलाई फाइदा भए पनि एमालेलाई भने घाटा भयो । त्यसको मूल्याङ्कन गर्नुपर्दैन ?

माओवादी रूपान्तरण

माओवादी उग्रवादमा आधारित हत्या–हिंसाले मुलुकको राजनीतिमा ठूलो प्रभाव पारेकै हो । त्यसको असर एमालेको एउटा हिस्सालाई पनि पर्‍यो । त्यसो हुनुमा एमालेलाई नधपाएसम्म आफ्ना लागि ठाउँ खाली हुँदैन भन्ने माओवादीको मान्यता एउटा कारण थियो भने उसको एकाधिकारवादी चिन्तन अर्काे कारण थियो । माओवादीले एमालेलाई ‘संशोधनवादी’, ‘गद्दार’, ‘राष्ट्रघाती’, ‘प्रतिक्रियावादी’ जस्ता निकृष्ट उपमा दिएर प्रहार गर्नुको कारण पनि त्यही थियो ।

माओको सशस्त्र युद्धको प्रभावको जगमा स्थापना भएकाले एमालेका कैयौं कार्यकर्तालाई माओवादीको युद्ध रमाइलो लाग्नु अस्वाभाविक थिएन । त्यसमाथि एमाले विभाजनले त्यसलाई मलजल गर्दा कार्यकर्ताको एउटा पंक्ति युद्धको रुमानी सपनाबाट प्रभावित हुन पुग्यो । त्यसरी कमजोर बनिरहेको एमालेका नेता–कार्यकर्ता माओवादीले भौतिक प्रहारका कारण गाउँबस्तीबाट विस्थापित भए । त्यस्तो वेलामा पनि माओवादीसँग संघर्ष र रूपान्तरणको नीतिबाट एमाले विचलित भएन र माओवादीलाई रूपान्तरण गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउन निरन्तर लागिरहयो ।

कतिपय आन्तरिक र बाह्य प्रतिकूलताका बीच महासचिव माधवकुमार नेपालले देशभित्र र भारतका लखनऊ, सिलिगुडी र दिल्ली पुगेर त्यही प्रयत्न अघि बढाए । त्यतिले मात्रै माओवादीलाई रूपान्तरण गर्‍यो भन्न नसकिए पनि एउटा पार्टीको रूपान्तरण र अवतरणमा अर्को पार्टीले गर्न सक्ने यो महत्वपूर्ण सहजीकरण थियो ।

लोकतान्त्रिक धारमा रहेर पनि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निरन्तर लाग्दा एमालेलाई घाटा लागे जस्तो देखिए पनि राष्ट्रले भने फाइदा नै पायो । त्यही कारण १७ हजार मानिसको ज्यान लिएपछि माओवादी एमाले हिंडेकै बाटोमा आइपुग्यो । ‘एक्काइसौं शताब्दीको जनवाद’ वा अरू जेसुकै नाम दिए पनि शान्तिपूर्ण राजनीतिमा भाग लिने, जित्दा सरकार बनाउने, हार्दा प्रतिपक्षमा बस्ने, संविधान र कानून मान्ने अनि विपक्षीको अस्तित्व स्वीकार गर्ने विचारको प्रतिलिपि नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले बाहेक अरूसँग छैन ।

माओवादीले नभने पनि आफ्ना तमाम असंगत, गैरलोकतान्त्रिक र अधिनायकवादी धङधङीहरू बोकेर ऊ एमालेकै ठाउँमा आइपुगेको छ । एमालेले त्यसलाई भजाउन र लाभ लिन कति सक्यो वा सकेन आफ्नो ठाउँमा भए पनि एउटा विचारधारात्मक जगमा उभिएको जनआधारित पार्टीका लागि यो उपलब्धि केही होइन भन्न मिल्ला र ? एमालेका नेता–कार्यकर्ताका लागि सैद्धान्तिक बहस गर्दा शिर ठाडो पार्ने र उच्च नैतिक साहस दिने यो विषय महत्वको हुनुपर्ने होइन र ?

गणतन्त्रको बाटो

तत्कालीन राजा ज्ञानेन्द्रले सत्तारुढ नेपाली कांग्रेसको आन्तरिक विवादको फाइदा उठाउँदै निरंकुश चाहनालाई पूरा गर्न ८ जेठ २०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा प्रतिनिनिधिसभा विघटन गर्दै त्यसको चार महीनापछि १८ असोजमा उनको सरकार नै विघटन गरिदिए । त्यसबीचमा दरबारले पार्टीहरूभित्र खेलेकाले एमालेभित्र पनि लोकेन्द्रबहादुर चन्दको सरकारमा जानुपर्छ भन्ने आवाज उठ्यो । पछि देउवा पुनः प्रधानमन्त्री नियुक्त भएपछि तत्कालीन नेतृत्वको इच्छा विपरीत एमालेमा ‘प्रतिगमन आधा सच्चिएको’ सिद्धान्त प्रतिपादन भयो र एमालेलाई सरकारमा पुर्‍याइयो ।

१९ माघ २०६१ को घटनापछि एमालेमा अझ प्रष्ट ध्रुवीकरण देखियो । मुख्य नेतालाई नजरबन्दमा राखियो भने केहीलाई जानीबुझी खुला छोडियो । पार्टीभित्र एकातिर गणतन्त्रमा जानुपर्छ भन्ने दबाब बढ्दै थियो भने अर्कातिर त्यसलाई ‘गोरुगाढामा चढेर अमेरिका पुग्ने’ भनिंदै थियो । यस्तो प्रतिकूलता र आन्तरिक चुनौतीको बीचमा पनि एमालेले साउन २०६२ मा भएको केन्द्रीय कमिटीको बैठक मार्फत लोकतान्त्रिक गणतन्त्रको नारा निर्माण गर्‍यो र बाँकी सहयात्री दलहरूलाई पनि त्यसमा आउन प्रेरित गर्‍यो । माओवादीसँग १२ बुँदे सहमति भएको त्यही जगमा हो ।

