रमझममंगलबार, बैशाख २३, २०७१
अभिनेत्री मिथिला र पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बिहे गर्दै
५० वर्षको उमेरसम्म अविवाहित नेपाली चलचित्रकी चर्चित अभिनेत्री एवम् नृत्यांगना मिथिला शर्मा र एक वर्षअघि विधुर भएका ७४ वर्षीय पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराबीच विवाह हुने भएको छ ।
विवाहको मिति निश्चित नभए पनि मिथिला शर्मा भन्छिन, “२०७१ सालभित्रै हाम्रो विवाह हुन्छ, ढुक्क हुनुहोस ।”
शुरुका दिनमा नृत्यमा जम्न थालेकी मिथिला शर्माको त्यसबेला प्रहरी निरीक्षक भएका मोतिलाल बोहरासँग महेन्द्र प्रहरी क्लबमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा चिनजान भएको हो ।
नृत्य प्रस्तुत गर्ने, गीति नाटकको स्क्रिप्टका बारे छलफल गर्ने क्रममा उनीहरुबीचको मित्रता झांगिएको थियो । कामका शिलशिलामा बोहरा र शर्माको बाक्लै भेटघाट हुन्थ्यो ।
बोहोरा पदोन्नती हुँदै महानिरीक्षक बने भने मिथिला नेपाली सिने क्षेत्रकी वरिष्ठ कलाकार र कुशल नृत्यांगना ।
तर, पछि बोहरा कामकै क्रममा व्यस्त रहे मिथिला आफैंमा मस्त रहिन् । यो लामो समयको अन्तरालमा कहिलेकाहीं भेट भए पनि सम्बन्ध सामान्य नै रहेको मिथिला बताउँछिन् ।
जीवनको उत्तरार्धतर्फ ढल्कन थालेकी मिथिलालाई साथीको आवश्यकता महशुस भयो, आफ्नी जीवन साथी गुमाएकी बोहराले पनि एक्लो जीवनबाट पार पाउन साथी खोजे । उनीहरु दुवैको गर्जो बुझेका साथीहरुले प्रस्ताव राखे – मिथिला र बोहोरा राम्रा जोडी हुनसक्छन् ।
साथीसंगीका सुझावले प्रभावित भएपछि दुवैले स्वीकृतिमा टाउको हल्लाए र दुवैको विहे पक्का भयो ।
बोहराकी पत्नी कलाको एक वर्षअघि निधन भएको हो ।
उनका दुई छोरा र तीन छोरी छन् । बोहराका कान्छा छोरा जितेन्द्रलाई त उनले पढाएकी पनि हुन् ।