ब्लगबिहीबार, बैशाख २५, २०७१
पौने पूँजीवाद
आजकल नेपाल बनाउने कुराको ‘ओभरडोज’ दिने र नयाँ शक्ति जन्माउने बुद्धिवीरहरूको ताउरमाउर वेग्लै छ। अर्थात्, कुराजीवीहरूको भीड दिनानुदिन मौलाउँदो छ। कुरा जोत्ने, कुरा रोप्ने, कुरा फलाउने, कुरा काट्ने, कुरा पकाउने र कुरैले भुँडी भर्न खोज्ने बानीका कारण नेपाल बन्न नसकेको कुरा हाम्रा विद्वान्/विदुषीलाई कल्ले बताइदिने?
‘जबज’ को सुनामी पनि यही वेला चलेको छ। हरेक महाधिवेशनमा एमालेगण ‘जबज’ को डम्फू बजाउन थाल्छन्, कांग्रेसजनलाई बीपीको सम्झ्नाले पिरोल्छ भने एमाओवादीहरू क्रान्तिराग अलाप्न थाल्छन्। दलहरूले वाद, पन्थ एवम् सिद्धान्तको कुरा गर्न थालेपछि बुझे हुन्छ– तिनको महाधिवेशन आएछ र भाग नमिलुन्जेल कुराको चक्रवात थामिनेवाला छैन। यतिवेला एमालेगणलाई ‘नेपाली समाजको चरित्र अर्धसामन्ती कि पूँजीवादी?’ भन्ने प्रश्नले पसिना फुटाएको छ।
बजाउ मुरली
पाँच वर्षअघि तिनाउ नदीमा सेलाएको काँचो वायु वागमतीमा बौरिएपछि सिङ्गो एमालेगण ‘अर्धसामन्ती कि पूँजीवादी?’ भन्ने सत्य निरुपणका लागि कन्दनी कसेर विविध बाजा बजाउँदै अनेक कित्तामा बाँडिंदैछन्। जुझारु मिजासका कमरेडहरू त गाँड कोराकोरदेखि पेट फोराफोरसम्म गर्न थालेका छन्। ‘अर्धसामन्ती कि पूँजीवादी?’ भन्ने रहस्यको पटाक्षेप नभएसम्म नेपाल विकास नहुने रहेछ। नत्र कमरेडहरू महँगी, लोडसेडिङ, कालोबजारी, भ्रष्टाचार हटाएर गरीबी घटाउने कुरा गर्दा हुन्!
रूस नजिक कि चीन? भारत ठीक कि अमेरिका? युरोपियनलाई गन्ने कि नगन्ने? जस्ता दृष्टिकोणलाई लिएर टुट, फुट र जुटको कूटखेल चलाउँदै आएका नेपाली कम्युनिष्टहरू समाजको चरित्रबारे कित्ताबन्दीमा उत्रनुलाई प्रगतिशील रूपान्तरण मान्नुपर्छ। ‘अर्धसामन्ती कि पूँजीवादी?’ भन्ने प्रश्न निप्टाराका लागि छोटे कमरेडहरूले गरेको मगजमारीबाट उत्पादित तर्कहरू सामान्यजनलाई घुमाउने लागेको बोको झैं फन्फनी रिंग्याउन र छमछमी नचाउन काफी पनि देखिन्छ। सामन्तवादको मूल नसो छिनालिएकोले समाज पूँजीवादी भइसक्यो भन्ने तर्क कम्ता जब्बर छैन। सामन्तवादको फेदै छिनाइए’नि हाँगा हरियै देखिएकाले कलमी हुने सम्भावनालाई समेत दृष्टिगत गर्दा नेपाली समाज अर्धसामन्ती नै रहेको तर्क पनि उत्तिकै छिप्पट देखिन्छ।
हुन पनि, विराटनगरमा जुट मिल खुल्नासाथ सामन्तीबाट बुर्लुक्क उफ्रेर अर्धसामन्ती भएको नेपाली समाज यतिका उद्योगहरू खुलिसक्दा पूँजीवादको धुरी चढिसकेको तर्कलाई काट्न गाह्रै पनि छ। पूँजीवादको चरम विकासले प्राकृतिक संसाधनको पूर्ण दोहन भई हामी कामदार निर्यात उद्योगतर्फ ‘सिफ्ट’ भएका छौं। उत्पादनमूलक उद्योग ह्रासोन्मुख भए’नि म्यानपावर, रेमिट्यान्स, कमिशन, कालोबजारी र सिन्डिकेट उद्योगको बढोत्तरीले हामीलाई पूँजीवादको शिखर चुमाइसकेको छ। महागुरु मार्क्सले आज्ञा गरे झैं अब केवल हल्का धक्का दिनुको मात्र देरी हो। महाधिवेशनको प्रतिवेदन लेख्न व्यस्त हुनुपर्ने अध्यक्ष कमरेड एकल साङ्गीतिक प्रस्तुतितिर लहसिएको देख्दा पनि नेपाली समाज आर्थिक–राजनीतिक मात्र नभई सांस्कृतिक रूपमा समेत पूँजीवादी भइसकेको मान्न कर लाग्छ। र पनि, विवाद जारी छ।
“पूँजीवादी!”
“अर्धसामन्ती!”
कमरेडहरू नाराबाजीबाट हुलहुज्जतमा उत्रिएपछि एक जना ठालु कमरेडले जुक्ति फुराए, “खिनौटे बन्दो सामन्तवाद र भर्भराउँदो पूँजीवादको सम्मिलनबाट आविर्भूत शक्ति सन्तुलनको विशिष्ट अवस्थामा वर्तमान समाजलाई अर्धसामन्ती भन्न’नि गाह्रो र पूँजीवादी भन्दा झ्न् साह्रो पर्ला जस्तो देखिएकोले यो कट्मेरो अवस्थालाई सूत्रीकृत ढंगले प्रस्तुत गर्न दुवै पक्ष हल्का लचिलो बन्दै ‘पौने पूँजीवादी समाज’ भनी सम्बोधित गर्नु उपयुक्त होला।”
यसलाई निचोड मानेर महाधिवेशनको सम्भावित दस्तावेजमा समाविष्ट गराउन सबै अध्यक्ष कमरेड भए ठामतिर लागे। हार्माेनियममा सुर लगाइरहेका अध्यक्षले भने, “मेरो एकल साङ्गीतिक साँझ् सफल पार्न पाल्नुभएका कमरेडहरूलाई मधुर साङ्गीतिक अभिवादन!”
वाल्ल परेका कमरेडहरूले आगमनको अन्तर्य बताए’सी अध्यक्ष जिज्ञासु बन्नुभो, “समाज पौने पूँजीवादी हुँदाको लाभ के होला?”
“पौने पूँजीवादी समाजमा अध्यक्ष कमरेडले महाधिवेशनको मुखमा साङ्गीतिक कार्यक्रम मात्र नभई, बन्द सत्रबाट निस्केर ‘स्ट्याण्ड अप कमेडी’ गर्ने समेत स्वच्छन्दता रहन्छ।”
पुलकित अध्यक्षले भन्नुभो, “कृष्ण, बजाऊ मुरली!”
साप्ताहिक खबरपत्रिका हिमालबाट