दस्तावेजहरू हेर्दा हुन्छ– एमाले नै पहिलो पार्टी हो, जसले १९ माघपछि राजतन्त्रलाई अस्वीकार गर्र्दै गणतन्त्रलाई कार्यनीतिक नारा बनायो । अहिले दृश्यमा देखिएका कतिपय नेताहरूको भूमिका त्यो वेला निष्क्रिय र अदृश्य थियो भन्ने एमालेका कार्यकर्ताले बिर्सेका छैनन् । समयको गति अनि राजनीतिक दिशा बुझ्नु र त्यस अनुसार पार्टीको भविष्य सुनिश्चित गर्नु असफलता हो ?

नीति र नेतृत्वको विरोधाभास

यतिवेला महाधिवेशन केन्द्रित बहस गर्दा खास व्यक्तिलाई ‘विगतमा असफल भएको’ भारी बोकाउन खोजेर विगतमा एमालेले हासिल गरेका उपलब्धिलाई नजरअन्दाज गरिएको छ । यसबीचमा तमाम प्रतिकूलताका बाबजूद एमाले लोकतान्त्रिक र अग्रगामी पार्टीका रूपमा स्थापित भएको छ । एमालेले लिएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता नीति कसैलाई मन नपरेको भए वेग्लै हो, नत्र विगतमा अवलम्बन गरेका नीतिका आधारमा त्यतिवेलाको नेतृत्वमाथि प्रहार गर्नुपर्ने कुनै कारण छैन ।

अर्को महत्वपूर्ण तथ्य, एमाले सामूहिक नेतृत्व प्रणालीमा चल्ने पार्टी हो । यसमा कांग्रेस वा एमाओवादीमा जस्तो प्रमुख नेताको हुकुम चल्दैन । निर्णयहरू कमिटीले गर्छ । केन्द्रीय कमिटीमा मनोनयन, निर्वाचनमा टिकट वितरण वा कसैलाई जिम्मेवारी दिने विषयमा एमालेको नेतृत्वले व्यक्तिगत रूपमा निर्णय गर्न सक्दैन । त्यसैले, २०६४ को निर्वाचनमा बेहोरेको असफलतालाई आधार बनाउँदा पनि त्यसबाट कोही भाग्न मिल्दैन । जिम्मेवारी बोकेर दिएको राजीनामालाई अपमानको विषय बनाउने हो भने त्यतिवेला हार्ने नेता अरू पनि थिए र निर्णय प्रक्रियामा उनीहरू कोही अलग थिएनन् । अहिले पनि महासचिव, सचिव जस्ता पदमा बसेर चुनाव हार्नेहरूले राजीनामा नदिएको उदाहरण छ ।

एमालेले लिएका हरेक नीति सफल भएको भनेर गर्व गरिन्छ, त्यसैका आधारमा मुुलुकको राजनीति अघि बढेको विश्लेषण प्रायः सबै नेताहरूबाट सुनिन्छ । ‘दायाँतिर रहेको कांग्रेसलाई तानेर अग्रगमनतिर र बायाँतिर रहेको माओवादीलाई तानेर लोकतन्त्रको बाटोमा एमालेले ल्यायो’ भनेर नेताहरू नै भन्छन् । सबै नीति सफल तर त्यतिवेलाको नेतृत्व चाहिं असफल ? त्यतिवेलाको नेतृत्वलाई असफल सावित गर्ने हो भने प्रष्ट रूपमा भन्नुपर्छ– एमालेले लिएका यी–यी नीति गलत भए ।

सफलता वा असफलताको मापन गर्ने हो भने त्यस कसीमा राख्नुपर्ने नेता धेरै छन् । बलियो पार्टीलाई फुटाएर अर्को पार्टी बनाउने र अनेक उटपट्याङ विचार राख्दा पनि सफल हुन नसकेर चार वर्षमै गल्ती गरें भनेर पार्टीमा फर्किने नेता चाहिं सफल अनि पार्टीलाई जोगाउने, बलियो बनाउने र एकीकृत पार्ने नेता चाहिं असफल ? एमालेलाई उग्रवामपन्थ र दक्षिणपन्थबाट जोगाएर जुन रूपमा अघि बढाइएको छ, यो नै यसको सबभन्दा ठूलो सम्पत्ति हो र नेतृत्वको सबभन्दा ठूलो सफलता पनि यही नै हो ।

महाधिवेशनका वेला इच्छुक नेताले नेतृत्वका लागि कोशिश गर्नु अस्वाभाविक होइन । अझ विगतदेखि नै कसरी नेतृत्वमा जान सकिएला भनेर अनेक कोशिश गरेका र असफलता हासिल गरेका नेताहरूबाट त्यस्तो प्रयास हुनु झन् स्वाभाविक हो । तर, आफूलाई अब्बल सावित गर्न अरूका एजेन्डामाथि प्रहार होइन, आफ्ना एजेन्डा अघि सार्नुपर्छ । आफूलाई फाइदा हुने गरी सिद्धान्त सिर्जना गर्ने र आफ्ना अतृप्त आकांक्षाहरूको पूर्तिका लागि सिद्धान्तको जामा पहिरिनुलाई स्वाभाविक मान्न सकिन्न ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>