ब्लगबिहीबार, बैशाख १८, २०७१
गुरु बिन्ती
आदरणीय परीक्षकज्यू,
सादर प्रणाम!
विषय प्रवेश गर्नुपूर्व केही परिचयात्मक पंक्ति लिख्दै आत्मीयता गाँस्ने अनुमति चाहन्छु। म धनिकलाल धुन्धुकारी, प्राथमिक तहको राहत शिक्षक, गाउँटोलमा धुन्धुकारी माड्सा’बका रूपमा विख्याती कमाएको छु।
मेरो विख्यातीका अन्य आयाम थाती राख्दै पेशागत पक्षलाई मात्र अघि सार्दा छुटाउनै नमिल्ने कुरो यो छ कि विद्यार्थी मसँग बहुतै खुश छन्।
मानवीय स्वतन्त्रताको हिमायती हुनुको नाताले पढ्ने विषय विद्यार्थीको मर्जीमा छाडिदिएको छु। कक्षामा जुनसुकै बखत आउन, जान, खेल्न, जिस्किन मेरा शिष्यहरू आजाद छन् भने कक्षाकार्य र गृहकार्यको लफडाबाट समेत मुक्त छन्।
विद्यार्थीहरू ‘पंक’ बनी कक्षा ‘बंक’ गर्दै खेत, खलिहान चहारी चिप्लेकीरा, हिले माछा वा गँगटा पक्रने व्यावहारिक ज्ञान हासिल गर्न सक्दा आइन्सटाइन, टल्सटाय, एडिसन बन्ने कुरा ऐतिहासिक रूपमा प्रमाणित छ।
यस्ता विषयमा पारङ्गत मैले गाउँका सबैलाई उछिन्दै राहत शिक्षकको पद पड्काउन सक्नुले पनि यो मान्यतालाई पुष्टि गर्छ।
कखरा छिचोल्न हम्मे पर्नेहरूले प्रधानाध्यापकको आसनमा कुण्डली मारेकै छन् भने शुद्ध नाम लेखनको उल्झ्नमा अल्मलिएका माड्सा’बहरू पहेली पहिल्याउन नभ्याउँदै निवृत्तिभरण पकाउन सफल छन्। आजकाल भाँती–भाँतीका व्याकरण चल्तीमा रहेकाले मलाई भने हाइसञ्चो छ!
नाम जसरी लेखे’नि कुनै न कुनै व्याकरणले भेट्टाउने हुँदा कसैले बात लाउन सक्दैन। अतः माध्यमिक तहको स्थायी शिक्षक बन्ने वाञ्छनीय योग्यता मभित्र भलिभाँती भरिएकोमा गुरुवर विश्वस्त हुनुभएको ठान्छु।
औपचारिक शिक्षामा दिइने सैद्धान्तिक ज्ञानका कारण वर्षेनि बेरोजगारी बढ्दै गएको जगजाहेर छ।
ज्ञान आर्जनका नाममा वर्षौं घुँडा धसेर, लोकसेवा परीक्षाका लागि महीनौं टुप्पी कसेर पनि केही लछार्न नसक्ने लट्ठकहरूको हूल खडा गर्ने गुरुहरू भन्दा अल्पज्ञानी नै सही, न्यून समय र श्रममा आवश्यक जुगाड गर्दै सफलताको तीर मार्ने तिकडमबाज चेला उत्पादन गर्न सक्षम माड्सा’ब वर्तमान शैक्षिक दुष्चक्र तोड्ने एक मात्र औजार हुन्।
‘गुरु गुड त चेला चिनी’ भन्ने आहानको मर्म हृदयङ्गम गर्दै राष्ट्रिय आवश्यकता पूर्ति गर्ने ध्येयलाई केन्द्रविन्दुमा राखी उत्तरपुस्तिका परीक्षण गर्नुहुनेछ भन्ने मेरो दृढ विश्वासमा धमिरापात नहुने आशा गर्दछु।
कर्मका आधारमा हामी सहवर्गीय परेकाले शिक्षक पदमा मेरो दागाधराइको औचित्य थप प्रष्ट्याउन सोही नाताको फेरो समात्दै केही व्यक्तिगत कुरा राख्ने आज्ञा चाहन्छु।
राहत भए’नि म साह्रै आहत शिक्षक हुँ। स्थायी हुनासाथ मेरा मित्र ढुलमुल ढोलकिया शादीसुदा भई दश लखियामा दरिए। यो परीक्षा उत्तीर्ण हुने बित्तिकै घरजम भई म पनि बीस लखिया कोटरीमा उक्लन्थें।
ढोलकियाबाट लखिया बन्न सफल गुरुका शिष्य करोडीमल बन्दै सामाजिक–आर्थिक रूपान्तरणको नमूना पेश गर्ने कुरा निर्विवाद भइहाल्यो। अतः आवश्यकता, योग्यता र औचित्यको कसीमा मेरो उम्मेदवारी अब्बल रहेको बुझाउन थप मसी खर्चनु नपर्ला!
