Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिमाना भित्रै छ ग्रेटर नेपाल - Himalkhabar.com

ब्लगमंगलबार, बैशाख १६, २०७१

सिमाना भित्रै छ ग्रेटर नेपाल

केदार शर्मा

अघिल्लो साता नेपाल र नेपाली भाषाका बारेमा दुई वटा विचार प्रकाशमा आए र तिनका बारेमा निकै खस्रो–मसिनो छलफल पनि भयो । लेखक सीके लाल र राजनीतिज्ञ सरिता गिरीका नेपाली राष्ट्रियता, नेपाली भाषा र नेपालको नाम सम्बन्धी विचारले समाजका ‘टेक्टोनिक प्लेटहरू’ मा निकै कम्पन–प्रतिकम्पन ल्यायो ।

अनलाइन पत्रिका सेतोपाटी ले छापेको सीके लालको किताब ‘मिथिला मन्थन’ को अंशबाट अगाडि आएका कुरामा पहिलो थियो– ‘नेपाली’ भनेर नेपालको राष्ट्रियता अब रहन सक्दैन, अब ‘नेपालीय’ भन्नुपर्ने हुन्छ राष्ट्रियताको हिसाबले; र दोस्रो थियो– नेपाली भाषा अंग्रेजहरूले गोर्खाली सिपाहीहरूका लागि तयार पारिदिएका हुन् । उनको भनाइको ध्यान दिनुपर्ने पक्ष राष्ट्रियता सम्बन्धी थियो तर पाठकको ध्यान भने भाषा सम्बन्धी मनोगत वक्तव्यमा गयो । लालले ‘सन् १८५७ (विसं १९१४) को सिपाही विद्रोहपछि अंग्रेजले गोर्खालीका लागि बनाइदिएको’ भनेर लेख्नुअघि भानुभक्त आचार्यले त्यसअघि नै नेपाली भाषामा रामायण लेखेको सम्झिन बिर्सिए ।

एमाले सभासद् भीम रावलले सेतोपाटी मै अघिल्लो संविधानसभामा सरिता गिरीले यो देशको नाम ‘नेपाल’ नै नराख्ने प्रस्ताव राखेको खुलासा गरे । गिरीले सबैलाई छक्क पार्दै तुरुन्तै सकारिन् पनि, “मैले ‘नेपाल’ को नाम फेरौं भनेर संवैधानिक समितिमा प्रस्ताव दर्ता गरेकै हो ।” रावलले ‘घोर निन्दनीय’ भनेको प्रस्तावबारे उनले भनिन्, “समितिको काम नै यस्तै विषयमा छलफल गरेर निक्र्योलमा पुग्नुथियो । त्यो कुनै अस्वाभाविक काम वा अपराध हैन ।”

जायज विवाद

प्रभावशाली लेखक लाल शीतल स्वभाव र व्यवहारका धनी छन् । कहिलेकाहींका लेखहरू हेर्दा भने लाग्छ, उनको शिष्टता र सर्वज्ञता वेलावेला आक्रोशको भुमरीमा घुम्छ र त्यही रिंगटामा भन्न खोजेको कुरा अल्मलिन्छ । उनी यदाकदा अमूर्त वाक्यहरू उनेर तथ्य र तर्कमा नटिक्ने वक्तव्य जारी गर्छन् । अनि उनका अमूर्त वाक्य बुझ्एिनन् भनेर कुनै पाठक अल्पबुद्धि सावित हुन चाहँदैन र त्यही अलमल बीच उनको बुद्धिको व्यापार चल्छ ।

उक्त लेखमा पनि अस्पष्टता, अमूर्तता र कालक्रमको अमिल्दोपनको अधिकता छ तर त्यहाँ कटु यथार्थका केही पोटिला दाना पनि छन् । “नेपाली भन्नाले नेपाली भाषी, हिन्दू धर्म, नेपाली संस्कृति मान्ने, वीर गोर्खाली जाति भन्ने हुन् । ती भूटानबाट आएका भए पनि उसको देश नेपाल, बर्माबाट आए पनि उसको देश नेपाल” भन्ने सीके लालको कथन गलत होइन ।

किनभने, भारतीय प्रहरीका कर्मचारी प्रशान्त तामाङलाई ‘नेपाली’ मान्ने र उदितनारायणको नेपालीत्वमा अशिष्ट ढङ्गले पटक–पटक प्रश्न उठाउने हामीमध्येकै कोही हौं । नेपाली शब्दले संसारभरका नेपालीभाषीलाई समेट्न सक्छ भन्ने तर्क गर्न सकिएला, तर यो शब्दलाई पहिले नेपालका सबै समुदायलाई समेट्ने गरी फराकिलो बनाउनुपर्छ । नत्र, यसको औचित्यमा प्रश्न उठ्छ; उठाउनुपर्छ ।

