ब्लगशुक्रबार, बैशाख १९, २०७१

प्रसूतिमा घातक रक्तश्राव

डा. सुमनराज ताम्राकार

नेपालमा असुरक्षित गर्भपतन–प्रसूति, कम उमेरमा गर्भधारण, धेरै पटक सुत्केरी, रक्तअल्पता र छोटो गर्भान्तर मातृ मृत्युदरका कारण हुन्। तत्कालीन कारण भने प्रसूतिपछिको अत्यधिक रक्तश्राव देखिएको छ।

अस्पतालमा प्रसूति गराउन प्रोत्साहन, सुरक्षित गर्भपतन र गर्भनिरोध सेवाको विस्तार, आइरन चक्की वितरण तथा स्थानीयस्तरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालनबाट मातृ मृत्युदरमा उल्लेख्य कमी आए पनि पछिल्लो समय मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूबाट झस्काउने समाचार आइरहेका छन्। यस्ता समाचारले नेपालले मातृ मृत्युदरमा पाएको उत्साहजनक परिणाम थेगिराख्न नसक्ने वा अझ् घटाउन नसक्ने हो कि भन्ने आशंका पनि पैदा गराएको छ।

समस्याको कारण

योनीद्वारबाट बच्चा निस्कँदा ५०० मिलिलिटर र सिजेरियन शल्यक्रियामा १००० मिलिभन्दा बढ्ता रगत बग्ने अवस्थालाई प्रसूतिकालमा अत्यधिक रक्तश्राव भएको मानिन्छ। तर, बच्चा जन्मिए लगत्तै आमाको स्वास्थ्य स्थितिलाई नकारात्मक पार्ने (नाडीको गति छिटो हुने र रक्तचाप घट्ने) गरी भएको जतिसुकै परिमाणको रक्तश्राव पनि अधिक हो।

नेपालमा शहरी र दुर्गम ग्रामीण महिलाबीचको मातृ मृत्युदरमा निकै भिन्नता छ। छोरा नै पाउन धेरै बच्चा पाउने, जन्मान्तर नराखी बच्चा पाउने, नियमित परीक्षण नगराउने, रगत बढ्ने औषधि वा खानेकुरा नखाने चलन दलित तथा पिछडिएका वर्गमा व्याप्त छ। जसले गर्दा प्रसूतिपछि पाठेघर नखुम्चिने वा रगत जम्ने प्रक्रियामा खराबी उत्पन्न भएर अत्यधिक रक्तश्राव हुन्छ। अत्यधिक रक्तश्राव अघि साल अड्किने, रक्तनली थुनिनेदेखि पाठेघर उल्टिनेसम्मका समस्या आइपर्न सक्छन्।

सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएका महिलामध्ये करीब ८० प्रतिशतमा पाठेघर नखुम्चिने समस्या देखिएको छ। चारभन्दा बढी बच्चा पाइसकेका, जुम्ल्याहा पाएका, बढी वजनका बच्चा पाएका, गर्भावस्थामा पाठेघरमा धेरै पानी भएका, कुपोषित वा रक्तअल्पता भएका, गर्भावस्थाको तेश्रो त्रैमासिकतिर रक्तश्राव भएका, लामो व्यथा लागेका, निर्धारित समयमा सुत्केरी हुन नसकेर व्यथा शुरू गर्न औषधि दिनु परेका महिलामा बच्चा पाएपछि पाठेघर राम्ररी नखुम्चिंदा अधिक रक्तश्राव हुन्छ।

पहिलो बच्चा पाउन लागेका महिलालाई सुत्केरी व्यथाको दोश्रो चरणमा सहज (इपिजिओटोमी) नबनाएमा योनीद्वार च्यातिन सक्छ। फोरसेप वा भ्याकुम जस्ता औजारले बच्चा निकाल्दा, बच्चा ठूलो भए, योनीद्वार र मलद्वारको बीच भागले राम्रोसँग टेवा नपाउँदा पनि योनीद्वार च्यातिएर अत्यधिक रक्तश्राव हुन्छ। गर्भावस्थामा जन्डिस देखियो, व्यथाअघि नै पाठेघरबाट साल छुट्टियो, पेटभित्र बच्चा मर्‍यो वा रगतमा प्लेटलेट्सको कमी भयो भने पनि रगत धेरै बग्छ।

सामान्यतः बच्चा जन्मिएको ३० मिनेटसम्ममा पाठेघरबाट साल बाहिरिनुपर्छ। पहिला बच्चा पाइसकेका, गर्भावस्थामा पेट अनपेक्षित रूपमा ठूलो भएका, लामो व्यथा लागेका, पाठेघरको बनावटमा जन्मजात खराबी भएका तथा मधुमेह, नेगेटिभ रक्तसमूह, रक्तअल्पता वा जुम्ल्याहा बच्चा भएका कारण ठूलो साल हुँदा अड्किने सम्भावना हुन्छ। त्यसैगरी, पटक–पटक गर्भ तुहिएका/तुहाएका, पाठेघर सफा (क्युरेट) गराएका, सिजेरियन गरेका र पाठेघरमा अन्य कुनै शल्यक्रिया गरेका महिलामा साल अड्किने खतरा हुन्छ। अड्किएको साल चाँडै निकालिएन भने पाठेघर राम्ररी नखुम्चिने हुनाले धेरै रगत जान्छ।

पाठेघर नखुम्चिंदा क्याथेटर (रबरको पाइप) ले मूत्रथैली खाली गर्ने, पाठेघर मसाज गर्ने, पाठेघरलाई खुम्चिन सघाउने अक्सिटोसिन, मेथर्जिन जस्ता औषधि दिनुपर्छ। तर, नेगेटिभ रक्तसमूह, मिजोप्रोस्टोल, मुटुरोगी, उच्च रक्तचाप भएका महिलालाई मेथर्जिन दिनुहुँदैन। पाठेघर नरिवल जस्तो कडा र खुम्चिएको छ, योनीद्वारबाट आलै रगत बगिरहेको छ भने योनीमार्ग वा पाठेघरको मुखमा कतै चोट पुगेको हुन सक्छ। त्यसलाई मिलाएर सिलाउँदा पनि रक्तश्राव रोकिएन भने विभिन्न शल्यक्रिया गर्नुपर्छ। त्यस्तो वेला प्रतिजैविक (एन्टिबायोटिक) औषधि दिनुको साथै सुविधासम्पन्न अस्पतालमा ‘रेफर’ गर्नु बुद्धिमानी हुन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>