साध्य पवित्र भए’सी साधन मनमौजी प्रयोग गर्न सकिने मान्यता बोक्ने मुस्तण्ड मान्यवरहरूको दर्शन नयाँ नेपालमा हावी भएकाले धेर तुलबुलाउनु आवश्यक छैन।
मेरै लहरमा बसी परीक्षा दिइरहेका मनुवाले उत्तरपुस्तिकामा मुक्त कमैयाको परिचय–पत्र चिप्काएर योग्यता सावित गर्न खोजिरहेको देख्दा सरकारले हामी जस्ता उन्मुक्त भोगैयाहरूका लागि समेत विशेष परिचय–पत्रको इन्तजाम गरिदिएको भए त्यसलाई टाँस गरी एउटा पाना आंशिक रूपमा भर्न सक्दो हुँ भनी साह्रै थकथकी लागिरहेछ।
बगलका परीक्षार्थीले नागरिकताको प्रतिलिपि समेत संलग्न गरी निवेदन लिखेको देख्दा एकछिन त मलाई पनि साह्रै चौ–चौ भएको थियो। तर, जारी गर्ने हाकिमले अत्यावश्यक नभएसम्म यो नागरिकता कतै छिरिक्क नदेखाउनू भनेेको हुँदा दिल थामेर बसें।
अग्रलहरमा बसेकी बारुले परीक्षार्थी पनि सुपरस्टार शिक्षिका होलिन् भन्ने मेरो अनुमान छ। उनको शरीरको बान्की कुनै फिल्मी स्टारभन्दा कम छैन भने उत्तरपुस्तिका भरी बनाएका ताराहरूले पनि उनी सुपरस्टार नै रहेको जनाउ दिइरहेका छन्।
मेरो वाम भागमा विराजमान अर्थशास्त्र विषयका प्रतियोगी मित्रले मितव्ययी बन्ने चक्करमा सय दरका दुई हरिया पत्ती चढाई वैतरणी पार गर्ने प्रपञ्च मिलाएको देख्दा भने मलाई हाँसो उठिरहेछ।
फोसाको भाउ लगाई गुरुवरको अनादर गर्ने निकृष्ट हर्कतको घोर भर्त्सना गर्नुका साथै मलाई अब्बल नम्बर सहित उत्तीर्ण गराइदिन विन्तीका साथ बैना स्वरुप हजार र पाँच सयका टक्की नोट नत्थी गरेको छु।
पन्ध्र सयको ‘ब्लाइन्ड’ खेल्दै प्रेषित ‘डिल’ को विश्वसनीयताबारे मनमा रत्तिभर कैफियत नपाल्न सविनय अनुरोध छ। यहाँको फोनको इन्तजारमा…।
आज्ञाकारी
धनिकलाल धुन्धुकारी