गिरीले सेतोपाटी मा देशको नाम फेरेर ‘सगरमाथा’ राख्ने आफ्नो प्रस्ताव रहेको पनि बताइन् । तर, हालको राष्ट्रिय झन्डाप्रतिको आफ्नो अडानबारे रावलले केही उल्लेख नगरेको तर्फ सङ्केत गर्दै उनले भनेकी छन्, “हामीलाई तल्लो दर्जाको नागरिक र आफूलाई राष्ट्रवादको ठेकेदार ठान्ने नेताले यस्ता तथ्य त बाहिर ल्याउँदैनन् ।”

राष्ट्रिय झन्डालाई यस्तो समर्थन गर्ने व्यक्ति देशको नामै फेर्नुपर्ने कारणमा ‘नेपाल’ शब्दलाई सबैको पहिचान, भाषा, सभ्यता र संस्कृतिको साझा शब्द बन्न दिइएको छैन भन्छिन् । ‘नेपाल’ नाम र ‘नेपाली’ भाषा आम बुझाइमा गोर्खाली समुदायको भइसकेको छ ।

धेरैले भोगेको, थोरैले भनेको

सीके लालले देशकै नाम फेर्नुपर्छ नभने पनि ‘नेपाली’ शब्दले मधेशलाई समेट्दैन भन्ने कुरा स्पष्ट शब्दमा भनेर विकल्पमा ‘नेपालीय’ प्रस्ताव गरेका छन् । सरिता गिरीले ‘सगरमाथा’ लाई तटस्थ ठानिन् । उनी भन्छिन्, “म नेपाली नागरिक हुँ । तर मेरो अनुहार वा लवज हेरेर ‘इन्डियन’ वा ‘मधेशी’ भनिन्छ । मेरो जस्तै पीडा भोग्ने लाखौं छन् ।”

जातिहरूबीचको अन्तरसम्बन्ध र अन्तरविरोध संसारभर सधैंभरि कुनै न कुनै रूपमा चल्ने कुरा हो । आपसमा प्रशस्त अन्तर, विभेद र पारस्परिक गुनासा हुँदाहुँदै पनि बाहुनछेत्री, नेवार, जनजाति र दलित जस्ता पहाडेहरूलाई ‘गोर्खाली’ भन्ने सूत्रले जोडेको छ र मधेशीहरूप्रति भेदभाव गर्ने कुरामा एउटा अनौठो र अव्यक्त समानता पाइन्छ । यो साझा भेदभाव अनुभव नगर्ने मधेशी भेटिए आश्चर्यजनक सौभाग्य हुनेछ ।

फिल्म निर्देशक दीपक रौनियारसितको निकटताका कारण मैले पनि त्यस्तो भेदभावको चह¥याउँदो अनुभव गरेको छु । एकपटक ट्याक्सीमा दुई वटा पुराना कम्प्युटर हालेर कुपन्डोलबाट न्यूरोड जाँदै गर्दा वागमती पुलमा दीपकसित पुलिसले कम्प्युटरको बिल मागेछ । “दाइ, तपाईंलाई भए माग्ने थिएन हगि !” दीपकले खिस्स हाँस्दै यो कुरा भन्दा मलाई थाहा थियो, ऊ हाँसेको थिएन; बरु साधारण देखिने त्यो सहिनसक्नुको भेदभावलाई सहने अभ्यास गर्दैथियो । तरकारी बेच्ने र रिक्सा चलाउने मधेशीहरूलाई पहाडेहरूले सीधै ‘तँ’ भनेर सम्बोधन गर्दा मेरो ब्रह्माण्डमा जहिल्यै आगो लाग्छ । एकपटक मित्र धीरेन्द्र प्रेमर्षिसित भनेको पनि थिएँ, “मधेशमा कुनै अप्ठ्यारो आन्दोलन गर्नु पर्दैन, एकहप्तासम्म पहाडेहरूलाई ‘तँ’ भने पुग्छ ।”

नेपालमा रङ्गभेद र जातिभेद सामान्यतया भेदभावमा नपर्नेलाई त अनुभव हुन्छ भने कुनै न कुनै रूपमा दिनहुँ हेपिनेहरूलाई कस्तो हुँदो हो । पशुपति मन्दिर प्रवेशका लागि हिन्दू र अहिन्दू चिन्न छालाको रङकै प्रयोग हुन्छ । एकपटक मनकामनामा केबलकार चढ्ने लाइनमा पालो मिच्नेहरूसित म बाझें । पालो मिच्ने मान्छेले मलाई अपमान गर्न भन्यो, “धोती टुरिसको गाइड भएँ भनेर फुर्ती नगर्नू ।” उसले ‘धोती टुरिस’ भनेको मान्छे दीपक रौनियार नै थियो ।

