अन्तर्वार्ता/विचारशुक्रबार, बैशाख १९, २०७१
‘विद्यालय बनाउन पाउँदा खुशी छु’
प्रस्तुतिः माधव बराल, पोखरा
सामुदायिक विद्यालय भवन बनाइदिएकोमा सबैतिर चर्चा हुँदा कस्तो महसूस भएको छ?
खुशी छु। ज्ञानको ज्योति छर्ने विद्यालयको भवन निर्माण गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ। चर्चाले यस्तै काम गर्न प्रेरित गरेको छ।
विद्यालय भवन बनाएकोमा धेरै प्रशंसा भयो होइन?
धेरै प्रशंसा नै पाएँ, तर थोरै गाली पनि। केहीले मलाई बौलायो पनि भने। केहीले धम्की दिंदै पैसा पनि मागे।
डेड करोड खर्च गर्ने आँट कसरी आयो?
आँटेपछि भगवानले पुर्याउँछन् भन्छन्। शुरूमा रु.३०/४० लाखसम्मको भवन निर्माण गर्ने कुरा भए पनि पछि १२ कोठाको दुईतले भवन निर्माण गर्ने कुरा भयो। यहींको तमेरोबाट तनहुँको डुम्रेमा बसाइँ सरेपछि २०३८ मा पहिरोले घर पुर्दा बाबुआमा, दुई बहिनी र एउटा भाइलाई मैले गुमाउनु पर्यो। टुहुरो बनेपछि अध्ययन बढाउन पाइनँ। त्यसैले मनमा विद्यालय बनाउने इच्छा थियो। त्यो इन्छा पूरा गर्न विद्यालयका शिक्षक र स्थानीयवासीले गर्नुभएको सहयोगप्रति आभारी छु।
विद्यालय भवनलाई डेड करोड सहयोग दिनसक्ने गरी कसरी पैसा कमाउनुभयो?
पोखराको पृथ्वीचोकमा कपडा पसल छ, १२ वटा बस छन्। जग्गाको कारोबार पनि छ। व्यापार, व्यवसायबाट राम्रो आम्दानी छ।
धन भएका अरूलाई के सुझाव दिनुहुन्छ?
जीवन सकिंदा कमाएको यहीं छाड्नुपर्छ। तर, समाजमा गरेको काम कहिल्यै मर्दैन। काम गर्दा पुण्यसँगै नाम पनि कमाइन्छ। तर, काम गर्न धनसँगै मन पनि हुनुपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट