टिप्पणीशुक्रबार, बैशाख १९, २०७१
बहस र बौद्धिक कमारा
लोकतान्त्रिक समाजमा बौद्धिक र प्राज्ञिक बहस अनिवार्य मानिए पनि नेपाली समाज बहसदेखि डराउँछ, असहमतिदेखि तर्कन्छ र प्रश्नसँग सामना गर्न भन्दा भाग्न मन पराउँछ। यसले नेपाली बौद्धिक समुदाय र नेपाली समाजमा जडता दीर्घरोग रहेको देखाउँछ।
कमजोर बौद्धिक
प्राज्ञहरू जागीर मात्र खाएर चिन्तन नगर्ने हुनाले हाम्रा प्राज्ञिक संस्थाहरू कमजोर छन्। राज्यलाई पनि चिन्तक चाहिएको देखिंदैन। राजनीतिमा चिन्तन नदेखिनुको एउटा कारण त्यो पनि हो। राजनीति गर्नेहरूले आफ्नो पद, भूमिका र सुरक्षाको चिन्ता मात्र गर्ने गरेका छन्। तर, क्रान्तिको आरम्भ चिन्तन, बहस र विचार बोकेका अक्षरबाट हुने गर्छ भने अन्त्य पनि विचारमै पुगेर हुनुपर्छ। केही नयाँ विषय शुरू गरेर हुने प्रत्येक क्रान्तिले नयाँ क्रान्तिका लागि पनि केही ठाउँ छाडेको हुन्छ।
नेपाली समाज अहिले आङ तन्काएर जुरुक्क उठ्न खोजे पनि त्यसपछि हिंड्ने बाटो, पुग्ने लक्ष्य, त्यहाँ पुग्ने तरीका, अहिले हामी रहेको ठाउँ र अवस्था, हाम्रा समस्या र समाधानबारे आउने प्रश्न र उत्तर खोज्न बाँकी छ। हामीसँग यस्ता प्रश्न र आशंकाका बनिबनाउ जवाफ नभएको पनि होइन। तर, तिनले हामीलाई सही बाटो देखाउन र लक्ष्यसम्म पुर्याउन सक्दैनन्। त्यसैले हामीले हरेक ठाउँमा ती प्रश्नबारे व्यापक बहस चलाउनुपर्छ।
कस्तो मोडलको संघीयता चाहिएको हो, संघीयता नेपालको आवश्यकता हो या होइन, नेपाली समाजको चरित्र के हो, नेपाल विकासको कुन चरणमा छ, कतिपय वामपन्थी पार्टीहरूले भने जस्तो नेपाल अर्ध–औपनिवेशिक अवस्थामा छ या केही वामपन्थी दलहरूले भने जस्तो नव–औपनिवेशिक अवस्थामा छ, नेपालमा पूँजीवादको विकास कुन तहमा छ र यसलाई कसरी विकास गर्ने तथा नेपाली समाजवादको भावी स्वरुप कस्तो होला जस्ता प्रश्न बहसको विषय हुनुपर्छ।
नियुक्ति मोहमा बुद्धिजीवी
नेपालको वामपन्थी आन्दोलनलाई अध्ययनशील, विचारशील र आफ्नो देश तथा जनताप्रति चिन्तनशील युवाहरूले नै निर्णायक मोड दिएका हुन्। तर, ती स्वर्णिम दिन आज वामपन्थी आन्दोलनकै मूलधारबाट ओझेलमा परेका छन्। कम्युनिष्ट पार्टीहरू आज सरकार र संसद्मा निर्णायक अवस्थामा रहे पनि राज्य र जनताको जीवन रूपान्तरणका लागि हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्न सकेका छैनन्।
पद, पैसा र प्रतिष्ठाको लोभमा तथा सत्ता सुखभोगको आकांक्षामा पिल्सिएर नेपालको वामपन्थी आन्दोलनको पहिलो र दोस्रो पंक्तिका कतिपय नेताहरूले वामपन्थी चरित्र गुमाएर सत्ताका दलालमा फेरिएका छन्। परिवर्तनको धार भुत्ते हुनुको महत्वपूर्ण कारण त्यही हो।
सबै पार्टीमा बुद्धिजीवी नभएका होइनन्। उनीहरूका बौद्धिक संगठन पनि छन्। तर ती संगठन न बहसमा उत्रिएका छन् न त बहसको वातावरण बनाउन नै लागेका छन्। पार्टीको बहुमतले पारित गरे अनुसार विचार बनाउने दास चिन्तनले बौद्धिक व्यक्ति र बुद्धिजीवी संगठन कुँजिएका छन्। जबकि, बहुमत र अल्पमतको घेरामाथि उठेर तथ्यबाट सत्य खोज्ने हिम्मत गर्दा मात्र बौद्धिक बहसले वास्तविकतासँग साक्षात्कार गर्न सक्छ। नेताहरूको आदेश पर्खेर मात्र छलफल चलाउनेहरू बुद्धिजीवी र प्राज्ञिक नभएर बौद्धिक कमारा मात्र हुन सक्छन्।
प्राज्ञिक र बौद्धिक बहस हुँदा तथ्य, सत्य र ज्ञान प्राप्त हुन्छ। जसले राजनीति गर्नेहरूलाई यथार्थबोध गराउन सक्छ। त्यसैले, राजनीतिक दलहरूसँग सम्बद्ध वा असम्बद्ध बुद्धिजीवीले अध्ययन, अनुसन्धान र बहस अघि बढाउनुपर्ने आवश्यकता छ। केही बुद्धिजीवीले यस्तो प्रयत्न गरे पनि त्यो पर्याप्त हुनसकेको छैन।
अर्थशास्त्री, समाजशास्त्री, राजनीतिशास्त्री, तथ्याङ्कविद्, साहित्य, कला र वाङ्मयको क्षेत्रमा क्रियाशीलहरूले बहसको शृंखला शुरू गर्नुपर्ने आवश्यक छ, जसमा राजनीतिमा लागेकालाई मनाएर, तानेर वा घिच्याएर भए पनि सामेल गर्नुपर्दछ। किनभने, नेपाली समाजलाई सबै प्रकारका बन्धनबाट मुक्त गराएर अघि बढाउन बौद्धिक स्वतन्त्रता र बहस आवश्यक छ। तर, त्यसका लागि बुद्धिजीवी सत्ताको कृपादृष्टिबाट पाउने राजनीतिक नियुक्तिको लोभबाट मुक्त हुनु जरूरी छ। यसो भयो भने मात्र उनीहरूले सत्य देख्न र देखेको सत्य बोल्न सक्ने छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट