रिपोर्टबिहीबार, बैशाख १८, २०७१
सगरमाथा सकस
– भृकुटी राई र म्यट मिलर
यूरोपेली संघले नेपालका आन्तरिक विमान सेवालाई कालो सूचीमा राखेपछि यसपालिको वसन्तमा खुम्बु क्षेत्रमा विदेशी घटे। त्यसपछि ५ वैशाखमा सगरमाथा आधार शिविरभन्दा केही माथि चलेको हिमपहिरोमा पुरिएर १० नेपाली गाइडको ज्यान गयो, तीन जना अझै बेपत्ता छन्।
दुर्घटनापछि आधार शिविरमा जम्मा भएका नेपाली गाइडले यस वर्ष सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन्। तीन पटक सगरमाथा आरोहण गरेका गाइड तुलसी गुरुङले आधार शिविरबाट फोनमा हिमाल सँग भने, “मेरा दाजु आशबहादुर सहित हाम्रा तीन साथी अझै बेपत्ता छन्, उनीहरूलाई कुल्चेर हामी सगरमाथामा पाइला राख्न सक्दैनौं।”
यता सरकारले भने आरोहण स्थगित नगर्न अपील गर्दै ‘हाइअल्टिच्यूड’ मा गाइड र भरियाको बीमा रकम बढाएर रु.१५ लाख र औषधोपचार सुविधा रु.४ लाख पुर्यााएको छ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष छिरिङ शेर्पा पनि स्थगनको पक्षमा छैनन्। “त्रासदीपूर्ण घटनापछि आरोहण नगर्ने गाइडहरूको निर्णयप्रति हाम्रो सम्मान छ”, शेर्पा भन्छन्, “तर, त्यसको अर्थ सबै आरोहण अभियान स्थगित हुनेछन् भन्ने होइन।”
केही आरोहण दल सगरमाथा चढ्न तयार पनि छन्। यसपालि आरोहण अभियान चल्ने वा नचल्ने कुराले खुम्बु क्षेत्रको अर्थतन्त्रमा प्रभाव पार्नेछ।
किनभने, अभियान रोक्ने निर्णय कायम रहँदा ३०० आरोही र ४०० सहयोगी स्टाफको आउजाउ रोकिनेछ, खुम्बुमा। सगरमाथा आरोहणको आकर्षण र आरोहणका लागि नेपाली सहयोगीको आवश्यकता सधैं बढ्ने हुनाले यस्तो शून्यताको आयु भने लामो हुने छैन।
५० वर्षदेखि नेपालमा आरोहण गतिविधि नियालेकी एलिजावेथ हली विश्वका आरोहीमा सगरमाथा शिखर पुग्ने लालसामा कुनै कमी नआउने र नेपाली गाइडको सहयोग विना आरोहण सम्भव नहुने बताउँछिन्।
नेपालका हिमाल आरोहण सम्बन्धी हलीको डेटाबेस र विश्लेषणलाई एकदमै सही मानिन्छ। हिमपहिरोको घटनापछि आरोहण सहयोगीको सुरक्षा, पारिश्रमिक र क्षतिपूर्तिको विषयलाई भने नयाँ ‘डिस्कोर्स’ मा पुर्यााएको छ।
हिमपहिरोपछि आधार शिविरमा भएको गाइड बैठकले पारिश्रमिक, क्षतिपूर्ति र बीमा रकम वृद्धिका साथै मृत्यु भएकाहरूको स्मरणका लागि राजधानीमा स्मारक बनाइनुपर्ने लगायतका १३ बुँदे माग राखेको छ। ती बुँदामा आरोहणको जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने काम भने समेटिएको छैन।
आरोहण सुरक्षाको विषयमा गत वर्ष एउटा विचार आएको थियो– आरोहीहरूको सामान क्याम्प–१ सम्म हेलिकप्टरले पुर्यााउने।
तर, हली एक त नेपालको विमानसेवाको नाम बदनाम छ, त्यसमाथि आरोहीहरूले हेलिकप्टर खर्च व्यहोर्लान् भन्ने कुरामा शंका रहेको बताउँछिन्। उनी भन्छिन्, “हामीसँग त्यति धेरै हेलिकप्टर पनि छैनन्, फेरि त्यहाँ विमान दुर्घटना भइरहन्छ।”
नेपाली आरोहीहरूले एक सिजनमा बढीमा ३० पटकसम्म खुम्बु आइसफलको दोहोरो यात्रा गर्छन्। उनीहरूका रोजगारदाता भने मुश्किलले तीन–चार पटक त्यहाँसम्म पुग्छन्। बरु व्यावसायिक आरोहीहरू आरोहणको जोखिम कम गर्न सगरमाथा क्षेत्रका स–साना हिमाल चढेपछि मात्र सगरमाथातिर लाग्न थालेका छन्।
नेपाली आरोहीहरूले विल्कुलै अनुचित जोखिम मोल्ने गरेको बताउने ‘शेर्पा एडभेन्चर गियर’ का टासी शेर्पा भन्छन्, “गौरवपूर्ण सगरमाथा आरोहणको महत्वपूर्ण पक्ष गाइड/भरियाहरूको जोखिमको अति न्यून मूल्याङ्कन अचम्म लाग्दो छ।”
________________________________________
‘हरेक दिन फोन गरिरहेकी छु’
मेनुका गुरुङ
हराएका आरोही आशबहादुरकी पत्नी
५ वैशाखमा आफन्तले फोन गरेर सगरमाथामा हिमपहिरो गएको सुनाउँदा मेनुका गुरुङ १० महिने छोरालाई सुताउने तरखरमा थिइन्।
उनलाई त्यो बिहान आफ्ना पति आशबहादुर आधार शिविरबाट उक्लेको थाहा थियो। उनले तत्कालै टेलिभिजन खोलेर हेर्दा हिमपहिरोमा केही व्यक्तिको मृत्यु भएको समाचार आइरहेको थियो।
त्यसपछि मृत्यु हुनेहरूमा आशबहादुर नहोउन् भनेर प्रार्थना गर्दै मेनुकाले ठमेलको डेराबाट उनलाई फोन गर्न थालिन्, तर सम्पर्क हुन सकेन। अघिल्लो दिन लामै कुरा भएको सम्झँदै उनी भन्छिन्, “टाढा गएपछि उहाँ जहिले पनि फोन गर्नुहुन्थ्यो।”
आशबहादुर, पेम्बा तेन्जी शेर्पा र छिरिङ छोतार शेर्पा अझै हिउँमुनि छन् र उनीहरूलाई जीवितै निकाल्न सकिने सम्भावना पनि सकिएको छ।
“जेठा छोराको न शव देखियो न त जिउँदो देखियो”, ६ वैशाखमा पति सहित काठमाडौं आएकी आशबहादुरकी आमा समती गुरुङले गहभरी आँशु पार्दै भनिन्, “जिउँदै आइपुग्छ कि भन्ने आश पनि लाग्छ।”
अन्तर्राष्ट्रिय पर्वतारोहण वृत्तमा थुप्रै साथी बनाएका २८ वर्षीय आशबहादुर गुरुङ अनुभवी आरोही थिए। अमेरिकी आरोही एड मर्ज्याक याला पिकमा उनैले आफ्नो ज्यान बचाएको सम्झन्छन्।
गुरुङ परिवार र दुर्घटनामा परी काम गर्न नसक्ने भएकाहरूका लागि अनलाइन सहयोग जुटाउने अभियानमा रहेका मर्ज्याकले यो सिजनमा पनि सगरमाथा आरोहणमा आफ्नो गाइड आशबहादुर नै रहेको बताए।
यसअघिको अभियानमा असफल भएका आशबहादुर यसपटक चुचुरोमा पुगेर राम्रो अवसरका लागि विदेश जाने सोचाइमा थिए। पाँच वर्षीया छोरीका अगाडि वेदना लुकाउने प्रयास गर्दै मेनुकाले भनिन्, “उद्धार अभियान रोकेको सुनें, तर उहाँलाई हरेक दिन फोन गरिरहेकी छु।”