यी त मैले देखेका केही उदाहरण मात्र हुन् । यसभन्दा धेरै दुःख लाग्ने, सहनै नसकिने भेदभाव भोग्ने नेपाली अनगिन्ती छन् ।

पाठ होइन, व्यवहार

समानता र जातीय सद्भावबारे धेरै लेखिएको, बोलिएको र गाइएको छ, तर मौका पर्दा अर्कालाई निचो देखाउन नखोज्ने कोही छैन । अन्तरजातीय विवाहले जातीय सद्भाव बढाउन मद्दत गर्छ भन्ने एउटा मान्यता छ, तर हामीले एकअर्काको जातलाई गिज्याउँदै जीवन बिताएका दम्पती पनि देखेका छौं । धेरै मधेशी नेताहरूले पहाडमा वैवाहिक सम्बन्ध गाँसेका छन्, तर मधेश–पहाड सम्मान–सदभाव बढाउनमा भन्दा द्वन्द्वकै भुंग्रोमा रोटी सेक्दा रमाउने गरेका छन् ।

भेदभाव अन्त्यका लागि अभ्यास चाहिन्छ । आत्मश्लाघा ठानिएला भन्ने हुँदाहुँदै पनि एउटा व्यक्तिगत प्रसङ्ग उल्लेख गर्न मन लाग्यो । पाँच वर्षअघि १२ कक्षाको पढाइ सकेपछि स्वयंसेवी कामका लागि हाम्री छोरी लुम्बिनी जाने भई । भैरहवामा विमान ओर्लिने समय भयो भन्ठानेर फोन गर्दा ऊ रिक्सामा लुम्बिनीतिर हिंडिसकेकी रहिछ । ट्याक्सी बराबरकै भाडा पर्ने र छिट्टै पुग्ने हतार नभएकाले रिक्सा रोजेको उसले बताई । त्यसका पछि श्रमको सम्मान र वातावरण अनुकूल व्यवहार जस्ता कारण पनि थिए । ‘साथी को छ ?’ भन्ने हाम्रो प्रश्नको जवाफमा उसले भनी, “रिक्सावाला दाइ ! क्या रमाइला गफ सुनाउँदै हुनुहुन्छ ।”

हामी अलिकति दङ्ग पनि पर्‍यौं । कुनै पनि जातिधर्मका बारेमा नराम्रा शब्द कहिल्यै नसुनेका, धर्म–समुदाय निरपेक्ष शिक्षा पाएका केटाकेटीले कुनै पनि जाति, वर्ण वा समुदायका भएका कारण मान्छे असल वा खराब हुँदैनन् भन्ने कुरामा विश्वास गर्छन् भन्ने हाम्रो मान्यता थियो र त्यही भयो । त्यो प्रसङ्ग सुनाउँदा हाम्रै केही आफन्तले ‘तिमीहरूको आदर्शले कुन दिन भड्खालामा जाक्छ’ समेत भने । सद्व्यवहारले होइन, दुव्र्यवहारले भड्खालामा हाल्छ र सबैलाई हाल्छ भनेर बुझाउन सक्नुपर्ने हो । तर हाम्रो प्रयास ‘म र मेरो परिवारबाट कुनै पनि जाति र धर्मका विपक्षमा कुनै कुरा गरिने छैन’ भन्नेमा मात्र सीमित छ ।

ग्रेटर नेपालको खोजी

ग्रेटर नेपालका अतिवादी गफ हाँक्नेहरू मात्र होइन, पूर्वी–पश्चिमी सिमानामा पुग्दा पारितिर हेरेर ‘यो हाम्रै थियो नि !’ भनेर चुकचुकाउने नेपाली पनि धेरै छन् । तर, दक्षिण सिमानामा पुग्दा त्यहाँभन्दा पारिको केही भूभाग पनि केही समयका लागि नेपाल थियो भनेर सम्झिने कमै छन् । वास्तवमा इतिहासका घटनाक्रमले खोसेको भूभागलाई जति माया आफ्नै देशका भूभाग र आफ्नै दाजुभाइलाई गरे पुग्छ । मनमा समेट्न बाँकी ग्रेटर नेपाल सिमाना भित्रै छ भनेर बुझे पुग्छ ।

देशको नाम वा जातिको नाम फेरेर समस्याको समाधान हुँदैन । राजमार्गलाई लोकमार्ग भन्दैमा यात्रा र गन्तव्य फेरिंदैन भन्ने देखिइसकेको छ । फेर्नुपर्ने मन हो । यो दुईतर्फबाटै गर्नुपर्ने कुरा हो, तर धेरै जिम्मेवारी बहुसंख्यकको हुन्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>