टिप्पणीसोमबार, बैशाख २९, २०७१
बाबुरामको बाटो
१७ वैशाखमा राष्ट्रिय सम्मेलनका लागि विराटनगर जानुअघि आफू निकटस्थहरूको भेलामा एमाओवादी नेता बाबुराम भट्टराईले ‘अब सँगै बस्न नसकिने भएकाले त्यही अनुसार मनस्थिति बनाउनुहोला’ भनेका थिए । विराटनगरमा नाटकीय रूपमा पाँच दिनसम्म लम्बिएको सम्मेलनलाई काठमाडौंमा भने अनुसार नै उनले अधुरो र अन्योलमा पारेर हिंडे । काठमाडौं फर्केको भोलिपल्टै चीन उड्नुले पनि विराटनगर सम्मेलन छाड्ने उनको निर्णय नियोजित रहेको देखाउँछ ।
भट्टराई राष्ट्रिय सम्मेलनको साटो विशेष महाधिवेशन गर्ने पक्षमा थिए । सम्मेलनमा महाधिवेशनमा जस्तो वैचारिक बहस नहुने भएकाले ‘नयाँ शक्ति’ बनाउने आफ्नो सोचमा पर्याप्त छलफल नहुने उनको निष्कर्ष थियो । त्यस्तो अवस्थामा जिल्लाबाट झ्न्डै एकलौटी प्रतिनिधि ल्याएका अध्यक्ष पुष्पकमल दाहाल फेरि पनि हावी हुने उनले बुझ्ेका थिए । त्यसैले उनी राष्ट्रिय सम्मेलन भए पार्टी विघटन हुने बताउँदै विराटनगर पुगेका थिए ।
हुन त, दोस्रो संविधानसभा निर्वाचनमा बेहोरेको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा पार्टी अध्यक्ष दाहालसँग सार्वजनिक विवाद चलेदेखि नै बाबुरामको एमाओवादीसँग मोहभंग हुन थालिसकेको थियो । उनले त्यो मनस्थिति लुकाएका पनि थिएनन् । दाहालले अध्यक्ष नछाड्ने भएकाले आफ्नो सोच अनुसार पार्टी चलाउन नपाइने तथा दाहालको सोचले पार्टीलाई पुनः बलियो बनाउन नसक्ने उनको निचोड थियो ।
त्यही वेला भारतको दिल्लीमा भएको विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले सफलता पायो । त्यसले पनि उनलाई नयाँ पार्टी बनाएर अघि बढ्न सक्ने आत्मविश्वास दिलाएको हुन सक्छ । तर, त्यस्तै शक्ति बनाउन परम्परागत माक्र्सवादको मार्गदर्शन पर्याप्त हुने थिएन । त्यही कारण बाबुरामले माक्र्सवाद र उदारवादका राम्रा कुराहरूलाई ‘फ्युजन’ गर्नुपर्ने बताएका थिए ।
नफर्कने सम्भावना
विराटनगरबाट काठमाडौं फर्केपछि पनि बाबुरामले निकटस्थहरूसँग एमाओवादीमा फर्कने सम्भावना नरहेको दोहो¥याए । फर्कन चाहँदा पनि राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति निर्वाचित गरिसकेकाले अब उनीसँग एमाओवादी केन्द्रमा पुग्न मनोनीत हुने वा महाधिवेशन पर्खने विकल्प मात्र बाँकी छ । उपाध्यक्ष पाउँदा समेत चित्त नबुझएका बाबुराम मनोनीत भएर केन्द्रमा जाने सम्भावना छैन नै भन्दा हुन्छ । उनले तल्लो तहमा रहेर काम गर्ने बताए पनि कम्युनिष्ट पार्टीमा भूमिका निर्वाह गर्न पद नै चाहिने भएकाले त्यो पनि सम्भव छैन ।
अध्यक्ष दाहालले पनि बाबुराम पार्टीमा फर्कने आशा मारिसकेको संकेत सम्मेलनपछिका प्रस्तुति मार्फत दिएका छन् । उनले विराटनगरबाट फर्केपछि आफ्ना निकटस्थ तथा वैद्य माओवादीका नेताहरूसँग पनि त्यस्तै भनेको स्रोतहरू बताउँछन् । बाबुराम र उनी पक्षधरहरू हिंडेपछि पनि सम्मेलनबाट केन्द्रीय समिति निर्वाचन गराउनुले दाहाल अब आफ्नै भरमा पार्टी चलाउने मनस्थितिमा पुगेको देखाउँछ ।
