थप समाचारशुक्रबार, बैशाख २६, २०७१
हिमाली यात्रामा घट्दो जोखिम
सञ्जीव शर्मा
तुम्लिङटारबाट नुम, मकालु आधारशिविर र नाम्चे हुँदै लुक्ला पुग्ने गरी ट्रेकिङमा निक्लेकी फ्रान्सेली महिला मारी साख्लोत ८ वैशाखमा मकालु बेसक्याम्पबाट अगाडि दुर्घटनामा पर्दा दुवै खुट्टा भाँच्चियो ।
१९ घण्टापछि मात्रै उद्धार गरिएकी उनलाई खुट्टामा पुरानै ताकत फर्केला र ट्रेकिङका लागि फेरि नेपाल आउँला भन्ने आशा अझै छ । तर, अर्कोपटक आउँदा सुरक्षाका सबै उपाय सुनिश्चित गर्ने उनको योजना छ ।
दोस्रोपटक नेपाल आएकी उनी शेर्पानी कोलको अक्करबाट उत्रिंदै गर्दा साहारा दिन राखिएको डोरी चुँडिएपछि खसेकी थिइन् ।
दुर्घटना भएकोे करिब १९ घण्टापछि साख्लोतलाई मकालु बेसक्याम्पको ५ हजार मिटरभन्दा माथिको उचाइँमा ग्राण्डी अस्प्तालको र्यापिड रेसपोन्स टोलीका चिकित्सक सञ्जय कार्कीले उपचार गरेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको थियो ।
शेर्पा र चिकित्सकको स्याहारले ठिक पारे पानि डोरी चुँडिनु र हेलिकप्टर आइपुग्नै १९ घण्टा लाग्नुले यसपालीको यात्रा दुखद रहेको उनले बताइन् । उनको यात्राको आयोजना गरेको ‘ग्लेसियर सफारी ट्रेकिङ’ ले भने प्रतिकुल मौषमका कारण समयमै हेलिकप्टर पुग्न नसकेको जनाएको छ ।
मकालुमा वितेको कहाली लाग्दो १९ घण्टामा कैयौँपटक आफ्नो जीवन हिमालमै सक्किने हो की भन्ने ठानेकी उनी अब स्वस्थ्य भएर स्वदेश फर्कने समयको पर्खाइमा छन् ।
“हामी पुग्न केही ढिलो भएको भए उनलाई बचाउन गाह्रो थियो,” साख्लोतको उपचार गरेका चिकित्सक कार्की भन्छन, “उनको देब्रे खुट्टाबाट अत्यधिक रक्तश्राव भएर शरीरमा रगत कम भएको थियो, अक्सिजनको कमीले ‘हाइपोक्जिया’ र शरीर चिसिने ‘हाइपोथर्मिया’ले समेत समातेको थियो त्यसले मुटुको चाल बन्द हुने ‘कार्डियक अरेष्ट’ पनि हुनसक्थ्यो ।
उनी जटिल अवस्थामा पुगेको विरामीलाई दुर्घटनास्थलमै उपचार गरेर अस्पतालसम्म पुर्याउनसकेकोमा गर्व लागेकोे बताउँछन् ।
हिमालको आकर्षण
करिब ६ फिट अग्ली साख्लोत अप्रेशन गरेर पट्टी बाँधिएका खुट्टा देखाउँदै भन्छिन, “नेपालको प्राकृतिक सौन्दर्य, यहाँका मानिसको विनयी स्वभाव र हिमालको आकर्षण अचम्मकै छ, अर्को पटक फेरि म नेपाल आउनेछु ।”
उनका गाइड काजी शेर्पा पनि हिमाली क्षेत्रको सौन्दर्यबाट नलोभिने कोही नभएको बताउँछन् । करिब ३० वर्षदेखि ट्रेकिङ गाइडको काम गरिरहेका शेर्पाले आफू पचासौं पटक पुगेको नाम्चे, लुक्ला, मकालु, अन्नपूर्णजस्ता हिमाली क्षेत्रको सौन्दर्य सँधै नौलो देखिने बताए ।
सुरक्षित र राम्रो आम्दानीका अन्य अवसर आए पनि हिमाली गाइडको काम नछोड्ने उनको भनाई छ ।
सुध्रेको अवस्था
पछिल्लो समयमा उपलब्ध अत्याधुनिक उपकरण, उपचारको सुविधा, हेलिकप्टरको पहुँचले जोखिम धेरै कम भएको जानकारहरु बताउँछन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाको भनाईमा टुर अपरेटरहरु सजग भएको, हाइअल्टिच्यूडमा पनि उपचार गर्नसक्ने मानव स्रोत उपलब्ध भएकोले जोखिम घटेकोे हो ।
हाइअल्टिच्यूडमा काम गर्ने मेडिकल टिमलाई बेस क्याम्पमा राख्ने र ट्रेकिङ टोलीसँगै त्यस्तो टिमलाई सहभागी गराउने काम बाँकी रहेको उनको भनाई छ । “जोखिम अझै घटाउन त्यस्तो व्यवस्था चाँडै गर्छौं,” शेर्पाले भने ।
‘हिमालयन उद्धार संघ’ का प्रमुख कार्यकारी अधिकृत प्रकाश अधिकारी सञ्चारको सुविधा र उद्दारका लागि हेलिकप्टरको उपलब्धतासँगै हाइअल्टिच्यूडमा पुगेरै उपचार गर्नसकने चिकित्सकको उपलब्धताले जोखिम पहिले भन्दा निकै कम रहेको बताउँछन् ।
संघ आफैले सोलुखुम्बुको फेरिचे, सगरमाथा आधार शिविर र मनाङमा रेस्क्यू क्लिनिक सञ्चालन गरेको छ ।
उनका अनुसार हाइअल्टिच्यूडमा विरामी पर्ने वा दुर्घटनामा पर्ने सबै भने क्लिनिकमा आइपुग्दैनन् । टुरअपरेटरले कतिपय पर्यटकलाई हेलिकप्टरबाट सोझै राजधानी पुर्याउने र केहीलाई त्यहीं सेवा दिने गरेको अधिकारीको भनाईले पनि नेपालको पर्वतारोहण क्षेत्रमा सुधार आएको संकेत गर्छ ।
अकस्मात आउने हिम पहिरो, खराब मौषमका कारण हुने दुर्घटना, चिप्लिएर ग्लेसियरमा पुगिने खतरा र मौषमका कारण हेलिकप्टर समयमै नपुग्नु जस्ता समस्याहरु रोक्न सम्भव नहोला ।
तर, आरोही र टुर अपरेटर्सको लापरवाहीका कारण पनि दुर्घटना नहुने भने होइन । साख्लोतले समातेको डोरी चुँडिनु त्यस्तै दुर्घटना थियो ।
तीन साताअघि सगरमाथा हिमपहिरोमा परी १३ जना नेपाली आरोहीहरुको मृत्यु हुनुलाई भने अर्कै कारण मानिएको छ । त्यो हिमपहिरो ग्लोबल वार्मिङका कारण हिउँका ठूला चट्टान खस्दा आएको हुनसक्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पाको अनुमान छ ।