खेलकुदसोमबार, बैशाख २२, २०७१
एएफसी प्रेसिडेन्ट्स कप फुटबल: मनाङ मर्स्याङ्दी फाइनलमा
आयोजक मङ्गोलियाको इर्चिम एफसी क्लबसाँग गोलरहित बराबरीमा खेल्दै गोलअन्तरका आधारमा मनाङ–मस्र्याङ्दी समूह विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको अन्तिम संस्करणको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यस बराबरी खेलसँगै इर्चिम एफसी क्लबसमेत समूह सी को उपविजेता बन्दै फाइनल चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा मनाङ खेलको ८१ औँ मिनेटदेखि १० खेलाडीमा सिमित भएको थियो । मनाङका विदेशी खेलाडी साहिद अजिजले दोहोरो पहेँलो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको हो ।
तीन टोलीले भाग लिएको सो प्रतियोगितामा कम्बोडियाको सेभरिङ एफसी क्लब भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
उक्त प्रतियोगितामा मनाङको यो दोस्रो सहभागिता हो । यस अघि सन् २००६ मा सहभागी भएको मनाङ छनोट चरणबाट नै बाहिरिएको थियो ।
रासस