यो हिसाबले बाबुराम र दाहालको बाटो अब भिन्नै हुने निश्चित भइसकेको छ । बाबुराम नरुचाउने ठूलो पंक्ति एमाओवादीमा रहेकाले दाहाललाई तत्काल बाबुरामको अभाव महसूस हुने पनि देखिंदैन । यस्तो अवस्थामा बाबुराम बाहेकको पार्टी बनाउने इच्छा राख्ने एमाओवादी र माओवादीमा रहेको पंक्तिले दुई पार्टीबीचको एकता अभियान अघि बढाउन सक्छ । एउटा संविधानसभामा रहेको र अर्काेले संविधानसभा निर्वाचन बहिष्कार गरेकाले तत्काल यो अभियान सफल हुन गाह्रो भए पनि ढिलो–चाँडो पार्टी एकता हुने देखिन्छ ।
पार्टी नफुटाउने
मोहन वैद्यले जस्तो अर्काे माओवादी पार्टी बनाउने पक्षमा बाबुराम छैनन् । पार्टी फुटाएर अर्काे माओवादी बनाउने योजना भएको भए उनले विराटनगर सम्मेलनमा केन्द्रीय समितिमा आफ्नो पक्षलाई बलियो पार्न बल गर्ने थिए । त्यसो हुँदा वैद्यले जसरी पार्टी फुटाउन र पार्टीको भौतिक सम्पत्तिमा भागबन्डा खोज्न उनलाई सजिलो हुनेथियो ।
बाबुरामले त्यसो नगर्नुमा संस्थापनले कारबाही गरोस् वा बाहिरै बसेर एमाओवादीसँग सम्बन्धविच्छेद गर्न पाइयोस् भन्ने चाहना रहेको देखिन्छ । त्यसो हुँदा निर्माण गर्न लागेको ‘नयाँ शक्ति’ मा माओवादी पृष्ठभूमि बाहिरका व्यक्ति पनि आएर पार्टीको दायरा फराकिलो हुने उनको बुझइ हुन सक्छ ।
बाबुरामले गैरमाओवादीलाई संगठित गर्ने प्रयास गरिरहेको सार्वजनिक पनि भइसकेको छ । तर, भारतीय नेता अरविन्द केजरीवालकै शैलीमा विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका व्यक्तिहरूलाई जम्मा गर्ने उनको प्रयास सफल भएको छैन । मूलधारका पार्टीहरूसँगको असन्तोष सम्बन्धविच्छेद गर्ने तहमा नपुगेको र बाबुरामको माओवादी पृष्ठभूमि यो असफलताको कारण हुन सक्छ ।
यसरी हेर्दा, आगामी दिनमा पनि बाबुरामले गैर–माओवादी तप्कालाई समेट्न सक्ने सम्भावना कमै छ । किनभने, १० वर्षे ‘जनयुद्ध’ को हिंसा तथा मानवअधिकार हनन्लाई हेर्ने विषयमा भोलि पनि उनी र गैर–माओवादी तप्का एकै ठाउँमा आउने सम्भावना धेरै छैन । माओवादी नाम छाड्दैमा विगतसँग पूरै सम्बन्धविच्छेद गर्न उनलाई जति गाह्रो हुनेछ, एक दिन पनि कम्युनिष्ट नभएका र एक जना मान्छेको रगतको छिटा नलागेकाहरूलाई बाबुरामको विगतको जिम्मेवारी लिन उत्तिकै कठिन हुनेछ ।
एमाओवादीबाट पनि उनले ठूलो संख्यामा नेता/कार्यकर्ता तान्न सक्ने सम्भावना कम छ । एमाओवादीमा यसै पनि उनलाई पछ्याउँदै पार्टी छाड्न तयार हुने माओवादबाट दीक्षित नेता÷कार्यकर्ता धेरै छैनन् । नयाँ पार्टीमा जानेहरूको भविष्य नहुने एमाले/माले, कांग्रेस/कांग्रेस (प्रजातान्त्रिक) र पछिल्लो पटक एमाओवादी विभाजनले देखाएको अवस्थामा बाबुरामलाई साथ दिनेहरू धेरै नहुने अनुमान गर्नु बेठीक नहोला ।
यस हिसाबले भन्न सकिन्छ, एमाओवादीसँग सम्बन्धविच्छेद गर्ने निर्णय बाबुरामका लागि हितकर हुने छैन । तर, आफ्नो बुद्धि र व्यक्तित्वमा बढ्तै विश्वास भएका बाबुरामसँग यो ‘रिस्क’ लिनुको विकल्प पनि छैन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
